+
+
विचार :

चीन मक्किंदैछ कि सुदृढ हुँदैछ ?

अमेरिका वा पश्चिमा विद्वानहरूले अनुमान गरेभन्दा पृथक् चीन मक्किंदै होइन, झन् सबल र सुदृढ हुँदै अमेरिकालाई माथ गर्ने दिशामा अगाडि बढिरहेको छ। राष्ट्रपति सीले चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व निर्माणमा चीनको निर्णायक भूमिका स्थापित गरिदिए।

गोविन्दराज केसी गोविन्दराज केसी
२०७९ पुष १८ गते १५:२०

सन् २०२२ ले बिट मारेको छ। रसियाद्वारा युक्रेनमाथि गरिएको युद्धले यस वर्ष विश्व भूराजनीति, कूटनीति, अर्थतन्त्र र सुरक्षाका क्षेत्रमा निकै ठूला-ठूला घर्षणहरू पैदा गर्‍यो। विश्व अर्थतन्त्रमा देखिएको मुद्रास्फीतिले अमेरिका तथा युरोपका थुप्रै देश आर्थिक दबाबमा चेपिन बाध्य भएका छन्। अमेरिकी पूँजी बजार सन् २००८ को वित्तीय संकटपछि फेरि धर्मराएको छ। एस एण्ड पी-५०० ले १९.४ प्रतिशत र नास्डाकले ३३.१ प्रतिशतले गिरावटको सामना गरेको छ।

त्यस्तै अमेरिकी केन्द्रीय बैंक ‘फेड’ले गरेको अत्यधिक ब्याजदर वृद्धिले विश्वभरिका मुद्रा नराम्रोसँग अवमूल्यन भएका छन्। चिनियाँ युआन १ अमेरिकी डलर बराबर ६.३१ बाट घटेर ७.३१ हुँदै पुनः ६.९० मा बन्द भएको छ। २०२३ को आर्थिक वृद्धि पनि सुखद नहुने विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषका सर्वेक्षणहरूले गरेका छन्। विश्वको दोस्रो ठूलो चिनियाँ अर्थतन्त्र पनि कोभिड महामारीलाई अपवाद मान्दा सबैभन्दा खराब परिस्थितिको सामना गरिरहेको छ।

यही क्रममा चिनियाँ विमानवाहक (एयरक्र्याफ्ट क्यारियर) लियाओनिङ फेरि एक पटक अमेरिकी सैन्य अखडा गुआमको छेउसम्मै पुगेको छ। जापानी प्रतिरक्षा मन्त्रालयका अनुसार डिसेम्बर २५ मा लियाओनिङ गुआमको उत्तर-पश्चिमी क्षेत्रमा देखापरेको थियो। यस अगाडि जून २०१९ मा पहिलो पटक गुआम नजिक पुगेको थियो। यो उपस्थिति गुआमबाट ३८४ माइल निकट हो। जापानी सञ्चारमाध्यमका अनुसार गत महिना लियाओनिङले ओकिनावाको आसपासमा २६० पटक उडान भरेको थियो।

त्यस्तै चीनको तेस्रो विमानवाहक ‘फुजियान’ सञ्चालनको तयारीमा रहेको छ जुन अमेरिकी अत्याधुनिक ‘जेराल्ड फोर्ड’ क्लास स्तरको मानिन्छ। त्यसले अझै चीनको आक्रामक सामुद्रिक गतिविधिलाई तीव्र पार्नेछ। अमेरिकाले दक्षिणी चिनियाँ समुद्र र ताइवानी क्षेत्रमा आफ्नो उपस्थितिलाई सघन बनाउन थालेपछि चीन अमेरिकी सैन्य अखडाको नजिक पुगेको छ। यसको उद्देश्य प्रष्ट छ, चिनियाँ जल क्षेत्र निकटका कुनै पनि अमेरिकी उच्छृंखल गतिविधिलाई चीनले त्यही स्तरमा जवाफ फर्काउनेछ।

