+
+

पब्जी विश्व च्याम्पियनसिप फाइनल आजदेखि, नेपालका दुई टिम खेल्दै

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ पुष २२ गते १७:३२

२२ पुस, काठमाडौं । इस्पोर्टस्को मुख्य बिधा पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । विभिन्न चरण पार गरी फाइनलमा छनोट भएका १६ टिमबीचको प्रतिस्पर्धाबाट आइतबार नयाँ विश्व विजेताको टुंगो लाग्नेछ ।

१० नोभेम्बर २०२२ देखि मलेसियाको क्वालालम्पुरमा सुरु भएको यो प्रतियोगितामा समूह चरण, सर्भाइभल चरण र लास्ट चान्समार्फत फाइनल चरणका लागि टिम छनोट गरिएको हो । इण्डोनेसियाको जकार्तामा हुने फाइनल चरणका खेलहरु नेपाली समयअनुसार शुक्रबार साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

४० लाख अमेरिकी डलर कुल पुरस्कार राशी रहेको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपालका तीनसहित ५१ टिमको सहभागिता थियो । उनीहरु आआफ्नो महादेशीय छनोट पार गरेर विश्व च्याम्पियनसिप खेल्न आएका हुन् ।

१० देखि २७ नोभेम्बरसम्म सञ्चालित समूह चरणमा ४८ टिमलाई समावेश गरिएको थियो । उनीहरुलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहमा १६ टिम थिए । समूहमा शीर्ष ३ टिम सिधै फाइनलमा पुग्दा चौथोदेखि ११औं स्थानका टिमले सर्भाइभल चरण खेल्नुपर्ने भयो । बाँकी पाँच टिम समूहबाटै बाहिरिए ।

तीन समूहबाट ८–८ गरी २४ टिमबीच ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म सर्भाइभल चरणमा प्रतिस्पर्धा भयो । तीमध्ये शीर्ष १६ टिम लास्ट चान्सका लागि छनोट हुँदा पुछारका ८ टिम बाहिरिए ।

लास्ट चान्सको प्रतिस्पर्धा ३ र ४ डिसेम्बरमा आयोजित थियो । यो चरणमा १६ टिम समावेश थिए । उनीहरुमध्येबाट शीर्ष पाँच टिमलाई फाइनल चरणमा प्रवेश गराइएको हो । सबै चरणका खेल मलेसियामा आयोजित थिए ।

तीन समूहका शीर्ष तीन गरी ९ टिम, लास्ट चान्सबाट आएका ५ र सिधा फाइनलमा आमन्त्रित दुई गरी १६ टिमबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । चीनको वुल्भ्स इस्पोर्टस र इण्डोनेसियाको अल्टर इगो लिम्याक्सलाई सिधा फाइनलमा आमन्त्रण गरिएको हो । यी दुई टिम नै उपाधिको मुख्य दावेदारसमेत हुन् ।

नेपालबाट टीटूके र डीआरएस खेल्दै

नेपाली टिमले विश्व च्याम्पियनसिप खेलेको यो तेस्रोपल्ट हो । यसअघि दुई पटक डीआरएस टिम समूह चरणमा पुगे पनि त्यसबाट माथि उक्लन सकेको थिएन । तर, यसपल्ट डीआरएससहित टीटूके र स्काइलाइट्सले समूह चरण पार गरे । टीटूकेले समूहमा शीर्ष तीनभित्र रहेर सिधै फाइनलमा स्थान बनायो । स्काइ लाइट्ज सर्भाइभल चरणबाट अघि बढ्न सकेन ।

टीटूके र डीआरएस भने फाइनल चरण खेल्दैछन् । एल्लो समूहमा परेको टीटूके समूहमा तेस्रो हुँदै सिधै फाइनल स्पर्धाका लागि छनोट भएको हो । यो पबजीमा नेपालकै सबैभन्दा ठूलो सफलतासमेत हो । समूह चरणमा तेस्रो भएपछि उसले ८० हजार अमेरिकी डलर पुरस्कार पायो भने सहभागिता खर्चका रुपमा १० हजार अमेरिकी डलरसमेत पाएको थियो ।

समूहमा छैटौं भएपछि डीआरएस सिधा फाइनल चरणमा पुग्न सकेन । तर, सर्भाइभल चरणमा सातौं हुँदै लास्ट चान्समा चौथो स्थान हासिल गरेर फाइनलमा पुग्न सफल तयो । समूहमा छैटौं भएबापत २० हजार, सर्भाइभलमा सातौं भएपछि २० हजार र लास्ट चान्समा चौथो भएपछि २२ हजार डलर गरी उसले कुल ६२ हजार डलर पुरस्कार पाइसकेको छ । सहभागिता खर्चका रुपमा १० हजार डलर पनि पाएको थियो ।

अर्को नेपाली टिम स्काइ लाइट्ज समूहमा नवौं हुँदै सर्भाइभल चरणमा पुगेको थियो । तर, सर्भाइभल चरणमा रहेका २४ मध्ये २१औं भएपछि यो टिम विश्वकपबाट बाहिरियो । समूहमा नवौं भएबापत १७ हजार र सर्भाइभलमा २१औं हुँदा ६ हजार गरी २३ हजार अमेरिकी डलर पुरस्कार पायो । सहभागिता खर्चका रुपमा उसले पनि १० हजार अमेरिकी डलर पाएको थियो ।

फाइनल चरण खेल्ने टीटूके टिममा अभिषेक सिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र ऋग्देन बज्राचार्य छन् । यस्तै डीआरएस टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापति, समीर गुरुङ र संगीन भट्टराई छन् ।

शुक्रबारदेखि फाइनल चरणमा पुगेका १६ टिमबीच प्रतिस्पर्धा सुरु हुनेछ । यो चरणमा हरेक टिमले १८ खेल खेल्नेछन् । हरेक खेलमा हासिल गरेको अंकका आधारमा सर्वाधिक अंक ल्याउने टिम विश्व च्याम्पियन बन्नेछ ।

४० लाख डलर कुल पुरस्कार राशीमध्ये फाइनल चरणका लागि १५ लाख डलर छुट्याइएको छ । त्यसबाहेक फाइनल खेल्ने टिमले सहभागिता खर्चका रुपमा प्रति टिम २० हजार अमेरिकी डलर पाउनेछन् ।

विश्व च्याम्पियन टिमले ४ लाख अमेरिकी डलर पुरस्कार पाउनेछन् । पहिलोदेखि १६औं स्थानसम्मका टिमलाई नगद पुरस्कार पाउने व्यवस्था छ । उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख २० हजार डलर पुरस्कार पाउनेछन् । फाइनल चरणमा अन्तिम अर्थात् १६औंै हुने टिमले पनि १५ हजार अमेरिकी डलर पुरस्कार पाउँछन् ।

चौथो हुने टिमले ८० हजार, पाँचौं हुनेले ५० हजार, छैटौं हुनेले ५० हजार, सातौं हुनेले ४२ हजार, आठौं हुनेले ३५ हजार, नवौं हुनेले ३२ हजार ५ सय र दशौं हुनेले ३० हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

११औंदेखि १६औं स्थानका टिमले क्रमसः २७ हजार ५००, २५ हजार, २२ हजार ५००, २० हजार, १७ हजार ५०० र १५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?