+
+

बुटवलमा दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते ९:२३

२३ पुस, बुटवल । बुटवलमा दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।

अब बुटवलमा यसअघि दर्ता भएका एक हजार २५६ वटा इ-रिक्सा मात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका इ-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको र दर्ता नभएका इ-रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा दर्ता नभएकालाई रोक लगाइएको हो ।

दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाउँदै सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन विनादर्ताका इ-रिक्सा सञ्चालनमा रोक लगाएको उनले बताए ।

नगरले तयार पारेको कार्यविधिअनुसार थप १८४ इ-रिक्सा दर्ता गर्न बाँकी रहेको र त्यस्ता इ-रिक्सा दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिने उनले बताए ।

बुटवलमा झण्डै चार हजार इ-रिक्सा सञ्चालनमा रहेका छन् । उपमहानगरको निर्णयपछि दर्ता नभएका इ-रिक्सालाई उपमहानगरपालिकाले पाँच हजार रुपैयाँका दरले जरिवाना लिन थालेको इ-रिक्सा मजदुर बागबहादुर बुढाले बताए ।

राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सहकार्य गर्न कार्यालय तयार रहेको बताए । उनले दर्ता नगरी सञ्चालन गरेका इ-रिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको व्यवस्थापन सुरु भएको बताए ।

उपमहानगरपालिका राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेलले बुटवलमा दर्ता भएर सञ्चालन भइरहेका इ-रिक्सालाई नियमन गर्ने, करको दायरामा ल्याउने र कानुनी दायरामा नआउनेलाई दर्ता खारेज गर्ने र नयाँ प्रक्रिया सुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?