अमेरिकी भूभागको प्रशान्त क्षेत्रीय सैन्य अखडाको अग्रमोर्चामा उभिएर चीनविरुद्ध गरिने सैन्य गतिविधिको अग्रमोर्चा हो गुआम। जहाँ अमेरिकाले आफ्ना अत्याधुनिक रणनीतिक सैन्य सम्पत्तिहरू भण्डारण गरेको छ। बी-२ बमवर्षक विमान, एफ-३५ स्टेल्थ लडाकु विमानदेखि आणविक शक्ति सम्पन्न पनडुब्बी समेतको आधार शिविर यही गुआमलाई बनाएको छ। ताइवान वा दक्षिणी चिनियाँ समुद्रमा अमेरिकी दादागिरीलाई सबक दिन उसैको आँगनमा उपस्थिति जनाएपछि त्यसले सृजना गर्ने अमेरिकी मनोवैज्ञानिक त्रास सहज अनुमान गर्न सकिन्छ।

जो बाइडेनले ‘राष्ट्रिय प्रतिरक्षा अनुमोदन ऐन’ अन्तर्गत अमेरिकाले ताइवानलाई हतियार बेच्न सक्ने निर्णयमा हस्ताक्षर गरेपछि उक्त गतिविधि चीनले गरेको देखिन्छ। यसको मतलब चिनियाँ जलक्षेत्रमा अमेरिकी उपस्थिति चीनलाई किमार्थ स्वीकार्य छैन र चीन पनि अमेरिकी जल क्षेत्रभित्र सहजै घुस्न सक्छ भन्ने स्पष्ट सन्देश दिन चाहन्छ। फ्रेञ्च समाचार संस्था एपीएफलाई आधार मान्दा चीन सन् २०२२ मा १७०० पटक ताइवान हवाई क्षेत्रमा प्रवेश गरेको देखिन्छ। २०२१ मा ९६९ पटक र २०२० मा ३८० पटक यस्तो गतिविधि भएको थियो।

ताइवानबाट प्रकाशित हुने डिजिटाइम्स एसियाको संस्करण अनुसार चिनियाँ कङलोमोरेट हुवावेले ‘ईयुभी लिथोग्राफी’ प्रविधिमा क्रमभङ्ग गरेको छ। सेमिकण्डक्टर निर्माणको मुटु मानिएको उक्त लिथोग्राफी मेसिन निर्माणको लागि पेटेन्ट दर्ता गरेको छ। यो तत्काल निर्माण भएर चिप उत्पादनका लागि बजारमा उपलब्ध नभए पनि प्राविधिक क्षमतामा भएको चामत्कारिक उपलब्धि हो। अहिलेसम्म नेदरल्याण्डको एएसएमएल कम्पनी बाहेक विश्वमा उक्त अत्याधुनिक मेसिन कुनै देशले पनि निर्माण गरेको छैन।

ताइवानको टिएसएमसी र दक्षिण कोरियाको सामसुङ समेत एएसएमएलसँग नै भर पर्दछन्। स्मार्ट फोन तथा अन्य उपकरण निर्माणको लागि चाहिने ७, ५ र ३ नानोमिटरका चिपहरू उत्पादनका लागि उक्त मेसिनको भर पर्नुपर्नेछ। ईयुभी लिथोग्राफी मेसिन निर्माणका लागि लगभग १ लाख पार्टपुर्जा आवश्यक पर्ने हुँदा अन्य देशसँग आपूर्ति श्रृङ्खलामा भर पर्नुपर्ने बाध्यता रहिरहन्छ।

अमेरिकाले हुवावे तथा ‘जेडटीई’ जस्ता चीनका विशाल कम्पनीहरूलाई आवश्यक पर्ने पार्टपुर्जा र प्रविधि निर्यातमा अन्य देशहरूलाई बन्देज लगाएपछि चिनियाँ कम्पनीहरू आत्मनिर्भर बन्नको लागि संघर्ष गरिरहेका छन्। २०१५ मा घोषणा गरिएको ‘मेड इन चाइना २०२५’ को समयावधि नजिकिंदै गर्दा प्रविधिका अन्य क्षेत्रमा पनि चीनले तीव्रता दिएको छ। ७० प्रतिशत आत्मनिर्भर हुने उसको लक्ष्यले कति सार्थकता पाउँछ त्यो हेर्न अब लामो समय कुर्नुपर्दैन।

