+
+

गण्डकीमा खगराज मुख्यमन्त्री बन्दा को–को बन्दैछन् मन्त्री ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १३:३४

२५ पुस, पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ दलहरुको समर्थनमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै छन् ।

पुस २१ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ गते दिउँसो ४ बजेभित्र दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले दाबी पेश गर्न आह्वान गरेका थिए ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, नेकपा माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थन लिएर खगराजले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्दै छन् ।

एमाले संसदीय दल स्रोतका अनुसार मुख्यमन्त्री खगराजसँगै ४ जना मन्त्री नियुक्त भएर शपथ खाने छन् ।

नेकपा एमालेबाट खगराजसँगै यसअघि पृथ्वीसुब्बा नेतृत्वको सरकारमै अर्थमन्त्री बन्ने तयारी गरेका तर किरण गुरुङ हुने भएपछि अवसर नपाएका नवलपुरका रोशन गाहामगर मन्त्री हुने पक्का छ ।

नवलपुर १ को प्रदेश सभा २ बाट दोस्रो पटक निर्वाचित गाहामगरले यसअघि नै रोजेको अर्थ मन्त्रालय पाउन सक्ने नेताहरुको भनाइ छ ।

गाहामगर यसअघि पृथ्वीसुब्बा नेतृत्व सरकार ढलेपछि गण्डकी प्रदेश संसदको सार्वजनिक लेखा समिति सभापति बनेका थिए ।

नेकपा माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमानको नेतृत्वमा सरकार जाने पक्काजस्तै भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका चुमानले मुख्यमन्त्रीसँगै सपथ लिने छन् ।

तनहुँ–१ को प्रदेश सभा २ बाट निर्वाचित चुमानले गण्डकीमा माओवादीमा भागमा पर्दा मुख्यमन्त्रीको दाबी गरिरहेका थिए ।

चुमानसँगै सुशीला सिम्खडाले पनि मन्त्री हुने छिन् ।

गण्डकी प्रदेश सभामा समानुपातिक प्रणालीबाट २ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको नेता पञ्चराम तमु मन्त्री हुने भएका छन् ।

विभिन्न देशमा बसेर फर्किएका पञ्चराम पोखरामा रेस्टुरेन्ट व्यवसायसमेत गर्दै आएका छन् । उनी राप्रपाका गण्डकी प्रदेश अध्यक्षसमेत हुन् ।

गण्डकी प्रदेशमा यसअघि जनमोर्चाका ३ सांसद थिए । यसपटक जनमोर्चा निल हुँदा राप्रपाबाट २ सदस्यको इन्ट्री भएको हो ।

राप्रपाबाट अर्की विन्दु पहाडी पनि मन्त्रीको दाबेदार थिइन् तर दुबै जनाले सुविधाकै पद पाउने भएकाले पञ्चरामलाई नै मन्त्रीका रुपमा पठाउने पक्का भएको एक नेताले बताए ।

गण्डकीमा कांग्रेसका २७ सांसद छन् भने स्वतन्त्र चुमान जितेर एकीकृतमा प्रवेश गरेका अर्का एक राजीव गुरुङ (दीपक मनाङे) पनि छन् ।

नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?