+
+

प्रहरीलाई फिल्ममा नकारात्मक रुपमा चित्रण नगर्न प्रवक्ता राईको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते २०:२०

काठमाडौं । नेपाल प्रहरीले फिल्ममा प्रहरीलाई नकारात्मक रुपमा चित्रण नगर्न आग्रह गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित चलचित्रकर्मीसँगको अन्तक्रियामा प्रहरी प्रवक्ता टेकप्रसाद राईले यस्तो आग्रह गरेका हुन् ।

नकारात्मक रुपमा प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुन सक्ने चिन्ता उनले व्यक्त गरे । प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने बताउँदै उनले सकारात्मक रुपमा चित्रण गर्न आग्रह गरे ।

प्रहरीले आयोजना गरेको चलचित्रकर्मी र विज्ञसँगको अन्तक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्माता संघका अध्यक्ष नवल खड्का लगायत उपस्थित थिए ।

प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग आदानप्रदानको लागि यो अन्तरक्रिया आयोजना गरिएकोले चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न प्रहरी तत्पर रहेको बताए ।

चलचित्रमा सिर्जना र कथा मर्नु हुँदैन भन्नेतर्फ प्रहरी सजग रहेको बताउँदै उनले तल्लो दर्जाका प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गरे ।

बोर्ड अध्यक्ष भुवन केसीले फिल्म छायांकनको क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकंनस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । छायाकंन र हलमा फिल्म रिलिज भएपछि मोबाइलबाट दृश्य खिचेर इन्टरनेटमार्फत प्रसारण गरिदिनाले निर्माताको करोडौं नोक्सान भएकोले चिन्ता व्यक्त गर्दै यसलाई नियमन गर्न प्रहरीको सहयोगको अपेक्षा गरे । केसीले पाइरेसी र साइवर सुरक्षाको सम्बन्धमा व्यक्त गरेको चिन्ताप्रति लक्षित गर्दै प्रहरी प्रवक्ता राईले यस सम्बन्धमा साइबर व्यूरो मार्फत प्रभावकारी रुपमा काम गर्न सकिने बताए ।

पछिल्लो समयमा छायांकनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकोले यसको प्रयोगमा सहजीकरणको लागि पनि बोर्ड अध्यक्ष केसीले नेपाल प्रहरीलाई आग्रह गरे । प्रहरीको चरित्र देखाउँदा राष्ट्रकै प्रतिनिधित्व गर्ने भएकोले संवेदनशिल भई फिल्म बनाउन उनले आग्रह गरे ।

निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र निर्माणको क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्य सुधार गर्न प्रयत्नरत रहेको बताउँदै यसका लागि नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए अझ सहज हुने उल्लेख गरे ।

अभिनेता तथा निर्देशक नीर शाहले नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदानप्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिवद्धता व्यक्त गरे । केही संवेदनशील विषयमा निर्णय लिँदा त्यस क्षेत्रका विज्ञको आवश्यकता पर्ने उल्लेख गर्दै शाहले चलचित्रमा प्रहरीको चरित्र, प्रहरीसँग सम्बन्धित प्रसंग उल्लेख भएका संवेदनशील विषयमा सुधार गर्न चलचित्र सम्बद्ध व्यक्तिहरूसँग निरन्तर रूपमा अन्तरक्रिया हुनुपर्ने बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले चलचित्रमा देखाइने गरिएजस्तो प्रहरीले गर्ने क्रुर व्यवहारसँग सम्बन्धि दृश्य वास्तविक जीवनमा मानव अधिकारविरूद्धको कार्य भएकोले उक्त दृश्य देखाउनु सान्दर्भिक नहुने बताए ।

कार्यक्रममा सहभागीले चलचित्र निर्माणका दौरान प्रहरीको सन्दर्भमा महसुस गरेका अप्ठ्यारा र त्यसको सहजीकरणका लागि नेपाल प्रहरीको भूमिकाको बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तुअनुसार चलचित्रमा पक्राउ परेका व्यक्ति उपर कानुनसम्मत एवम् मानवोचित व्यवहार प्रस्तुत, चलचित्र छायाङ्कनपूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय लगायतका विषयमा, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री चलचित्र हलमा प्रसारण गर्ने पद्दतीको विकास लगायतका विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?