त्यसैगरी चिनियाँ जे-११ युद्धक विमानले अमेरिकी जासुसी विमानलाई दक्षिणी चिनियाँ समुद्रको जल क्षेत्रमा छेकलकाटेको (इन्टरसेप्ट) अमेरिकी सेनाको हिन्द-प्रशान्त कमाण्डले जनाएको छ। उक्त चिनियाँ लडाकु विमानले अमेरिकी ‘आरसी-१३५ रिवेट संयुक्त जासुसी विमान’लाई छेकलकाटेको हो। उक्त विमानले अमेरिकी विमानलाई ३ मिटर नजिकबाट छेकलकाटेको थियो। यसले चिनियाँ आत्मविश्वास र आक्रामक गतिविधिलाई दर्शाउँछ। अमेरिकी सैन्य उपस्थितिलाई यसले खतरा सृजना मात्र गरेको छैन, दुई देश बीचमा सैन्य टकरावको खतरालाई झन् नजिक ल्याइदिएको छ।

शक्तिशाली विपक्षीलाई न्यूनीकरण वा नजरअन्दाज गर्दा त्यसले निम्त्याउने युद्धको विभीषिकाबारे चीन-अमेरिका पक्कै पनि सचेत छन् भन्ने देखिन्छ। तर उनीहरूका गतिविधिले विश्व शक्ति सन्तुलनलाई खलबल्याउने र भिडन्त निम्त्याउने खतरा बढ्दो छ। घटना डिसेम्बर २१ मा भएको थियो। सूचना बिहीबार मात्र जानकारीमा ल्याइएको थियो।

गत वर्षको २२ अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनले विश्व राजनीतिमा तरङ्ग सृजना गरिदियो। संस्थागत कार्यविधिहरू उपर निरन्तर संशोधन गरिएसँगै सी जिनपिङ तेस्रो कार्यकाल वा आजीवन राष्ट्रपति हुनसक्ने अवस्था सिर्जना भएको छ जसले विश्व तरंगित बनेको छ। अझै महाधिवेशनले मूलतः सीलाई असीमित अधिकार मात्र दिएन, उनका विरोधीलाई पूरै किनारा लगाइदियो। पश्चिमा मिडियाहरूले प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका नेता हु चुनहुवा स्थायी समिति त के पोलिटब्यूरो सदस्यमा समेत अटेनन्।

यसले चिनियाँ राजनीतिक प्रणालीमा गम्भीर खतरा पैदा गरेको र चीन झन् एकदलीय निरंकुशतातर्फ अगाडि बढेको अमेरिका तथा पश्चिमा विज्ञहरूको दाबी छ। तर यसलाई पश्चिमाभन्दा फरक नजरबाट नियाल्दा यथार्थ नजिक पुग्न सजिलो हुन्छ।

नेतृत्वको केन्द्रीकरण
सहज र अनुकूल समयमा लोकतान्त्रिक विधि र प्रक्रियाको महत्व र महिमालाई कमजोर आँक्न मिल्दैन। तर सुरक्षाको कोणबाट जब शक्ति सन्तुलनमा बदलाव आउँछ र आफूभन्दा शक्तिशाली वा बलियो प्रतिस्पर्धीसँग मुकाबिला गर्नुपर्ने हुन्छ त्यस्तो बेला विशिष्ट परिस्थिति पैदा हुन्छ। बहस, छलफल, व्यक्तिगत महत्वाकांक्षा, विरोध वा फरक मतले योजना कार्यान्वयनमा अप्ठ्यारो सृजना हुनगई लडाईंको मोर्चामा सफलता प्राप्त गर्न सकिंदैन। अमेरिकासँग चीन यतिखेर यही परिस्थितिबाट गुज्रिरहेको छ।

