+
+

स्पट फिक्सिङमा क्यानकै साझेदार ‘सेभेन थ्री स्पोर्टस्’को संलग्नता आशंका

फिक्सिङबारे प्रश्न उठेपछि सञ्चालकले नेपाल छाडे

जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको केही आधारहरु फेला परेपछि सीआईबीले अहिले खेलाडीहरुसँग बयान मात्र लिएको छैन, उनीहरु बस्ने होटल, खेल मैदानदेखि हरेक गतिविधिमा निगरानी बढाएको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ पुष २४ गते २२:२०
सेभेन थ्री स्पोर्टसका सञ्चालक भारतीय नागरिक जतिन अहलुवालिया ।

२४ पुस, काठमाडौं । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको प्रारम्भिक निष्कर्षमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरु पुगेका छन् ।

प्रतियोगितामा लुम्बिनी अलस्टार र फारवेस्ट युनाइटेडबीच भएको दोस्रो खेलका केही गतिविधि शंकास्पद देखिएको सीआईबी स्रोतले अनलाइनखबरसँग बताएको छ । यो खेलमा संलग्न केही खेलाडीहरु पनि छानबिनको दायरामा परेका छन् । सुरुवाती दिनका थप खेलहरुबारे पनि सुक्ष्म विश्लेषण भइरहेको सीआईबी स्रोतको भनाइ छ ।

सीआईबीका अधिकृतहरुका अनुसार पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पट फिक्सिङ’ हो ।

ब्यूरोमा अनुसन्धान अधिकृतहरुको सुपरीवेक्षण गरिरहेका एसपी सञ्जयसिंह थापाका अनुसार क्रिकेटमा म्याच फिक्सिङ गर्नका लागि समग्र टिम, कोच, फिजियोथेरापिष्ट लगायत संलग्न नभई सम्भव हुँदैन । ‘अहिले खेलको निश्चित गतिविधिमा स्पट फिक्सिङ भएको आशंकामा अनुसन्धान गरिरहेका हौं’, ब्यूरोका प्रवक्तासमेत रहेका उनी भन्छन् ।

ब्यूरोले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर प्रतियोगितामा फिक्सिङ भएको हुन सक्नेबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार आयोजक नेपाल क्रिकेट संघ (क्यान) को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्कै संलग्नतामा फिक्सिङ भएको हुनसक्ने देखिएको छ ।

यसको उद्देश्य हारजितमा प्रभाव पार्ने नभई निश्चित गतिविधिमा फेरबदल गराएर सट्टेबाजीमार्फत असुली गर्ने देखिएको अधिकृतहरुको भनाइ छ । यसका लागि सट्टेबाजीमा प्रयोग गर्ने चर्चित वेवसाइट ‘वान एक्स वेट’ लगायतलाई प्रयोग गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ ।

जारी खेलमा स्पट फिक्सिङ भएको आशंकामा अनुसन्धान सुरु भएपछि सेभेन थ्री स्पोर्टस् कम्पनीका मालिक भारतीय नागरिक जतिन अहलुवालिया भारत गएका छन् । भारत पुगेर उनले नेपालमा आफूलाई सुरक्षा चुनौती भएको दाबी गरेका छन् । तर, ब्यूरो स्रोतका अनुसार समयमै हल्ला भएर अनुसन्धान सुरु भएपछि चाहे अनुसार रकम उठाउन नसक्दा अहलुवालिया भागेको देखिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ८ वर्षका लागि ३३ करोड रुपैयाँमा सेभेन थ्री स्पोर्टस्लाई टी–२० लिग आयोजनाको जिम्मा दिएको थियो । ‘यसरी जिम्मा लिएको कम्पनीले विज्ञापनबाट पैसा उठाउने हो तर, खेल मैदानमा हेर्नुभयो भने वान एक्स ब्याटबाहेक अरु विज्ञापन छैन । दर्शक पनि उल्लेख्य छैनन्’, ती अधिकृत भन्छन्, ‘त्यसैले सिधासिधी हेर्दा पनि खेल आयोजनाको जिम्मा लिएर फिक्सिङ र बेटिङबाट पैसा कमाउने उद्देश्य हुनसक्ने देखिन्छ ।’

