
१५ विराटनगर । विराटनगरको केसलिया रोडमा भाडामा बस्दै आएकी वृद्ध महिला ज्वालादेवी जैसवालले विराटनगर ७ गुद्री (पुरानो गुद्री)मा तरकारी बेचेको वर्षाै भयो । आफ्नो परिवार उनी गुद्रीमा तरकारी बेचेरै पाल्दै आएकी थिइन् । तीन दिन यता विराटनगर महानगरपालिकाले उनको परिवार पाल्ने व्यापारमा रोक लगाएका छन् ।
मेयरले गुद्रीमा तरकारी बेच्न रोक लगाएपछि उनी भौतारिरहेकी छन् । बिहीबार भेटिएकी उनले गहभरि आँशु पार्दै भनिन्, ‘दिनमा २–३ ढाकी साग बेचेर गुजारा गर्छु अहिले भात खान पाएको छैन ।’
सडक पेटीमा तरकारी बेच्ने जैसवाललाई पुरानो स्थानबाट हटाएका विराटनगरका मेयर कोइरालाले अर्काे सहज विकल्प दिएका छैनन् । उनले व्यापार गर्न आफ्नै जग्गामा खुलेको नयाँ गुद्रीमा जानू भन्दैछन् । जहाँ एउटा सटरका लागि धरौटी मात्रै दुई लाख रुपैयाँ राख्नु पर्छ । जुन हैसियत जैसवालजस्ता ढाकीमा व्यापार गर्नेसँग छैन ।
‘नयाँ गुद्रीमा धरौटी मात्रै २ लाख, चार लाख माग्छन्, भात खाने पैसा छैन त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’ जैसवालले भनिन्, ‘अब म कहाँ जानू ?’
पुरानो गुद्रीमा महानगरपालिकाले २५ तले व्यावसायिक भवन बनाउने तयारी गरेको छ । गुद्रीको सडक पेटीमा व्यापार गरिरहेकाहरुले भवन बन्न थालेपछि ठाउँ छाडेर जाने प्रतिवद्धता पनि जनाएका थिए । तर महानगरपालिकाले बस्न नमिल्ने भन्दै उनीहरुलाई हटाएको हो । महानगरले भवन निर्माण सुरु नभएसम्म सो स्थानमा पार्किङ बनाउने तयारी गरेको छ ।
‘घर परिवारमा कमाउने मान्छे छैन, त्यँही(गुद्री)देखि पाँच जनाको परिवार पाल्दै आएको छु,’ १८ वर्षदेखि गुद्रीमा व्यापार गरिरहेकी आशा साहले भनिन, ‘तीन दिनदेखि चुलो बलेको छैन, कसरी परिवार पाल्नु ?’
मेयर कोइरालाले पुरानो गुद्रीबाट लखेटिएका व्यापारीलाई आफ्नो जग्गामा खुलेको नयाँ गुद्रीमा जान भनिरहेका छन् । ‘मेयर सावले त्यहाँ (नयाँ गुद्री)जानु भनिरहनु भएको छ,’ अर्की सब्जी व्यापारी सुशीलादेवी रायले भनिन्, ‘तर गरिब मान्छेले कहाँबाट ल्याउनु धरौटीको २ लाख ।’
विराटनगर बसपार्क पश्चिम मेयर नागेश कोइरालाको जग्गा भाडामा लिएर पशुपति भगतसहितको समूहले दुई वर्षयता नयाँ गुद्री बजार सञ्चालन गरिरहेका छन् । कोइरालाको जग्गा भाडामा लिएर बजारको संरचना निर्माण गरेको समूहकै जोडबलमा कोइरालाले पुरानो गुद्रीका व्यापारीलाई नगर प्रहरी लगाएर हटाएको आरोप छ ।
