+
+
ब्लग :

गृहमन्त्रीज्यू, सोविताका सँगीहरू कहिले सिंहदरबार प्रवेश गर्लान् ?

सोविता गौतम जस्तै एजेण्डामा प्रष्ट हुनसके चुनाव जितिने रहेछ भन्ने विश्वास पलाएको छ। तर आफ्नै घरछेउको मतदान केन्द्रमा भने सोविता जस्तै अन्य धेरैले अझै मतदान गर्नै पाउँदैनन्। यस्तो अवस्था हटाउन बरु गौतमलाई नै कानुन परिवर्तन गर्ने जिम्मेवारी दिने कि ?

अर्जुन अपवाद अर्जुन अपवाद
२०७९ पुष १८ गते १३:२०

गृहमन्त्री रवि लामिछाने जी, नमस्कार ! गृहमन्त्री हुनुभएकोमा बधाई साथै केही आशा र अपेक्षासहित यो पत्र लेखेको छु। आशा छ पत्रमा उल्लेख भएका विषय सुधारमा ठोस पहल गर्नुहुनेछ।

मतगणना हुँदै गर्दा पत्र लेखुँ कि भन्ने लागेथ्यो। चुनावी नतिजा आएपछि यो अति जरुरी छ भन्ने भो। गृहमन्त्री नै भएपछि त ढिला गर्नुहुन्न भन्ने लाग्यो। तपाईंलाई पत्र लेख्नुभन्दा अघि नै के सम्बोधन गर्ने भन्ने लाग्यो।

कमरेड शब्दमा रमाउने कम्युनिस्टहरू अहिले ‘बा’तिर लागेका छन्। अर्को कमरेड भन्ने शब्दको ठेक्का लिएको दावी गर्ने पार्टीमा पनि आजकाल कमरेड शब्द धेरै सुनिने गर्दैन। कांग्रेस दाइ भन्नमै रमाइरहेको छ। उसले पनि आफ्नो सिद्धान्त सबै बिर्सिसकेको छ।

कांग्रेस र एमालेले २०५५-५६ सालतिर नै सत्ता नै सबैथोक हो, बाँकी भ्रम हो भन्ने निष्कर्षलाई व्यवहारमा उतार्न थालेका हुन्। हामी जनताका पक्षमा काम गर्ने हौं भनेर जनविद्रोह नै चलाएको माओवादी सत्तामा जान जेसुकै गर्ने अवस्थामा पुगेको छ। त्यही भएर मैले तपाईंलाई ‘जी’ भनेर सम्बोधन गर्नु उपयुक्त हुने निष्कर्ष निकालें।

नेपालको राजनीतिमा असम्भव भन्ने कुरा हुन्न। यो धेरै अनुमान योग्य पनि छैन। त्यसैमध्येको एउटा घटना भने वर्ष दिन नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट राम्रो मत प्राप्त गर्‍यो। १ सिट जित्दैन भनेर सोचिरहेका परम्परागत दलका नेतालाई जिल् खुवाउँदै प्रत्यक्षमा ७ सिट जित्यो।

अर्जुन अपवाद

समानुपातिकमा ११ लाख ३० हजार ३४४ मतसहित १३ सिट प्राप्त गरेर २० सांसद प्रतिनिधिसभामा पुर्‍याउँदै चौथो ठूलो पार्टी बन्यो। २७ वर्षकै मानिसलाई राजनीतिमा आकर्षण मात्रै गरेन प्रतिनिधिसभामै पुर्‍यायो।

राजनीति कतिपय अवस्थामा अनुमान बाहिर हुन्छ। पार्टी दर्ता भएको कम समयमै देशभर गज्जबको उपस्थिति जनाउन सक्नु मेरा लागि अनुमान बाहिरको विषय थियो। अझै तपाईं उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि म चकित परेको छु।

