+
+

सांसदको शपथमा मैले जे देखें

म बीचको खण्डमा परेँ । तर मैले खाना भन्दा बढी आफ्नै मनभित्र हुँडलिएको खुल्दुली खाएँ- शपथकै दिन सांसदहरू र उनीहरूले प्रतिनिधित्व गर्ने सर्वशक्तिशाली नागरिक अर्थात् मतदाताबीचको यस्तो खण्डीकरण किन देख्नुपरेको होला ?

सुमना श्रेष्ठ, सांसद सुमना श्रेष्ठ, सांसद
२०७९ पुष १५ गते ८:५१

२०७९ पुस ७ गते, बिहीबार । नवनिर्वाचित सांदहरूको शपथ ग्रहण समारोह । स्थान- प्रतिनिधि सभा बैठक कक्ष, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर । सांसदहरूको लहरमा मैले आफूलाई निकै उत्साह र उत्सुकतापूर्वक उभ्याएकी थिएँ । समारोह स्थल थोरै म जस्ता नयाँ र धेरै चाहिँ पहिल्यैदेखि राजनीतिको डबलीमा परिचित सांसदहरूले खचाखच भरिएको थियो । त्यहाँ उभिएर सर्सर्ती नियाल्दा मैले जे देखें त्यसमध्ये घत लागेका केही टिपोटहरू मेरो पार्टी मार्फत् मलाई निर्वाचित गरेर पठाउने आम मतदाता र समस्त नेपाली नागरिक समक्ष बाँड्ने जमर्को गरेको छु ।

मिडियाकर्मी मित्रहरूको लहरतर्फ उत्तिकै रोचक दृश्य देखा पर्‍यो । सामान्यतया चुनिएर आएका सांसदहरूमा पनि चिनिएका अनुहारहरू उहाँहरूका प्राथमिक नजरमा पर्नु मेरा लागि आश्चर्यको विषय थिएन । तर मेरो लागि सुखद् आश्चर्य चाहिँ यो रह्यो कि एकै थलोमा त्यति धेरै मिडियाकर्मीहरूको जमात त्यसअघि मैले कहिल्यै देखेको थिइनँ । त्यसप्रकार भिन्नाभिन्नै मिडियाको प्रतिनिधित्व गर्ने थरीथरी अनुहारहरू एकै पटकमा देख्न पाउनु वास्तवमा मेरो लागि आकर्षणको अनपेक्षित विषय बन्यो ।

संसद सचिवालयले दिउँसो एक बजेका लागि निर्धारित शपथ ग्रहण समारोह सुरू हुनुभन्दा एक घण्टा अगाडि मात्र जानकारी आदानप्रदानको उद्देश्यले एउटा बैठक राखेको थियो । त्यहाँ संसदमा निर्वाचित हरेक पार्टीबाट एक जना प्रतिनिधिलाई उपस्थित हुन भनिएको थियो । अन्तिम समयमा हतारहतार बसाल्नुपरेको त्यो बैठकबारे थाहा पाएपछि कसैसँग जवाफको अपेक्षा नराखी मेरो मनमनै एउटा प्रश्न उठ्यो- जे जे दिनुपर्ने जानकारी राखेर सम्बन्धित सबै पार्टीहरूको ठेगानामा अघिल्लै दिन एउटा इमेल पठाउनु वा बैठकमै डाक्नुमध्ये सचिवालयको समय, स्रोत र जनशक्तिका हिसाबले कुन चाहिँ सजिलो पर्दथ्यो होला ?