सन् २०१८ देखि चीनबाट आयात हुने वस्तुहरूमा अमेरिकाले चर्को सीमा शुल्क (टेरिफ), हुवावे र जेडटिई, बाईटडान्स, एसएमआईसी जस्ता कम्पनीहरूलाई प्रतिबन्ध, ताइवानलाई निरन्तर सैन्य तथा प्राविधिक सहयोग जारी राखेको छ। २०औं महाधिवेशनबाट सी जिनपिङले अधिकारसम्पन्न स्थायी समितिमा आफू निकट मात्र नियुक्ति गर्नुको मुख्य कारण यही हुनसक्छ।

अमेरिकी अभ्यास पनि उस्तै
अमेरिकाले पनि चीनलाई घेर्न लोकतान्त्रिक मूल्यमान्यताका समरुचि (लाइक माइन्डेड) भएका देशहरूको गठबन्धन निर्माण गरेको छ। जापान, भारत, अष्ट्रेलियालाई केन्द्रमा राखेर ‘ईन्डो-प्यासिफिक रणनीति’ तथा अष्ट्रेलिया र बेलायतको गठजोडमा ‘अकस’ अस्तित्वमा आएका छन्। उदार लोकतन्त्र, खुला बजार अर्थतन्त्र, बहुलवाद जस्ता आर्थिक र दार्शनिक मूल्यमान्यताहरू यसको निहितार्थ हुन्।

जो बाइडेनको प्रशासन तथा विदेश मामलामा पनि आफू निकटकै मानिसहरूको नियुक्ति गरिन्छ। कसैले पनि फरक मत राख्ने मान्छेलाई आफ्नो योजना कार्यान्वयनका लागि नियुक्ति गर्दैन। तर भाष्य निर्माणमा चतुर अमेरिकीहरू आफ्नो योजनालाई फरक र कुटिल तरिकाले पस्कन माहिर छन् र आफू अनुकूलको भाष्य निर्माण गरेर विश्वलाई बेच्न सफल हुन्छन्।

यो मामलामा चिनियाँहरू अझै पोख्त भइसकेका छैनन्, तर उनीहरूको आक्रामक प्रस्तुति विश्वले नियालिरहेको छ।

विदेशी पाहुनाको लस्कर
महाधिवेशनले तेस्रो कार्यकालका लागि राष्ट्रपति चुन्ने सुनिश्चिततासँगै विश्वभरिका नेताहरू चीन भ्रमणको लागि लाम लागेको देखिन्छ। चिनियाँ बजार र अर्थतन्त्र हरेक देशको मेरुदण्ड भएका कारण चीनसँगको सुमधुर सम्बन्ध अपरिहार्य छ। यस क्रममा जर्मन चान्सलर ओलाफ सोल्जको भ्रमणलाई विशेष चासोका साथ हेर्न सकिन्छ। स्वयं जर्मनीका राजनीतिक दल र जनताको ठूलो हिस्साले विरोध गर्दागर्दै पनि उनले चीनसँगको सम्बन्धलाई सन्तुलित राख्न चीनको भ्रमण गरे। उनले ह्याम्बर्ग बन्दरगाह निर्माणको लागि २५ प्रतिशत हिस्सा चिनियाँ कम्पनी कोसकोलाई दिने सहमति संसदबाट अनुमोदन समेत गरे।

जर्मनीको हान्स बोकलर फाउण्डेशनले गरेको अध्ययन अनुसार २०११ देखि २०२० सम्म १९३ चिनियाँ लगानीकर्ताले २४३ जर्मन इन्टरप्राइजेजहरूलाई आंशिक वा पूर्ण स्वामित्वमा लिएर सञ्चालन गरिरहेका छन्।

२५ भन्दा बढी विदेशी राष्ट्रप्रमुख र महत्वपूर्ण बहुपक्षीय संगठनका प्रमुखहरूले भेटघाट गरिसकेका छन्। अमेरिकासँग चिसिएको सम्बन्धले पनि कोल्टे फेर्ने परिस्थिति सृजना भएको छ। जो बाइडेनदेखि युरोपियन परिषदका प्रमुख चार्ल्स मिचेलले भेट गरिसकेका छन्।