यसले म जस्तो राजनीतिलाई नजिकैबाट नियाल्ने तर सहभागी हुन अस्वीकार गर्नेलाई लोभ्याएको छ। राजनीतिमा अब यति वर्ष जेल बसेको, यति वर्ष संगठित सदस्यता भएको, बन्दुक बोकेको, भूमिगत भएको, युद्ध लडेको लगायतका भाष्य नभए पनि चुनाव जित्न सकिन्छ भनेर पुष्टि भएको छ।

तर यहाँनेर तपाईं गृहमन्त्री बन्नुभएकोले मैले भन्नुपर्ने कुरा अर्कै छ। त्यो हो मेरोमा पनि चुनावले उत्साह ल्याउन पर्छ। आतंक होइन। अरूतिर चुनाव उत्साह बोकेर आउँछ। यसले उमंग ल्याउँछ। मतदाता मताधिकार प्रयोग कसरी गर्ने भनेर छलफल गर्छन्। दलका नेता कार्यकर्ता किन हाम्रो दल छान्नु जरूरी छ भनेर मतदाता मनाउन लाग्छन्।

मतदाताले निर्भीक बन्दै सोचेर बुझेर आफ्नो मत प्रदान गर्न पाउँछ। जित्ने जिम्मेवारीबोधले गम्भीर बन्छ। हार्ने आफैंमा कतै कमजोरी भएको थियो भन्ठान्छ। अर्को पटक चुनाव उठ्ने भए तयारीमा लाग्छ। नत्र आफ्नो अरू नै जिम्मेवारीमा फर्कन्छ।

मेरो ठाउँ भने चुनावका बेला अपवाद छ। यहाँ चुनावले आतंक ल्याउँछ। अलि अघिसम्म त कुनै पार्टीको कार्यकर्ता हैन मतदाता भए मात्रै कुटाइ खाने अवस्था थियो। अहिले त्यो खालको उपद्रो त देखिन्न। तैपनि अझै पनि अनुपस्थित मानिसले मतदान गर्नु, मृत्यु भएका मानिसहरूले मत खसाल्नु ज्यादै सामान्य कुरा हो। गाउँका शिक्षित भनिएकाहरू नै यसलाई अधिकार भनेर अर्थ लगाउँछन्।

केही ठाउँमा त मतदान स्थल पुग्नै पाउँदैनन् मतदाता। यो राज्य संयन्त्रलाई भलिभाँती जानकारी छ। यसमा पनि राज्य केही गर्दैन। किनभने भोट कसले हाल्यो, कसरी हाल्यो भन्ने मतलब छैन। उसलाई मतदान अधिकृतले मतपेटिका बुझाइदिए पुग्छ।

मतदानमा उम्मेदवार मतदाताको मत माग्न भन्दा पनि बलिया पाखुरा हुने सामाजिक कार्यकर्ता जोहो गर्न लाग्छन्। चुनावमा खटिएको कर्मचारीले कतिबेला कुटाइ भेट्छ पत्तो हुन्न। स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गराउन खटिएको सुरक्षाकर्मीले नै कुटाइ खाँदा पनि यो अपराध बन्दैन। उल्टै यस्तो कुरा भन्नेलाई नै आक्रमणको प्रयास हुन्छ, आफ्नो गाउँको इज्जत गयो भनेर।

मेरोतिरबाट शहर बसाइँ सरेकाहरूले लोकप्रिय मतले चुनाव जित्छन्। गाउँमै बस्नेहरूले मतदानस्थल हेरेरै चित्त बुझाउनुपर्ने अवस्था छ। तपाईंको पार्टीको सभासद सोविता गौतमको परिवारको मतदान गर्ने स्थल दोलखाको कालापानी मावि जफे हो। यो ठाउँ चुनावमा रणमैदान भयो। त्यो पनि लोकतान्त्रिक व्यवस्थाका लागि रगत बगाएका नेताको अगुवाइमा। उनलाई यसो गर्न केले प्रेरित गर्‍यो ?