शपथ ग्रहणको समयमा प्रत्येक दलका अध्यक्ष/सभापतिहरू पहिलो पङ्क्तिमा बस्ने, त्यसभन्दा पछाडिका लहरमा बाँकी सांसदहरू बस्ने गरी ‘बसाइ व्यवस्थापन’ गरिएको रहेछ ।

मेरा लागि शपथ ग्रहणको पल सार्वभौम नेपालको सांसदका रूपमा उभिएको पहिलो दिनको अद्वितीय र अभिनव क्षण मात्र थिएन । मतदाताहरूको अपार भरोसा लिएर नेपाली राजनीतिको आकाशमा भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुनुका नाताले हामी सार्वजनिक रूपमा सबैभन्दा बढी चासोपूर्वक नियालिएको समूहमा पर्ने नै भयौं । त्यस खालको चित्रण, चिनारीको खोजी, भूमिकाको अपेक्षा र जिम्मेवारीको गुरुत्वाकर्षणसँगै चुनौतीपूर्ण अभिभारा सम्झँदा मेरो मन भारी भएर एकाएक आँखाहरू रसाउन पुगे ।

ठीक त्यही बेला मैले हात जोडेर सत्य निष्ठापूर्वक चार वाक्य पुकारेँ जुन मेरो अन्तरमनको शपथ थियो । मैले मनमनै लिएका चार अठोटहरू थिए, ‘देशको सेवा राम्ररी गर्न सकूँ। मलाई कहिल्यै एक कदम पनि पछि हट्नु नपरोस् । कुनै पनि कुराको लोभले मलाई सताउन नसकोस् । म सधैं करुणाले युक्त रहिरहन सकूँ ।’

सानातिना फेहरिस्तभित्र लुकिछिपी बस्ने मसिना त्रुटिले नै भविष्यमा समस्याका भीमकाय पहाडहरू पैदा गर्छन् । तसर्थ मलाई लाग्छ, थालनीदेखि नै हामीले गर्ने साना निर्णयहरू पछिका लागि महत्त्वपूर्ण हुन्छन् ।

मलाई दृढ विश्वास पैदा भयो कि यी सबै प्रतिज्ञामा अविचलित भएर अघि बढ्न मलाई आम मतदाताको खबरदारीपूर्ण साथ सधैं रहिरहनेछ ।

मेरो औपचारिक शपथ नेपाल भाषामा थियो । एक अक्षर नछुटाई सही उच्चारण गर्नमा कतै बिराउँछु कि भन्ने भयले पहिले नै त्यसको लिखित प्रति प्रिन्ट गरेर लिइराखेको थिएँ । त्यति सोचविचारका साथ तयारी गर्दा पनि झण्डै त्रुटि भएको रहेछ ! यद्यपि सचिवालयका कर्मचारीहरूले त्यसलाई तुरुन्तै सच्याइदिए ।

मैले शपथको ढाँचा नेपाली र नेपाल भाषा दुवैमा प्राप्त गरें । हामीले दुवै भाषाका अलग अलग शपथ पत्रको अन्त्यमा हस्ताक्षर गर्नुपर्दोरहेछ र ती संसद सचिवालयको अभिलेखका रूपमा सुरक्षित रहनेछन् । शपथ लिएर हस्ताक्षर गरेपछि दुवै कागजातहरू आ-आफ्नै सिटमा छाडेर प्रतिनिधि सभा सदस्यको आधिकारिकता सहित हामी उठ्यौँ ।

शपथ ग्रहण सकिएपछिको खाना खाने क्षण मलाई सबैभन्दा रोचक लाग्यो । खाने ठाउँमा तीन खण्डहरू थिए- पहिलो भीभीआईपी (अति महत्वपूर्ण व्यक्ति) अर्थात् संसदीय दलका नेता र स्वतन्त्र सांसदहरूको, दोस्रो अन्य सांसदहरूको र तेस्रो चाहिँ आमन्त्रित अतिथि एवम् परिवारजनको । म बीचको खण्डमा परेँ । तर मैले खाना भन्दा बढी आफ्नै मनभित्र हुँडलिएको खुल्दुली खाएँ- शपथकै दिन सांसदहरू र उनीहरूले प्रतिनिधित्व गर्ने सर्वशक्तिशाली नागरिक अर्थात् मतदाताबीचको यस्तो खण्डीकरण किन देख्नुपरेको होला ?