‘आफ्नै जग्गामा खुलेको बजारलाई पुरानो गुद्रीका खुद्रा ब्यापारीका कारण असर गररहेको थियो,’ गुद्रीका एक व्यापारीले भने, ‘नयाँ गुद्रीको ब्यापार बढाउन मेयरले हामीलाई लखेटे ।’
मेयर नागेश कोइराला भने यो आरोप मान्न तयार छैनन् । उनी अघिल्लो जनप्रतिनिधिको निर्णय आफूले कार्यान्वयन गराएको बताउँछन् ।
‘आज भन्दा दुई वर्ष अगाडि अघिल्लो कार्यकालमा पूर्व मेयर सावले खाली गराउन निर्देशन दिएका कारण गुद्री त्यहाँबाट सरेर गयो,’ उनले भने, ‘तर पनि पेटीमा बसेर बेच्नेहरु नहटेका कारण हामीलाई समस्या भइरहेको थियो ।’
विराटनगरका तत्कालीन मेयर भीम पराजुलीले विराटनगरसँगै जोडिएको कटहरी १ मा निर्माण भएको कृषि बजारमा गुद्री सार्ने भन्दै विराटनगरको पुरानो गुद्री खाली गराएका थिए ।

विराटनगर तीनपैनी चोक पूर्वतर्फ कटहरी १ मा १३ करोड ७६ लाख लागतमा निर्माण भएको आधुनिक कृषि बजारमा गुद्री सार्ने भन्दै पुरानो गुद्री हटाए पनि व्यापारी त्यहाँ गएनन् । कटहरी जान नमानेका व्यापारीलाई कोइरालाले नै जग्गा भाडामा दिएर नयाँ बजार खोल्न लगाए ।
‘हाम्रो उदेश्य त आधुनिक तरकारी बजारमा गुद्री सारेर व्यवस्थित रुपमा सञ्चालन गर्ने थियो,’ विराटनगरका पूर्व मेयर पराजुली भन्छन्, ‘गुद्री सार्ने हाम्रो सर्वदलीय निर्णय भएको थियो । तर त्यसबेला केही व्यक्तिले जान दिएनन् ।’
कोइराला भने गुद्री सार्ने निर्णय भएपछि व्यापारीहरुले आफूलाई आग्रह गरेपछि जग्गा भाडामा दिएको बताउँछन् । ‘गुद्री सार्ने भएपछि व्यापारीहरुले आएर रिक्वेष्ट गर्नुभयो, कटहरी जाँदा अफ्ठ्यारो हुन्छ, तपाईँले जग्गा दिँदा उचित हुन्छ भने,’ उनले भने, ‘मेरो व्यक्तिगतका लागि होइन, समग्र विराटनगरका लागि हो, मेरो पनि खाली थियो जमिन, ल दिउँ भनेर दिए ।’
पुरानो गुद्रीमा व्यावसायिक भवन निर्माणका लागि पनि व्यापारीलाई हटाएको उनले बताए । ‘त्यो(गुद्री) महानगरपालिकाको आफ्नो जमिन हो, त्यहाँ २५ तले भवन बनाउने तयारी छ,’ उनले भने, ‘त्यसको निर्माण कार्य सुरु हुन्छ अब ।’
पुरानो गुद्रीको सडक पेटीमा हुने व्यापारका कारण आपतकालिन अवस्थामा दमकल पनि जान नसक्ने बताउँदै उनले खुद्रा व्यापारीलाई इज्जतसाथ सटर भाडामा लिएर व्यापार गर्न आग्रह गरे ।
‘व्यवसाय गर्नुहुन्छ भने इज्जतसाथ गर्नुहोस्, सटर लिनुहोस र महानगरपालिकालाई पनि कर तिर्नुहोस्,’ उनले भने, ‘त्यसमा महानगरपालिकाले पनि सहयोग गर्छ, नगर प्रहरी आउँदा ढाकी लिएर भाग्नुपर्ने अवस्था नबनोस् ।’
प्रतिक्रिया 4