सोविता गौतम त्यहाँ आफैं भएको भए या मतदान नगरी फर्कन्थिन् वा भौतिक आक्रमणमा पर्थिन्। उनले आफ्नो ठाउँमा मतदान गर्न पाउँछिन् कैले ? यसका लागि चुनावमा हुने फर्जी मतदान रोक्ने कानुन बनाउनुस्। यत्ति गर्न सके धेरै ठाउँमा चुनाव स्वच्छ तथा निष्पक्ष हुनेछन्। तब मात्र तपाईंले कल्पना गरेको समाज बन्न सक्छ।

मेरो जिल्लामा यसपटक मतपेटिकाको बिर्को नै फुटाइयो तैपनि पुनः निर्वाचनको आदेश भएन। त्यस्तो मतपेटिका पनि मिलाएर ल्याउनू भनेर माथिबाट आदेश भयो। पहिला २४ सय मत खसेको ठाउँमा पुनः ‍मतदान गर्दा १४-१५ सय मत खसेन।

पुनः मतदानमा पहिलाको भन्दा धेरै मानिस गाउँ आएका थिए। यस्तो भद्रगोल देख्दा पनि पुनः निर्वाचनको आदेश हुन हप्ता दिन कुर्नुपर्ने अवस्था राम्रो हो त ? हाम्रो जस्तै अवस्था भएको अर्को जिल्लामा निर्वाचन आयुक्तहरूले मतपेटिका बुझिसकेपछि पुनः मतदान गर्न हुँदैन भनेर टिप्पणी लेखे। यो जायज हो ?

दलका नेता कार्यकर्ताले चुनावमा अराजक गतिविधि गरेको पाइए पुनः चुनाव हुने व्यवस्था गरौं। नागरिकलाई उसले चाहेको ठाउँमा मतदान गर्न दिऔं। यसो गर्न सके हामीले पनि चुनाव लड्ने रहर पाल्न सक्थ्यौं। यसो गर्न सकिएला त गृहमन्त्रीज्यू ?

मेरो जिल्लामा २०१५ सालको निर्वाचनदेखि नै भद्रगोल भएको छ। उक्त निर्वाचनमा मतदान स्थल नै हेरफेर गरिएको थियो। २०५१ सालमा त अर्धकट्टीहरू नै मतपेटिका भित्रै भेटिएका थिए।

२०६४ सालमा आफ्नो गाउँमा मन्तव्य राख्न त्यसबेलाको प्रमुख दलका पोलिटब्यूरो सदस्यले पाएका थिएनन्। यस्ता भद्रगोलको चाङ लामो छ। यसमा अन्यायमा पर्ने जहिल्यै पुनः निर्वाचनका लागि मिहिनेत गर्छन्। निर्वाचन आयोगले सुनेन। अदालतले कार्यकाल सकिंदा पनि निर्णय दिएन।

यसमा निर्वाचन आयोगलाई पनि धेरै के भन्नु र! निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ ले माथि उल्लिखित कसूर गर्दा केही कसूरदारलाई थोरै नगद जरिवाना गराउने प्रावधान राखेको छ। मतदानमा खटिएको कर्मचारीले मतपेटिका मात्रै सुरक्षित बुझाउने ध्याउन्न राखेको हुँदा यो प्रावधानले काम गर्दै गरेको छैन।

यस्ता कामकारबाहीलाई निरुत्साहित गर्ने हो भने पुनः निर्वाचन गराउनुको विकल्प छैन। यसमा हालको कानुन नै बाधक छ। यो कानुन परिवर्तन नगरी हाम्रा दलहरू सच्चिने छैनन्। यो ऐनको दफा १० ले एक अवस्थामा मात्र मतदान रद्द हुने व्यवस्था गरेको छ। त्यसमा पनि आयोगको आयुक्त, सचिव वा आयोगबाट अधिकार प्रदान गरिएको अन्य कुनै अधिकारीबाट जाँचबुझ गरेर मात्रै।

जाँचबुझको प्रतिवेदनबाट निर्वाचनको कुनै काम स्वतन्त्र र निष्पक्ष नभएको कुरामा आयोग विश्वस्त भएमा त्यस्तो कुरा खुलाई त्यस्तो निर्वाचन क्षेत्रको निर्वाचन वा त्यस्तो निर्वाचन क्षेत्रको कुनै वा सबै मतदान केन्द्रको मतदानको काम रद्द गर्न सकिने कानुनी व्यवस्था छ।