२०२१ को नोभेम्बर १५-१६ मा इन्डोनेसियाको बालीमा सम्पन्न जी-२० शिखर सम्मेलनले सी जिनपिङको आकर्षक कूटनीति (चार्म अफेन्सिभ) ले निकै चर्चा बटुल्यो। जो बाइडेनसँग तीन घण्टा लामो विमर्शले नान्सी पेलोसीको ताइवान भ्रमणले न्यून विन्दुमा पुगेको सम्बन्धलाई पुनर्ताजगी गर्ने परिस्थिति सृजना भयो। फ्रान्स, अष्ट्रेलिया, नेदरल्याण्ड, दक्षिण कोरियालगायत अन्य देशका नेताहरूसँगको भेटवार्ताले चीनको प्रभाव र उपस्थितिलाई अरु सशक्त बनायो।

अष्ट्रेलियाकी विदेश मन्त्री पेनी वङले चीनको भ्रमण गरेकी छन्। लामो समयदेखिको तिक्तता मेट्न यसले काम गरेको छ।

वित्तीय तथा मौद्रिक नीतिमा समायोजन
अमेरिका वा पश्चिमाहरूले लगाउने अर्को आरोप चीन भूमण्डलीकरण र खुला बजार व्यवस्थाबाट पछि हटेर संरक्षणवादमा पुगेको छ। आन्तरिक उत्पादन र खपतलाई जोड दिंदै ड्युल सर्कुलेसन्को आर्थिक नीति अख्तियार गरेको छ। तर यस्तो रणनीति स्वयं अमेरिका अख्तियार गरिरहेको छ। विश्व आपूर्ति श्रृङ्खलालाई कब्जा गर्न उद्यत छ। सेमिकण्डक्टर क्षेत्रमा आत्मनिर्भर बन्न ताइवान र दक्षिण कोरियाबाट प्रविधि तथा संरचना अमेरिकामा सार्न खोज्दैछ। अमेरिकाले अफसोअरिङ व्यवसायलाई फ्रेण्डशोयरिङ गर्दै रिशोअरिङ गरिरहेको छ।

चीनले मौद्रिक तथा वित्तीय नीतिको पुनर्समायोजन गर्दै कोभिड पछि थलिएको अर्थतन्त्रलाई गति दिन सुरु गरेको छ। चिनियाँ आर्थिक विकासको मुख्य मेरुदण्ड मानिएको रियल स्टेट सेक्टरलाई सहुलियत सुविधा उपलब्ध गराएको छ। त्यस्तै मौद्रिक नीतिमा परिमार्जन गर्दै ब्याजदर कटौती र वित्तीय नीति अन्तर्गत सरकारको लगानी ठूला भौतिक निर्माण र सामाजिक सुरक्षाका क्षेत्रमा खर्च गर्न सुरु गरिएको छ।

अमेरिकी मुख्य सञ्चारमाध्यम तथा अन्य पश्चिमा सञ्चारमाध्यमहरूले चीन झन् खुला बजार र निजी व्यापार तथा उद्यमशीलताप्रति कडा बनेको र राज्यको भूमिका निर्णायक बनाउँदै लगेको भन्दै प्रचार गरे पनि त्यो पुरानै चिनियाँ पतन (चाइना कोल्याप्स) सिद्धान्तको अन्धानुकरण पुष्टि हुनपुग्यो।

त्यस्तै युआनको घटबढलाई यस पटक चीनले स्वतन्त्र छोडिदिएको छ। बजारमा माग र पूर्तिका आधारमा मूल्य निर्धारण हुने परम्परागत लेसिज फेयर प्रणाली अनुसार नै युआनको मूल्य निर्धारण हुने गरेको छ। यस अगाडि युआनको सन्तुलनको लागि घटबढमा चीनले हस्तक्षेप गर्ने गर्दथ्यो।

