+
+

संसदीय राजनीति फापेका जम्कट्टेललाई मुख्यमन्त्री बन्ने मौका

यसपटक चुनाव नेपाली कांग्रेससँगको गठबन्धनबाट जिते पनि एमालेकै समर्थनमा उनी मुख्यमन्त्रीमा विजयी भएका हुन् । सत्ता गठबन्धनका नेताहरूले गरेको भनिएको सहमतिअनुसार उनी अढाई वर्ष मात्र मुख्यमन्त्री बन्नेछन् । त्यसपछि प्रदेशको नेतृत्व एमालेका कुनै नेताले गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १६:५०

२५ पुस, काठमाडौं । शालिकराम जम्कट्टेलले झण्डै साढे तीन दशक राजनीतिमा बिताए । पार्टीभित्र सधैं संस्थापन पक्षमा उभिँदै आएका यी ४९ वर्षीय नेताले फरक मतप्रति असहिष्णु नेताको परिचय बनाएका छन् । मजदुर संगठनको नेतृत्व सम्हाल्दा पार्टीभित्रका फरक मतप्रति उनी निर्मम बने । यहीक्रममा उनी भौतिक आक्रमणमा पनि परे ।

राजनीतिक जीवनको लामो समय मजदुर आन्दोलनमा बिताएका जम्कट्टेल नेता-कार्यकर्तासँग सम्बन्ध बनाउन सिपालु मानिन्छन् । मिल्दा लपक्कै हुने, तर प्रतिस्पर्धा गर्नुपर्दा खेलको नियमभन्दा बाहिर पुग्ने उनको छवि बनेको छ ।

१ फागुन २०५२ मा तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र युद्ध घोषणा गर्दा शालिकराम जमकट्टेल २२ वर्षका जवान थिए । सोही दिनबाट उनी पार्टीमा पूर्णकालीन बने ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण काम र अध्ययनलाई सँगसँगै अगाडि बढाउनु परेका उनी २०४८ सालमा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला समिति सदस्य बनेका थिए । उनको राजनीतिक जीवन भने १४ वर्षकै उमेरमा सुरु भएको थियो, अनेरास्ववियु छैटौंको सदस्यको रूपमा ।

धादिङको किरानचोकमा जन्मिएका जम्कट्टेलले गाउँमै निमावि र गजुरीको आदर्श उच्च माविबाट माध्यमिक तहको अध्ययन पूरा गरे । काठमाडौं आएर कानुनमा स्नातक गरेका उनले मजदुर संगठनबाटै राजनीतिलाई अगाडि बढाए ।

२०६० सालमा माओवादीको मजदुर भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका उनी झण्डै एक दशकसम्म सोही जिम्मेवारीमा रहे ।

संसदीय राजनीति

भूमिगतकालीन राजनीतिमा जेलनेल र युद्धका अनुभव सम्हालेका जम्कट्टेलले शान्तिपूर्ण राजनीतिका आधाआधी समय मजदूर आन्दोलनको नेतृत्व गर्दै बिताए । सडकको बलमा सत्ता राजनीतिमा प्रवेश गरेका उनको संसदीय राजनीति फलिफाप सिद्ध नै देखिएको छ ।

उनको संसदीय राजनीतिक यात्रा २०६३ मा पुनर्स्थापित प्रतिनिधिसभाबाट सुरु भयो । ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनले साविक धादिङ निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नै शैक्षिक गुरु राजेन्द्र पाण्डेलाई पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी उनै पाण्डेसँग पराजित भए । बृहत शान्ति सम्झौतापछि यही पाँच वर्ष मात्रै उनी संसद बाहिर रहे ।

२०७४ मा धादिङ क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्यमा उठेर जितेका जम्कट्टेलले बागमती प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतृत्व गरे । २०७९ को निर्वाचनमा पनि उही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भए ।

मुख्यमन्त्री सपना

यसबीचमा अधिकांश समय मन्त्रीको जिम्मेवारीमा रहेका जम्कट्टेल यसपटक बागमती प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री बन्ने सपना पूरा गर्न उनले धेरै मेहनत र धैर्य गर्नुपर्‍यो ।

२०७४ मा नेकपा (एमाले)सँगको गठबन्धनमा प्रदेशसभा सदस्यमा बनेसँगै उनले मुख्यमन्त्रीमा दावी गरेका थिए । तत्कालीन नेकपाभित्रको विवादका कारण मुख्यमन्त्री सपना पूरा हुन नसके पनि उनी अधिकांश समय सरकारमै रहे ।

वाग्मती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको मन्त्रीमण्डलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका जम्कट्टेल त्यसपछि राजेन्द्र पाण्डे नेतृत्वको मन्त्रिमण्डलमा आर्थिक मामिला तथा योजना मन्त्री बने ।

दोस्रो प्रदेशसभा निर्वाचन जितेसँगै उनले पार्टीको संसदीय दलको नेता बन्न पार्टीभित्रै पापड पेल्नुपर्‍यो । संसदीय दलको नेतामा प्रतिस्पर्धी बनेका माओवादी केन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीलाई जम्कट्टेलले पार्टी हेडक्र्वाटरको सहयोगमा पाखा लगाए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा धादिङ जिल्ला ईञ्चार्जको जिम्मेवारीमा समेत रहेका जम्कट्टेल माओवादी केन्द्रका २१, एमाले २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थनमा मुख्यमन्त्रीमा निर्वाचित भएका हुन् । ११० सदस्यीय वागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।

यसपटक चुनाव नेपाली कांग्रेससँगको गठबन्धनबाट जिते पनि एमालेकै समर्थनमा उनी मुख्यमन्त्रीमा विजयी भएका हुन् । सत्ता गठबन्धनका नेताहरूले गरेको भनिएको सहमतिअनुसार उनी अढाई वर्ष मात्र मुख्यमन्त्री बन्नेछन् । त्यसपछि प्रदेशको नेतृत्व एमालेका कुनै नेताले गर्नेछन् ।

जसरी संसदीय दलको नेता बन्न उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ अपरिहार्य थियो, त्यसरी नै गठबन्धनको भागबन्डामा पनि उनलाई पार्टीका साथ चाहिन्थ्यो । चर्को रस्साकस्सीका बावजुद पनि जम्कट्टेलले आधा कार्यकालकै लागि भने पनि पार्टी नेतृत्वको साथ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?