निर्वाचन कानुनमा भएको यो खुकुलो प्रावधानका कारण हाम्रा दलहरू जे पनि गर्न तयार भएका हुन्। औसतमा खसेको मतभन्दा बढी मत खसेको पाइए बढी खसेको मत सुरुमा नै निकाल्ने कानुन बनाउन सकिए दलहरूले यो उपद्रो गर्दैनन्। मतदान अधिकृत र सुरक्षामा खटिएका सुरक्षाकर्मीले प्रतिवेदन बुझाउने र सो प्रतिवेदन अनुसार काम हुने हो भने दलहरू सुरक्षाकर्मी नै कुटेर फर्जी मत हाल्न अगाडि सर्ने थिएनन्।

तपाईं आफैं चुनाव लड्दै गर्दा कत्तिको अनुभव गर्नुभयो ? चुनावको वर्तमान कानुनी व्यवस्था र यसमा दलहरूको रवैयाका कारण यो आम जनताबाट टाढा हुँदैछ। दलहरूले उम्मेदवार छान्दा जनताबीच लोकप्रिय रहेको आधारमा भन्दा पैसा खर्च गर्न सक्ने क्षमताको आधारमा चयन गर्ने अभ्यास बढेको छ।

असन बजारमा भन्दा चर्को मोलमोलाई मतदानका लागि हुने गरेको छ। मतदाता र नेताबीच विश्वास पातलिंदैछ। अब त मतदाता पनि पैसा लिने स्पर्धामा देखिन्छन्। चुनावमा दलका कार्यकर्ताले सुरक्षाकर्मी र कर्मचारीमाथि हातपात गर्नु गर्वको विषय भएको छ। यो अपराध हो कि अधिकार छुट्टिन सकेको छैन।

यो पत्र लोकतन्त्रको लडाइँको सबैभन्दा पुरानो पार्टी कांग्रेसलाई लेख्न सकिन्थ्यो। त्यस पार्टीबाट भर्खरै प्रधानमन्त्री बन्छु भनेर दौडिएका युवा नेतालाई लेख्न पनि मनले मानेन। अहिलेको सत्ताको चावी लिएर बसेका एमाले पार्टी अध्यक्षलाई लेख्न पनि जाँगर चलेन। प्रधानमन्त्री तथा १० वर्ष लामो युद्धको नेतृत्व गर्नेलाई पनि यो पत्र लेखेर के नै होला र भन्ने लाग्यो।

यसको सहायक कारणहरू अरु अरु भए पनि मुख्य कारण भने एउटै छ। त्यो हो उनीहरू आफैं वा आफ्नो पार्टीका नेता जित्दा फर्जी मतको अंक धेरथोर छ। उनीहरूलाई मृत्यु भइसकेका मानिसहरूले यहाँ उपस्थित भएर मतदान गरेका छन्।

सात समुद्र पार गरेर खाडीमा पसिना चुहाइरहेका श्रमिक यहाँ आएर फुत्त मतदान गरेर फर्किएका छन्। चुनाव गराउन र त्यसको सुरक्षा गर्न खटिएका कर्मचारीहरूले पनि चुनावमा मत हालेका छन्। यसरी भएका भन्दा नभएका धेरैको मत पाएकाहरूले त्यो मत गलत भन्ने नैतिकता देखाउन नसक्लान् भन्ने मेरो विश्वास हो।

मेरो विश्वासमा यो पटक तपाईं नेतृत्वको स्वतन्त्र पार्टीले भने त्यस्तो मत पक्कै पाएन। यसो हुनाले यो फर्जी मतदान गलत हो भन्न सक्ने एकमात्र सही व्यक्ति तपाईं हो भन्ने लागेको छ। यसलाई गलत भन्ने व्यक्तिमा अझै चेत पलाएको छैन। यो अवस्था मेरोमा मात्र होइन, देशका धेरै भूभागमा छ। यसलाई कसले बदल्ने ? कहिले बदल्ने ? यस्तै अपराध काँधमा राखेर हिंडेको यो देशको लोकतन्त्र कतिन्जेल टिक्छ ?

