+
+

कैलालीमा अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १९:५४

२३ पुस, धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीले अन्तर्घातका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षा अनुसार जित हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा तीन दिनसम्म चलेको समीक्षा बैठकले विभिन्न तहबाट पार्टीमा भएको अन्तर्घात चुनावी पराजयको मुख्य कारण भएको निचोड निकालेको हो ।

जिल्ला सचिव डेजी पाण्डेले पार्टीको आन्तरिक समस्या, तत्कालीन पाँच दलीय गठबन्धन, पार्टी फुटको असर, जातीय तथा क्षेत्रीय भड्कावलाई चिर्न नसक्नु र पार्टीको संगठन संरचनालाई तल्लो तहसम्म व्यवस्थित गर्न नसकिएका कारण प्रतिकुल नतिजा व्यहोर्नुपरेको निष्कर्ष निकालिएको बताए ।

पाण्डेका अनुसार चुनावमा पार्टीका उम्मेदवारका विरुद्धमा भएका गतिविधि र संलग्न नेता तथा कार्यकर्ताका बारेमा छानबिन गर्न कार्यदल बनाइएको छ । उपसचिव ममताप्रसाद चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलमा श्याम खत्री, धनञ्जय न्यौपाने, हितेश ओझा र वीरबहादुर साउद सदस्य छन् ।

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न एमालेको जिल्ला कमिटीले २१ पुसदेखि बैठक राखेको थियो । अब कार्यदलले प्रतिवेदन दिएपछि जिल्ला कमिटीको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीमा एमालेले प्रत्यक्षतर्फ कुनै पनि ठाउँमा चुनाव जित्न सकेन । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्रमध्ये १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टी र ४ र ५ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

प्रदेशसभाका १० निर्वाचन क्षेत्रमध्ये नागरिक उन्मुक्ति पार्टीले ५, नेपाली कांग्रेसले ३, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले १/१ क्षेत्र जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?