+
+

पोखराको मान्द्रेढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द

अच्युत पुरी अच्युत पुरी
२०७९ पुष १८ गते १८:५६
फाइल तस्वीर

१८ पुस, काठमाडौं । सरकारले पोखराको मान्द्रढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द गराएको छ । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक सञ्चालनसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मान्द्रेढुंगा प्यालाग्लाइडिङ जोनलाई मात्र कायम राखी अन्य सबै जोन बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले प्लाराग्लाइडिङ व्यवसाय सञ्चालन सम्बन्धमा नेपाल हवाई खेलकुद संघलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको कन्ट्रोल एयर स्पेस मध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइल भित्र एउटा मात्र प्याराग्लाइडिङ जोन कायम राखी अन्य सबै जोन बन्द गरिएको हो । यस क्षेत्र भित्र कुल ४ वटा प्याराग्लाइडिङ जोन रहेका छन् । अब सराङकोट, तोरेपानी र ताम्गी स्थित प्याराग्लाइडिङ जोन बन्द गरिएको छ ।

मान्द्रेढुंगामा ११ बजेदेखि ३ बजेसम्म मात्र अनुमति

प्राधिकरणले मान्द्रेढुंगामा भने ११ बजेदेखि ३ बजेसम्म मात्र प्याराग्लाइडिङ उडान गर्न सकिने गरी समय तोकेको छ । यो समेत १ महिनाका लागि परीक्षणका रुपमा खुला गरिएको हो । यसबीचमा अब नेपाल हवाई खेलकुद संस्थाले हरेक दिन स्लट र सेड्यूल व्यवस्थापन निर्धारण गरेर मात्र उडान सञ्चालन गर्न पाउने छ । हवाई सुरक्षा सुनिश्चितताका लागि यस्तो निर्णय गर्नु परेको प्राधिकरणको तर्क छ ।

यात्रुलाई बोर्डिङ पास अनिवार्य

विमानस्थलको १० नटिकल माइल क्षेत्र भित्र अनुमति पाएको जोनमा हुने हरेक प्याराग्लाइडिङ उडानमा अब यात्रुलाई बोर्डिङ पास दिनु पर्ने छ । यस्तो बोर्डिङ पास जारी गर्ने जिम्मेवारी नेपाल हवाई खेलकुद संस्थाको हुनेछ ।

संस्थाले हरेक उडानको नियमत गर्ने जिम्मेवारी समेत पाएको छ । उक्त विवरण प्राधिकरणलाई समेत बुझाउनु पर्ने प्राधिकरणको निर्णयमा उल्लेख छ ।

मान्द्रेढुंगामा पूर्वाधार नहुँदा व्यवसाय बन्द

संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार प्राधिकरणको पछिल्लो निर्णयपछि पोखरामा तत्कालका लागि प्याराग्लाइडिङ व्यवसाय बन्द भएको छ । यद्दपि हवाई सुरक्षाका लागि प्राधिकरणबाट भएको निर्णय भने सबै व्यवसायीले स्वीकार गरेको उनले बताए ।

‘पूर्वाधारको हिसावले प्याराग्लाइडिङ सराङकोट र तोरेपानीमा केन्द्रित थियो, उनले अनलाइनखबरसँग भने, ‘मान्द्रेढुंगामा पूर्वाधार नबनेका कारण आइतबारबाट पोखरामा प्याराग्लाइडिङ बन्द भएको छ ।’

पोखराको पहिचान प्याराग्लाइडिङ भएका कारण एउटा जोन मात्र भए पनि दिनुपर्ने आफुहरुको माग रहेकोमा मान्द्रेढुंगा भएपनि पाउनु सकारात्मक भएको उनले बताए । पोखरामा मात्र ५५ वटा कम्पनीले वैधानिक रुपमा प्याराग्लाइडिङ गरिरहेका थिए । ती कम्पनीले दैनिक औसतमा ३ सय जनालाई उडाइरहेका थिए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?