नेपालका विभिन्न समयमा भएका परिवर्तनबारे पाका मानिसबाट सुनेको छु र पढेको पनि छु। माओवादी आन्दोलन धेरथोर भोगेको छु। अब म शासनव्यवस्था भन्दा नेतृत्वको नियत सफा भए अरु सबै ठीक हुन्छ भन्नेमा विश्वास गर्छु।

हामीले सबैभन्दा पहिला हाम्रो चुनावमा भएका केही कुरा नसुधार्ने हो भने हाम्रो चुनावमा कोही गह्रौं खल्ती नभएको मानिस नजिक नै नपर्ने अवस्था बनिरहेको छ। जनतामा मन जितेर भन्दा पनि बाहुबली व्यवस्था गरेर चुनाव जित्नुपर्ने अवस्थामा हाम्रो भविष्य के होला ? हामीले खोजेको अवस्था यही हो ? तपाईंको दलले यो काममा अग्रसरता लिनुपर्ने हैन र ?

हाम्रो चुनाव ज्यादै महँगो बन्नुको कारण भनेको मतदातालाई मतदान गर्न नाम जहाँ छ त्यहीं पुग्नुपर्छ। उम्मेदवार र दलहरूलाई गाडी तथा प्लेनमा मानिस नओसारी भएको छैन। स्थानीय चुनावमा एकजना वडाअध्यक्षले भारतका विभिन्न शहरमा समेत गाडी पठाएर मतदाता ओसार्नुपरेको थियो। यसलाई रोक्ने हो भने चुनावको खर्च पनि कम हुन्छ। रोक्नका लागि त्यत्रो ठूलो काम पनि गर्न पर्दैन म जहाँ चाहन्छु त्यहीं मत हाल्न दिए पुग्छ। विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिने कुरामा हामी बहस गर्न थालेका छौं। त्यहाँ पुग्न सकिन्छ। पुग्नैपर्छ।

यसैगरी अब गाडीका गाडी मान्छे ओसार्ने भन्दा पनि उसको मतदानको अधिकार रक्षा गर्ने हो। जहाँबाट मतदान गर्न अनुकूल पर्छ, त्यहीं मत हाल्न दिने हो। निर्वाचन आयोगसँग मेरो विवरण मात्रै हैन, औंठाछाप पनि छ। यो गर्न नसकिने भनेको त नियतमा समस्या भएर मात्रै न हो।

अन्तिममा तपाईंको पार्टीबाट सभासद चुनिएकी सोविता गौतम राजनीतिमा युवाले ठाउँ पाउँछ भन्ने उदाहरण हुन्। उनको विजयले उनी जस्तै युवाहरू राजनीतिमा आकर्षित भएका छन्। उनीहरूलाई एजेण्डामा प्रष्ट हुनसके चुनाव जितिने रै’छ भन्ने विश्वास पलाएको छ।

तर आफ्नै घरछेउको मतदान केन्द्रमा भने सोविता जस्तै अन्य धेरैले अझै मतदान गर्नै पाउँदैनन्। यस्तो अवस्था हटाउन बरु गौतमलाई नै कानुन परिवर्तन गर्ने जिम्मेवारी दिनुस्। यो उनको अध्ययन र कामको क्षेत्र पनि हो।

कम्तीमा पनि चुनावमा हुने फर्जी मतदानलाई अपराध मानिने भयो भने त्यसले हाम्रो चुनावलाई निष्पक्ष बनाउन सक्छ। दलका नेता कार्यकर्ताले चुनावमा अराजक गतिविधि गरेको पाइए पुनः चुनाव हुने व्यवस्था गरौं। नागरिकलाई उसले चाहेको ठाउँमा मतदान गर्न दिऔं। यसो गर्न सके हामीले पनि चुनाव लड्ने रहर पाल्न सक्थ्यौं। यसो गर्न सकिएला त गृहमन्त्रीज्यू ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?