चीन-रसिया सम्बन्ध
सीमाहीन मित्रता (नो-लिमिट फ्रेन्डसिप) को गाँठोलाई अझै कसिलो बनाउने प्रयत्न चीन र रसियाको आजपर्यन्त जारी छ। युक्रेन आक्रमण गर्नुभन्दा २० दिनअघि बेइजिङ विन्टर ओलम्पिकको पूर्वसन्ध्यामा गरिएको हस्ताक्षरको मित्रता झन् भन्दा झन् कसिलो बनेको छ। गत शुक्रबार २० डिसेम्बरमा सी र पुटिनले पुनः भिडियो वार्ता गरेका छन्।

२४ फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमाथि आक्रमण गरेपछि चीनको भूमिकालाई लिएर विश्वस्तरमा थुप्रै बहस सृजना भए। अमेरिकाले लोकतन्त्र भर्सेस एकतन्त्र/निरंकुशताको नारालाई विश्वव्यापी बनाउँदै उस्तै व्यवस्था मान्ने देशहरूको गठजोड निर्माण गर्ने प्रयत्न गरिरहेको छ।

चीनले किन रसियासँगको सम्बन्धलाई व्यवस्थित र स्थायी बनाउन खोज्यो भन्नेबारे प्रशस्त विमर्श हुन जरुरी छ। चीनले गहिरो गरी बुझेको छ कि दीर्घकालमा पनि रसिया चीनको शत्रु र प्रतिस्पर्धी होइन। अमेरिका सबै कोणबाट मुख्य प्रतिस्पर्धी र दीर्घकालको मुख्य दुश्मन भएर उभिएको छ। आर्थिक, सैन्य, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक, कूटनीतिक सबै कोणबाट रसियाले चीनसँग तत्काल आमनेसामने उभिने चेष्टा गर्दैन। झन् युक्रेन युद्धले रसियालाई चीनको जुनियर पार्टनरमा बदलिदिएको छ। कच्चा तेल तथा आवश्यक खनिज पदार्थको लागि पनि रसिया चीनको भरपर्दो मित्र हो।

लामो सिमाना जोडिएको देशहरू दुईपक्षीय व्यापार गर्दा यातायात तथा लागतको कोणबाट पनि लाभमा रहन्छन्। त्यस्तै सुरक्षाको कोणबाट ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई), सांघाई सहयोग संगठन (एससीओ), विकासशील देशहरूको संगठन (ब्रिक्स) तथा एआईआईबीको स्थायित्वका लागि पनि रसियासँग सौहार्दपूर्ण सम्बन्ध जरुरी छ।

युक्रेनी प्रतिरोधको गतिलो पाठ
अमेरिकालगायत पश्चिमा सुरक्षा तथा भूराजनीतिका विज्ञहरूको मतलाई आधार मान्दा रसियाले युक्रेनलाई २४ घण्टाभित्र नै कब्जा गर्ने ठोकुवा गरेका थिए। रसियालाई पनि त्यही शीघ्र विजयको मानसिकताले छोपेको थियो। युद्धको प्रकृति स्केलले रेखा कोरेजस्तो सरलरेखीय हुन सक्दैन। आम अड्कलबाजी विपरीत युक्रेनमाथि रसियाको हस्तक्षेप निकै महङ्गो सावित भयो। रसिया अन्तर्राष्ट्रिय समुदायबाट पूरै अलग्गियो। अर्थतन्त्र अस्तव्यस्त भयो। देशको बौद्धिक र दक्ष जनशक्तिको ठूलो हिस्सा विदेश पलायन भइरहेको छ। युद्ध कहिले अन्त्य हुन्छ भनेर भन्न सक्ने कुनै आधार छैन। समग्रमा रसिया युक्रेन युद्धमा नराम्रोसँग फस्यो। तर युक्रेन युद्धले लडाईंको स्वरूपलाई परिवर्तन गरिदिएको छ। मानवरहित विमानको प्रयोगले युद्धको आयामलाई नयाँ गति दिएको छ। रसियाले लामो समयदेखि ठूला र महङ्गा हतियारको निर्माणमा जोड दियो तर २० हजार डलरमा पाइने इरानी कामकाजे ड्रोनले केही मिनेटमा नै युक्रेनका महत्वपूर्ण संरचनाहरू खरानी बनाइदियो। यसले युद्धलाई नयाँ तरिकाले हेर्न बाध्य बनाएको छ।

