+
+

गण्डकीका मुख्यमन्त्री खगराजका ३ सारथि

अमृत सुवेदी अमृत सुवेदी
२०७९ पुष २५ गते १८:०८

२५ पुस, पोखरा । ‘मेरो रोजाइ संघमै हो’ भन्दै-भन्दै प्रदेश झरेका नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी अन्नत गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएर शपथसमेत लिइसकेका छन् ।

चुनाव लड्दै गर्दा गण्डकीको मुख्यमन्त्री बन्न प्रतिकुल देखेर प्रतिपक्षमै बस्न मानसिक हिसाबले तयार भएका खगराजलाई एकाएक राष्ट्रिय सत्ता समीकरणले परिस्थिति अनुकुल भइदियो ।

गण्डकी प्रदेशमै फेरि मुख्यमन्त्री हुने चाहना राखेका पृथ्वीसुब्बा गुरुङले संघमा टिकट पाउँदा कास्की १ को प्रदेश सभा १ बाट चुनाव जितेका अधिकार सर्वसम्मत दलको नेता हुँदै मुख्यमन्त्री बने ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, राप्रपा र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका उनले ३ जना बिना विभागीय मन्त्री पनि नियुक्त गरेका छन् ।

एमालेबाट सीता सुन्दास, माओवादी संसदीय दलका नेता हरि चुमान र राप्रपाका दलका नेता पञ्चराम तमुलाई उनले मन्त्री नियुक्त गरेका हुन् । सुन्दार, चुमान र तुम तीनै जनाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेकी सुन्दास यसअघि जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख थिइन् भने समितिहरुको राष्ट्रिय महासंघमा संस्थापन अध्यक्ष बनेकी थिइन् । विद्यार्थी राजनीति हुँदै राजनीतिमा आएकी सुन्दासले स्याङ्जा १ को प्रदेश सभा १ बाट चुनाव जितेकी हुन् ।

‘सुरुमै महिलासहितको मन्त्रिपरिषद बनाउँदा समावेसी देखिन्थ्यो, त्यसैमाथि दलित पनि हुँदा पहिलो रोजाइमा सुन्दास परेकी हुन्,’ एमालेका एक नेताले भने । एमालेबाट पहिलो चरणमै रोशन गाहामगरलाई पनि मन्त्री बनाउने तयारी थियो तर दोस्रो चरणमा प्रमुख मन्त्रालयसहित गाहामगरलाई मन्त्री बनाउने गरी सुन्दासलाई नियुक्त गरेका हुन् ।

माओवादी संसदीय दलका नेता चुमान दोस्रो पटक प्रदेश सभामा छिर्दै दोस्रो पटक नै मन्त्री बनेका हुन् । माओवादीका केन्द्रीय सदस्यसमेत रहेका चुमान यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । तर, नेकपा विवादमा पार्टी विभाजन भएपछि उनले राजीनामा थिए । उनी यसपटक मुख्यमन्त्रीको दाबेदार थिए । पूरै कार्यकाल एमालेलाई दिइएकोमा असन्तुष्टी जनाएका चुमान तनहुँ १ को प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् ।

सशत्र संघर्षदेखि माओवादी आन्दोलनमा लागेका चुमान तनहुँ जिल्ला इन्चार्ज थिए । उनी मोहन वैद्य, देव गुरुङहरुसँगै २०७० सालको चुनाव बहिष्कार गर्दै माओवादीबाट अलग्गिएका थिए । तर, रामबहादुर देवसँगै माओवादीमै फर्किएर २०७४ को प्रदेश सभा सदस्य बनेका थिए ।

धेरै ठाउँमा माओवादीले पराजय बेहोर्दा चुमानले भने दोस्रो पटक चुनाव जितेर फेरि दलको नेता हुँदै मन्त्री बनेका छन् । उनले भौतिक पूर्वाधार मन्त्रालय पाउने सम्भावना छ । गण्डकीमा माओवादी यस्तो पार्टी हो, सरकार परिवर्तन भए पनि सधैं सत्ता पक्षमै छ ।

राप्रपाबाट मन्त्री बनेका पञ्चराम तमु गण्डकी प्रदेश अध्यक्षसमेत हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट पहिलो पटक सांसद पाएको राप्रपामा तमुको नाम जनजातितर्फ १ नम्बरमा थियो । तमुसँगै राप्रपाबाट विन्दु पहाडी पनि सांसद छन् ।

विभिन्न देश गएर फर्केका तमु पोखरामा रेस्टुरेन्ट व्यवसायसमेत गर्दै आएका छन् । केही वर्षअघिमात्रै राप्रपामा लागेका तमु अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि नजिक छन् । अघिल्लो पटक चुनावमा राम्रो नतिजा नल्याएको राप्रपाले यसपटक प्रत्येक्ष जित्न नसके पनि २ सांसदसहित गण्डकी प्रदेश सभा छिरेको हो । अघिल्लो पटक ३ सिट जितेको राष्ट्रिय जनमोर्चा यसपटक गण्डकीमा शून्य छ ।

सुरुमा ४ सदस्यीय मन्त्रीपरिषद गठन गरेका खगराजले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद बिस्तार गर्ने उनीनिकट स्रोतको भनाइ छ । सरकार नै धरापमा परेपछि पृथ्वीसुब्बाले ७ मन्त्रालयबाट बढाएर ८ हुँदै ११ सम्म पु¥याएका थिए । कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या १२ पुर्‍याएका थिए ।

यसपटक भने खगराजले मन्त्रालयको संख्या घटाउने बताएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि खगराजले आफूहरुमाथि असाधारण जिम्मेवारी प्राप्त भएको र सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशको औचित्य सावित गर्ने बताएका छन् । उनले जनताले धेरै मन्त्रालय नचाहेकाले त्यो संख्या घटाउने उनको भनाइ थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?