+
+

हत्या मुद्दाका दोषी गिरी २३ वर्षपछि पक्राउ, के थियो घटना ?

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष २४ गते २०:२३

२४ पुस, पोखरा । प्रहरीले २३ वर्षअघि ज्यान मुद्दामा दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३ नदीपुर घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने उमेशबहादुर गिरीलाई प्रहरीले शनिबार दिउँसो ४ बजे भरतपुरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार गिरी भरतपुर महानगरपालिका–१२, धनगडा मन्दिरनजिक नौरंगी टोलमा कोठा भाडामा लिएर बसेका थिए । गिरीलाई आइतबार जिल्ला अदालत कास्कीमा पेश गर्ने प्रहरीको भनाइ छ । उनलाई जिल्ला अदालत कास्कीले २०५८ सालमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

के थियो घटना ?

२०५६ सालको साउन २२ गते पोखराको तेर्सापट्टीस्थित ताज पुल हाउसमा पुल खेल्न जम्मा भएका युवाहरु बीच झगडा प¥यो । त्यस क्रममा धारिलो हतियार प्रहारबाट राजेश थकालीको मृत्यु भएको थियो ।

त्यतिबेला थकालीसँगै प्रेमकुमार पुन ‘पेले’, दीपक पुन ‘खेलेन’, कुमार पुन ‘श्याम’, आनन्द प्रधान, लक्ष्मीप्रसाद पराजुली, डिकप्रसाद पुन ‘डिके’ योगेश पुन, मोहन गाइने ‘पाण्डुवा’ पुरथ गौचन र उमेश गिरी थिए ।

उनीहरुले नै विवादका क्रममा थकालीलाई धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) ले टाउकोलगायत शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरेको जिल्ला अदालत कास्कीले ठहर गरेको थियो ।

घटनामा संलग्न सबै पक्राउ परे पनि उमेश गिरी फरार थिए । अनुसन्धान पश्चात जिल्ला अदालतले ०५८ चैत १ गते फैसला गर्र्दै प्रेम कुमार पुन ‘पेले’, आनन्द प्रधान, दीपक पुन ‘खेलेन’लाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो ।

त्यस्तै, सोही घटनामा संलग्न मोहन गाइने ‘पान्डुवा’, योगेश पुन, डिकप्रसाद पुन ‘डिके’, लक्ष्मीप्रसाद पराजुलीलाई ३ वर्ष कैद सजाय अदालतले सुनाएको थियो । फरार रहेका उमेश गिरीको हकमा अदालती बन्दोबस्ती १९० बमोजिम मुल्तबीमा रहने ठहर भएको थियो ।

मुल्तबीमा रहेको गिरीको मुद्दा मिति ०६६ साउन २७ गतेको आदेशले मुल्तबीबाट जागी दर्ता भएपछि मुद्दामा ०६६ फागुन २७ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । तर, उनी फरार रहेका कारण पक्राउ पर्न सकेका थिएनन् ।

२३ वर्षसम्म कहाँ थिए गिरी ?

२३ वर्षअघिको घटनामा संलग्न भएका गिरी घटनापश्चात लामो समयसम्म वैदेशिक रोजगारमा रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । गिरीले आफूलाई प्रहरीले खोजी सूचीमा राखेको थाहा पाएपछि पोखराबाट भागेर काठमाडौं गएको खुलेको उनले सुनाए ।

‘काठमाडौंबाटै सुरुमा कतार गएर करिब १०/१२ वर्ष, त्यसपछि इराकमा ३ वर्ष, त्यसपछि २ वर्ष अफगानिस्थान बसेको अनुसन्धानका क्रममा खुलेको छ’, प्रहरी निरीक्षक खड्काले भने, ‘करिब ७/८ वर्षअगाडि नेपाल आएर चितवनमा कहिले वर्कसप त कहिले वाइनसप खोलेर बसेको खुल्न आयो ।’

चितवन बसाइका क्रममा पनि गिरीले परिचय लुकाएका थिए । उनले आफूलाई विप्लव भनेर चिनाएका थिए ।

‘आमाबुवा युकेमा रहेको र आफू पनि युके जाने आउने गर्छु भनेर करिब ७ महिना भारत गएर बसेको पनि पाइयो’, खड्काले भने, ‘भारतबाट आएर करिब डेढ महिना अगाडिमात्रै त्यो ठाउँमा सीमा अधिकारीको घरमा कोठा भाडामा लिएर बस्न थालेका रहेछन् । त्यहींबाट पक्राउ गरिएको हो ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?