त्यस्तै जनस्तरबाट जुन प्रतिरोध युक्रेनी जनताले गरे त्यसले राष्ट्रिय एकताको भावलाई जागृत मात्र गरेन घर-घर, बाटो-बाटो र कुना-कुनामा लडाईं केन्द्रित गरिदियो। जसलाई रसियाले नजरअन्दाज गरेको थियो र त्यो स्तरको तयारीमा ऊ जुट्न सकेन।

केही घण्टाको अन्तरमा अमेरिका र उसका छिमेकीहरू तथा युरोपियन युनियन सम्बद्ध देशहरूले रसियालाई आर्थिक, सैन्य नाकाबन्दी गरिदिए। ‘स्विफ्ट’ जस्तो अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट रसियालाई निष्कासन गरिदिंदा ६३० विलियन अमेरिकी डलरको वैदेशिक सञ्चितिमध्ये झण्डै ३३० विलियन डलर फ्रिज हुनपुग्यो। जसले रसियाको युद्ध कोषलाई नराम्रोसँग प्रभावित पारिदियो।

यता, चीनको २०४९ सम्म ताइवानलाई पुनर्एकीकरण गरिसक्ने घोषित योजना छ। तर अमेरिकी सैन्यविद्हरू २०२७ अगाडि नै चीनले ताइवान कब्जा गर्नसक्ने अनुमान गरिरहेका छन्। यदि चीनले ताइवानलाई कब्जा गर्दाको बखत आइलाग्न सक्ने यस्ता खतराहरूको पहिले नै पटाक्षेप भएको छ। यसका लागि सम्भावित सैन्य रणनीति निर्माण गर्न चीनलाई निकै सजिलो बनेको छ।

युक्रेनमाथि रसियाको आक्रमणले अमेरिका आफ्ना मित्र तथा साझेदारहरूलाई भौतिक हिसाबले सहयोग गर्ने सामर्थ्य राख्दैन भन्ने तथ्य पनि प्रमाणित भएको छ। यसले देशहरू आफ्नो आर्थिक र सुरक्षा स्वार्थका कारण कुनै एउटा देशको पछि लाग्ने परिवेश समेत बदलिएको छ।

सी समझदार र विवेकशील नेता हुन् भने संवेगात्मक विवेक (इमोशनल इन्टेलिजेन्स) ले भरिपूर्ण चेतना उनसँग छ। यो कुरा उनको विगतले समेत पुष्टि गर्छ। माओको सांस्कृतिक क्रान्तिकालमा गाउँ लखेटिंदा र उनको आफ्नै दिदीलाई बारम्बार दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पारिंदा समेत उनले हिम्मत हारेनन्। बरु लाल भन्दा लाल भएर मात्र जिउन सकिन्छ भन्ने आत्मविश्वास सृजना गरे। १०औं पटकको प्रयत्नमा पार्टी सदस्यता प्राप्त गरेका सी स्वाभिमानी र दृढनिश्चयी पनि छन्।

ताइवान समस्या फेरि अर्को पुस्तालाई हस्तान्तरण गर्न हुँदैन र यही पुस्ताले हल खोज्ने उनको दृढ मत छ भन्नेमा कुनै शंका छैन। सीको यही दृढ संकल्प र व्यक्तित्वबाट अमेरिका कायल छ।

देङ सियाओ पिङको ‘हाइड योर स्ट्रेन्थ, बाइड योर टाइम एण्ड नेवर लिड’ नीतिलाई उल्टाउँदै चिनियाँ सपना, ग्रेट रिजुभेनेसन् र ग्रेट पावर रिलेसन् मार्फत चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व निर्माणमा चीनको निर्णायक भूमिका स्थापित गरिदिए।