क्यानको रणनीतिक र व्यवसायिक साझेदार भारतीय कम्पनी सेभन थ्री स्पोर्टसको प्रबन्ध पत्रमै सट्टेबाजी घरहरु सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

खेलमा प्रायोजक रहेको ‘वान एक्स ब्याट’ सट्टेबाजीका लागि चर्चित वेवसाइट ‘वान एक्स वेट’सँगै जोडिएको वेबसाइट भएको अधिकृतहरु बताउँछन् । ‘वान एक्स वेट प्रतिबन्धित भएकाले वान एक्स ब्याटबाट प्रचार गरिएको पाइएको छ’, एक अधिकृत भन्छन् ।

नेपाल टी–२० लिग आयोजनाका लागि क्यानले सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्दा नेपालमा आयोजना हुने खेलमा भारतीय कानून अनुसार सम्झौता भएको भन्दै विवाद भएको थियो । सम्झौतामा कुनै विवाद १५ दिनभित्र समाधान नभए भारतीय कानून अनुसार दिल्लीमा निरुपण गर्ने उल्लेख थियो । पहिलो पटक यो कम्पनीसँग भएको सम्झौता रद्द भएपनि दोस्रो पटक पुनः उसैले जिम्मा पाएको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जारी खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी छन् । तीमध्ये चार जना विदेशी र तीन जना नेपाली खेलाडी हालसम्मको अनुसन्धान अनुसन्धान अनुसार शंकाको घेरामा परेका छन् ।

‘उनीहरुको बयान पनि भइसकेको छ, थप खेलाडीलाई बयानका लागि बोलाउनुपर्ने छ’, ब्यूरो स्रोत भन्छ, ‘खेलमा नरोकियोस् भनेर अड दिनमा बोलाइरहेका छौं ।’ आइतबार पनि ब्यूरोमा केही खेलाडीको बयान लिइएको छ । नेपाल क्रिकेट संघका पदाधिकारीसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।

‘केही खेलाडीसम्म शंकास्पद रकम पुगेको देखिएको छ’, एक अनुसन्धान अधिकृतले भने, ‘त्यसको स्रोतबारे अनुसन्धान गरिरहेको छौं ।’ स्रोतका अनुसार क्रिकेटका पूर्वखेलाडीहरुमार्फत जारी लिगमा खेलिरहेका खेलाडीसँग एप्रोच गरिएको पाइएको छ । यसरी खेलाडीलाई दिइएको रकम १० लाख रुपैयाँभन्दा तल रहेको अनुसन्धान अधिकृतहरुको भनाइ छ ।

अधिकृतहरुका अनुसार खेलाडीसँग सम्बन्ध स्थापित गराउने कार्यमा देश तथा विदेशका पूर्वखेलाडीहरु जोडिएका छन् । ‘यो स्पट फिक्सिङको कनेक्सन नेपालमा मात्र सीमित देखिँदैन’, ती अधिकृत आशंका गर्छन् ।

उनका अनुसार यो सबै गतिविधि सेभेन थ्री स्पोर्टस्का मालिक जतिनकै योजनामा भएको हुनसक्ने देखिएको छ । ‘उनकै योजनामा खेलाडीहरुलाई एप्रोच गर्नेदेखि सबै काम भएको हुनसक्ने देखिएको छ’ ती अधिकृतले भने, ‘हालसम्म रकम दिने काममा जतिन अहलुवालिया प्रत्यक्ष जोडिएको नदेखिए पनि उनीसँग निकट रहेकाहरुको संलग्नता देखिएको छ ।’