त्यसमाथि भीभीआईपीको खण्डमा २० भन्दा कम सांसद र बाँकी २५० भन्दा बढी सांसदको लागि खाना लिने सेटअफ समान रूपले गरिएको देखेपछि आफूलाई सकारात्मक बनाउने तर्क पहिल्याएँ- व्यवस्थापकहरूले कम्तीमा त्यसरी भए पनि कायम गर्न खोजेको एकरूपतालाई त मान्नैपर्छ ! खानाको लामो लाइनमा उभिएका सांसदहरूमध्ये केहीले अरूलाई उछिनेर एक पाइलो अगाडि लम्किएको देख्दा सान्त्वना महसुस गर्ने अर्को अवसर फेला पर्‍यो । त्यसरी उछिनिँदा पनि इमानदारीपूर्वक आफ्नो पालो कुरिरहेका माननीयज्यूहरूको अनुहारमा सरकारी सेवा लिएर पोख्त भइसकेका आम नागरिकको छाप नमेटिएको मज्जैसँग महसुस भयो ।

उस्तै झलक मिल्ने सांसदका परिवारजन तथा आमन्त्रित पाहुनाहरूको भोजन स्थलमा अर्को एउटा दृश्य चाहिँ फरक देखियो- उहाँहरूले खाने खाना प्लास्टिकको बाकसमा प्याक गरिएको थियो । प्लास्टिकका त्यस्ता आयातित बाकसहरूमा गुमेको रुपैयाँ र वातावरणीय मूल्य खाना बाँड्ने र भाँडा धुने दुई जना सहयोगी कर्मचारीको परिचालनबाट रोक्न सकिने सन्देश संसद सचिवालयसम्म पुर्‍याउन नेपाल सरकारको वातावरण मन्त्रालयकै पत्र या प्रतिनिधि चाहिने त होइन होला !

यो त मेरो सांसदका रूपमा पहिलो दिनको सानो टिपोट मात्र हो । तथापि यस्तै सानातिना फेहरिस्तभित्र लुकिछिपी बस्ने मसिना त्रुटिले नै भविष्यमा समस्याका भीमकाय पहाडहरू पैदा गर्छन् । तसर्थ मलाई लाग्छ, थालनीदेखि नै हामीले गर्ने साना निर्णयहरू पछिका लागि महत्त्वपूर्ण हुन्छन् ।

जस्तो कि आम चुनाव मार्फत् हामीलाई निर्वाचित गरेर संसदमा पठाउने निर्वाचन आयोग एकै निकाय भएर पनि उसले हाम्रो नागरिकताको फोटोकपी तीन पटक मागेर लियो- उम्मेदवारी दर्ता गर्दा, निर्वाचनको दिन हिँडडुल गर्नको लागि र शपथ ग्रहण समारोहमा भाग लिन जाँदा ।

यस्तो किन हुन्छ भने हाम्रा संवैधानिक निकाय वा सरकारी विभागहरू आफै मातहतका समेत एकअर्का एकाइसँग कुरा गर्दैनन् । अब पुन:विचार गरौं, कति पटक हामीले एउटै कागजातलाई फोटोकपी र स्टेपल गरेर पेश गर्दै समय बिताउने ? यी सबै कागजात कहाँ जान्छ होला ? १० वर्षमा सरकारी सेवा लिने हरेक नागरिकले बुझाएको कागजातको राशि कति हुँदो हो ! अनि कागजको थुप्रोसँगै त्यसको उत्पादनमा भएको लगानीको उपयोग कसले, कहिले र के प्रयोजनका लागि गर्छ कुन्नि !

मेरो संसदकालमा यस्ता प्रश्नहरू जति उठ्नेछन् त्यति एकएक गरी टिप्नेछु र पारदर्शी तवरले आम मतदाताको खुला अदालतमा पेश गर्दै जानेछु । यस्ता तमाम सवालहरूमाथिको सही फैसला गर्दै सर्वोपरि न्याय र सुशासन बहाली गर्ने यात्रामा हरेक कदमलाई खेर जान नदिने प्रण गर्दछु ।

(सुमना प्रतिनिधि सभाकी नवनिर्वाचित सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?