+
+
Shares

उर्दु भाषामा नेपाली कविता अनुवाद संग्रह प्रकाशन

रासस रासस
२०७९ पुष २६ गते १९:०७

२६ पुस, काठमाडौं । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ ।

सङ्ग्रहमा धरणीधर कोइरालाको नेपाल, महानन्द सापकोटाको अब, लेखनाथ पौड्याल-पिँजराको सुगा, गोपालप्रसाद रिमालको आमाको सपना, सिद्धिचरण श्रेष्ठको आफ्नो परिचय, भवानी भिक्षुको दुःखको कथा, केदारमान व्यथितको चङ्गा, माधवप्रसाद घिमिरेको काली गण्डकी, विजय मल्लको छोरीलाई नक्सा पढाउँदा, भीमनिधि तिवारीको जाग एसिया जाग, मोहन कोइरालाको सारङ्गी, जगदीश शम्सेर राणाको केटी शहर जान्छे, पारिजातको वरको रुख, भूपी शेरचनको मैनबत्तीको शिखा कविता समेटिएका छन् ।

यस्तै ईश्वर वल्लभको क्रुर विचारको कथा, वाशु शशीको एउटा यस्तो फूल चाहिएको छ, द्वारिकालाल श्रेष्ठको यी आँखाले खोजेका, वैरागी काइँलाको विवाहित महिला कामदारको डायरी, रत्न शम्सेर थापाको एक अन्त्यहीन यात्रा, कृष्णभक्त श्रेष्ठको मेरो पिँढी, तुलसी दिवसको बलेको दियोको तेल, कालीप्रसाद रिजालको मेरो इच्छा, हरिभक्त कटुवालको यो जिन्दगी खै के जिन्दगी उक्त उर्दू भाषाको कविता संग्रहमा संग्रहित गरिएका छन् ।

त्यस्तै उपेन्द्र श्रेष्ठको अँध्यारो र उज्यालोको कथा, भवानी घिमिरेको असल विचार, कुन्दन शर्माको एउटा लामो बाटो, मदन रेग्मीको तिमी समुन्द्रको नजिक र टाढा, विमल कोइरालाको फल मुन्तिया, एसपी कोइरालाको सुरूवात, हरि अधिकारीको अधिकारको पूजा, पुरुषोत्तम सुवेदीको लडाइँको पक्षमा, व्याकुल माइलाको काठमाण्डुमा हुने परिवर्तन, दिनेश अधिकारीको जाती, नवराज लम्सालको हरसालको एक उच्च हल्ला खल्ला, मोमिलाको आफ्नो राष्ट्रिय मौन आवाजमा जस्ता १०८ वटा कविताको उर्दु भाषामा अनुवाद गरिएको छ ।

कविताहरूको अनुवाद जिया-उल-मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले गरेका हुन् । बाहिरी आवरणसहित तीन सय ८५ पृष्ठको उक्त कविता सङ्ग्रहको अनुवादमा पछिल्ला एक सय वर्षमा लेखिएका नेपालका साहित्यकारका कविताहरु समेटिएका छन् ।

पाकिस्तानको राष्ट्रभाषामा नेपालका साहित्यकारहरूको रचना प्रकाशन हुँदा नेपाली साहित्यकारहरुको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साथै यसबाट पाकिस्तानी साहित्यकारहरूलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर मिल्नुका साथ दुई मित्र देशबीच साहित्यका माध्यमबाट सहयोग अदान-प्रदान हुने एवं द्विपक्षीय समझदारी वृद्धिमा समेत मद्दत मिल्ने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली कविताहरूको अनुवाद प्रकाशनको कार्यमा नेपाली राजदूतावास, इस्लामावादले सहजीकरण गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?