कम्पनीले आफ्नो प्रबन्ध पत्रमा सट्टेबाजी घरहरु पनि सञ्चालन गर्ने उल्लेख गरेको पाइएको सीआईबीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द आफूहरुसँग साझेदार व्यक्ति वा संस्था जोसुकै भएपनि यस्ता गतिविधिमा संलग्न देखिए कारबाहीको भागीदार हुने बताउँछन् । भन्छन्, ‘फिक्सिङको कुरा त झन् शून्य सहनशीलताको नीति अपनाउँछौं ।’

आईसीसीसँग समन्वय

सीआईबी स्रोतका अनुसार जारी खेलमा फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपालमा भइरहेको गतिविधिबारे जानकारी लिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एन्टी करप्सन युनिटको प्रतिनिधित्व गर्दै दुई जना अधिकारी नेपाल आएका छन् ।

भारतीय मुलका अमेरिकी नागरिकसहित दुई जनाको टोलीले नेपाल क्रिकेट संघका पदाधिकारी, सीआईबीका निर्देशक उत्तमराज सुवेदी र अनुसन्धान अधिकृतहरुसँग छुट्टाछुट्टै भेट गरेको छ । भेटका क्रममा उनीहरुले जारी खेलमा स्पट फिक्सिङ भएको हुनसक्ने भन्दै सार्वजनिक विवरणहरुमाथि चासो राखेका छन् ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले नेपालमा भइरहेको अनुसन्धानबारे जिज्ञासा राखेका थिए । त्यसक्रममा ब्यूरोले गरेको अनुसन्धानबाट प्राप्त केही विवरणहरु पनि प्रहरी अधिकारीले आईसीसीसीका प्रतिनिधिलाई जानकारी गराएका थिए । ‘त्यतिञ्जेल स्पट फिक्सिङ हुनसक्ने शंका मात्र थियो, बलियो आधार फेला परिसकेको थिएन’, ती अधिकृत भन्छन्, ‘अहिले चाहिँ थप आधारहरु देखिएका छन् ।’

स्रोतका अनुसार यूएईस्थित आईसीसीको हेडक्वार्टरबाट आएको टोलीले नेपाल प्रहरीले यसमा गम्भीरतापूर्वक अनुसन्धान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका थिए । आईसीसीबाट नेपालमा खेलको सुरुवातबाटै वीर सिंह नामक व्यक्तिलाई एन्टी करप्सन अफिसर (एसीओ) का रुपमा खटाइएको थियो ।

उनी नेतृत्वको टोलीले खेलाडीहरुको बलिङ, ब्याटिङको प्याटर्न, मुभमेन्ट लगायतका विषयहरुमा सुक्ष्म अनुसन्धान गरिरहेको छ । ‘हरेक गतिविधिलाई स्लो मोसनमा हेरेर खेलाडीका विगतका गतिविधिलाई सिंह नेतृत्वको टोलीले छानबिन गरिरहेको छ’, स्रोत भन्छ ।

प्रहरीले सिंह नेतृत्वको टोलीसँग उनीहरुलाई प्राप्त विवरणबारे चासो राखेको थियो । तर, टोलीले सीआईबीलाई सूचना दिन इन्कार गरेको छ । ‘हामीलाई खेलको प्राविधिक ज्ञान धेरै नहुने भएकाले सहयोग खोजेका थियौं, तर सिधै सीआईबीलाई सूचना दिन मानेनन्’, एक अधिकृत भन्छन्, ‘चेन अफ कमाण्ड अनुसार एन्टी करप्सन युनिट हुँदै आईसीसीसम्म पुगेपछि मात्रै विवरणहरु दिने भन्ने कुरा भएको छ ।’

