
१४ पुस, काठमाडौं । एमाले नेता भीम रावलले आफ्नोबारे माधव नेपालले बोलेको टिप्पणीबारे आएका समाचार पढेर आश्चर्यचकित भएको बताएका छन् ।
उनले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने आफ्नो कुनै योजना नरहेको स्पष्टीकरण दिए । पार्टी अध्यक्ष नेपालसँग टेलिफोनमा ३ मिनेटजति कुरा भएको भन्दै त्यति छोटो कुराकानीमा पार्टी प्रवेशको कुरा गर्न सम्भव नै नरहेको उनको भनाइ छ ।
‘त्यही २–३ मिनेटजति कुरा भएको हो, तर बाहिर आएका न्युज पढ्दा आश्चर्य लाग्यो’, रावलले भने, ‘बसेर कुरा गर्दैमा केही बिग्रने होइन, सबैको सबैसँग भेट हुँदा उहाँसँग नभेट्ने भन्ने हुँदैन, तर त्यसको कुनै योजना बनेको छैन ।’
आज बिहीबार जुम मिटिङमा एकीकृत समाजवादी पार्टी अध्यक्ष नेपालले रावल र घनश्याम भुसाललाई आफ्नो पार्टीमा ल्याउनेबारे कुुरा चलिरहेको भन्दै पार्टी नेताहरुलाई आश्वस्त बनाउन खोजेका थिए । नेपालले भनेका थिए, ‘साथीहरु पार्टीमा जोडिनेबारे कुराहरु चलिरहेको छ । घनश्यामजी आउन तयार हुनुहुन्छ । रावलजीले त भोलि नै बसौं भनेर भन्नुभएको छ,’ नेपालले भनेका थिए ।
रावलले प्रचण्ड नेतृत्वमा बनेको सरकारलाई उसको नीति र कामका आधारमा मूल्यांकन गर्ने बताए । राष्ट्रियता, असंलग्नता, शान्ति सम्बन्धी संयुक्त राष्ट्रसंघको बडापत्रलाई यो सरकारले कसरी लिन्छ भनेर आफूले हेर्न बाँकी रहेको उनले बताए ।
प्रतिक्रिया 4