अमेरिका वा पश्चिमा विद्वानहरूले अनुमान गरेभन्दा पृथक् चीन मक्किंदै होइन, झन् सबल र सुदृढ हुँदै अमेरिकालाई माथ गर्ने दिशामा अगाडि बढिरहेको छ। अल्पकालमा अमेरिकाले सृजना गरेको कष्टले सेमिकण्डक्टर र व्यापारिक करमा केही असहजता सृजना भए पनि बहुध्रुवीय विश्व परिवेश बनिसकेका कारण अमेरिकी आर्थिक नाकाबन्दीको प्रभाव विस्तारै कम हुनेछ। रसियामाथि आर्थिक नाकाबन्दी लगाउँदा वैकल्पिक अन्तर्राष्ट्रिय मुद्राले गति पाएको छ। साउदी अरेबिया जस्ता अमेरिकी छिमेकीहरू रसिया र चीनसँग निकट सम्बन्ध गाँस्न पुगेका छन् भने अमेरिकी डलरको अन्तर्राष्ट्रिय साख गिरेको छ।

मुद्रालाई नाकाबन्दीको मूल माध्यम बनाउँदा प्रतिस्पर्धी र विरोधीहरू वैकल्पिक अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अवलम्बन गर्न थालेका छन्। अमेरिकाले प्रत्यक्ष सैन्य आक्रमणबाट परास्त गर्न वा अस्तव्यस्त पार्न नसक्ने बलियो सैन्य शक्तिलाई आर्थिक नाकाबन्दी लगाएर राज्य विप्लवको अवस्था सृजना गर्ने र सत्ताच्युत गराउने रणनीति अख्तियार गरेको छ। जुन रसिया, इरान, उत्तरकोरिया, भेनेजुएला, क्युबाको उदाहरणले पुष्टि गर्छ भने अफगानिस्तान, इराक, सिरिया, लिबियामा नेताहरूको सफायाले थप स्पष्ट पार्दछ।

यसले स्पष्ट पार्छ कि अब विश्व कुनै पनि कोणबाट अमेरिकी नेतृत्वको एकल विश्व व्यवस्थामा उभिंदैन। यसको मतलब अमेरिका कमजोर भयो भन्ने होइन यहाँ मुख्य कुरा चीनले गरेको तीव्र आर्थिक विकास र त्यसको जगमा निर्माण गरेको सैन्य शक्ति महत्वपूर्ण छ। सन् १९९० को शीतयुद्धपछिको साढे दुई दशक जसरी विश्वभरि अमेरिकाले एकछत्र हैकम जमायो, त्यो अब विभिन्न ध्रुवहरूमा विभाजित भएको छ।

युक्रेनमाथि रसियाको आक्रमणले अमेरिका आफ्ना मित्र तथा साझेदारहरूलाई भौतिक हिसाबले सहयोग गर्ने सामर्थ्य राख्दैन भन्ने तथ्य पनि प्रमाणित भएको छ। यसले देशहरू आफ्नो आर्थिक र सुरक्षा स्वार्थका कारण कुनै एउटा देशको पछि लाग्ने परिवेश समेत बदलिएको छ। देशले अमेरिका वा चीनमध्ये एक रोज्ने (बाइनरी च्वाइस) को शीतकालीन मानक पनि भत्किएको छ। दक्षिण पूर्वी एसिया र मध्य पूर्वका देशहरूको चीन र अमेरिकासँगको सन्तुलित सम्बन्धले पनि यसको पुष्टि गर्छ।

तसर्थ बदलिएको भूराजनीति र विश्व शक्ति सन्तुलनलाई ख्याल राख्दै चीन सन् २०२३ मा अझै व्यवस्थित, सन्तुलित र योजनाबद्ध विकासको खाकासहित आक्रामक तरिकाले प्रस्तुत हुनसक्छ।

लेखकको बारेमा
गोविन्दराज केसी

त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका लेखक भू-अर्थ राजनीतिमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?