आईसीसीका प्रतिनिधिसँग भएको छलफलका क्रममा पनि उनीहरुले अध्ययन पूर्ण रुपमा सकिएपछि मात्रै विवरण उपलब्ध गराउने बताएका थिए । ब्यूरोका निर्देशक उत्तमराज सुवेदीका अनुसार अहिले गठन भएको टोलीले खेल सकिएपछि छानबिन प्रतिवेदन बुझाउने छ । प्रतिवेदनमा फिक्सिङ भएको देखिए त्यसमा संलग्नहरुविरुद्ध मुद्दा चलाइने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुवेदी बताउँछन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार प्रारम्भिक अनुसन्धानमा देखिएका विवरण अनुसार यो प्रकरण मुद्दा दर्तासम्म पुग्ने निश्चित जस्तै देखिएको छ । त्यो स्थितिमा सेभेन थ्री स्पोर्टका सञ्चालक अहलुवालियासहितका केही व्यक्तिहरुविरुद्ध राष्ट्र हितविरुद्धको कसूरमा मुद्दा अघि बढ्ने अधिकृतहरुको दाबी छ ।

सीआईबीको कडा निगरानी

उत्तम सुवेदी, निर्देशक, सीआईबी । फाइल फोटो ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सट्टेबाजी (बेटिङ) हुनसक्ने आशंकामा नेपाल क्रिकेट संघ (क्यान) ले निगरानी राखिदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोलाई पहिल्यै पत्राचार गरेको थियो । पत्रका आधारमा ब्यूरोले एक जना प्रहरी निरीक्षकको नेतृत्वमा टोली नै खटाएको थियो ।

खेल चलिरहेका बेला काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको मल्लले बताएका थिए ।

मल्लले भन्दा अगाडि नै प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए । त्यसपछि बुधबार ब्यूरोलाई अनुसन्धान गर्न लिखित पत्र प्राप्त भएको थियो ।

‘त्योभन्दा अगाडिबाटै अनुसन्धान भइरहेको थियो, पत्र प्राप्त भएपछि थप टोली परिचालित गरेका छौं’, एक अधिकृत भन्छन् । अहिले ब्यूरोको सादा पोशाकको टोली खेल मैदान, खेलाडी बस्ने होटलदेखि हरेक स्थानमा परिचालित छ ।

अधिकृतहरुका अनुसार खेल हेर्ने दर्शकमा अधिकांश भारतीय नागरिक छन् । मैदानमै बसेर सट्टेबाजीमा संलग्न कम्तीमा ५० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । ‘तर, सट्टेबाजीमा संलग्नमाथि निगरानी बढाइरहेका बेला स्पट फिक्सिङ नै भएको हुनसक्ने देखियो, जुन दुखद् हो’, ती अधिकृत भन्छन् ।

नेपाली खेलाडीको संलग्नता हुनु दुखद् : अध्यक्ष चन्द

चतुरबहादुर चन्द ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले स्पट फिक्सिङमा नेपाली खेलाडीको नाम मुछिनु चिन्ताको विषय भएको बताएका छन् । उनले प्रहरी अनुसन्धानमा क्यानले पूर्णरुपमा सहयोग गर्ने पनि बताएका छन् ।

‘हाम्रा खेलाडीहरुको पनि संग्लग्नता देखिनु धेरै नै चिन्ताको विषय हो, सकेसम्म नियन्त्रणको प्रयास गरेका हौं’, चन्दले अनलाइनखबरसँग भने, ‘विदेशका ठूला फ्रेन्चाइज लिगहरुमा पनि अप्रोच त भएको सुनिन्छ । तर, अप्रोच हुनु र फिक्सिङ नै हुनु फरक विषय हुन् ।’

क्यानले गठन गरेको एन्टी करप्सन युनिट (एसीयू) र सीआईबीका अफिसरबीच सुरुदेखि नै समन्वय गराएको पनि उनले बताएका छन् । ‘यस्ता सम्भावित हर्कतबारे पहिला नै सचेत थियौं । सीआईबीले सुरुदेखि नै हेरिरहेको थियो । फिक्सिङ र बेटिङका हल्लाहरु बढेपछि उहाँहरुले पनि अफिसर बढाएर अनुसन्धान गर्नुभएको हो,’ अध्यक्षले भने, ‘हाम्रो एसीयू टिमले दिएको रिपोर्टहरुकै आधारमा उहाँहरुले अुनसन्धान गरिरहनुभएको छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?