+
+

ओली र प्रचण्डको सहमतिमा कर्णालीको संशोधन

यज्ञ खत्री यज्ञ खत्री
२०७९ पुष २७ गते २१:२५
मुख्यमन्त्री राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यमलाल कँडेल

२७ पुस, सुर्खेत । नेकपा माओवादी केन्द्रले पाँचै वर्ष कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने पार्टी केन्द्रको निर्णय कर्णालीका नेताहरुले सच्याएका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच प्रदेश स्तरमा जुटेको सहमति अनुसार, अब संघीय सरकारजस्तै प्रदेशसभाको ५ वर्षको कार्यकालमा कर्णालीमा पनि एमाले र माओवादीबाट आलोपालो मुख्यमन्त्री हुनेछन् ।

पहिलो चरणको नेतृत्व गर्ने गरी बुधबार नै माओवादी केन्द्रका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका छन् । शर्मालाई मुख्यमन्त्री बनाउन एमालेका १३, माओवादी केन्द्रका १०, एकीकृत समाजवादी र राप्रपाका एक/एक सांसदले समर्थन गरेका छन् । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भने माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष गर्ने सहमति जुटेको थियो । त्यही अनुसार, माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीको तयारी गरेका थिए ।

तर प्रदेश प्रमुख तिलक परियारले संयुक्त सरकारको दावी गर्न दिएको समय सकिने अन्तिम दिन बुधबार एमाले नेताहरुले आलोपालो नेतृत्वको शर्त राखे । त्यसअघि नै एमाले प्रदेश संसदीय दलका नेता यमलाल कँडेलले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका थिए । आफ्नै पार्टीको केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका कँडेलले बुधबार माओवादी केन्द्रका नेताहरुसँग पनि निशर्त समर्थन गर्न नसकिने अडान लिए ।

कँडेलले सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय लिने अधिकार संसदीय दलको बैठकबाट आफैंमा राखेका थिए । प्रदेश इन्चार्ज र दलको नेता कँडेलले पनि त्यही अधिकार प्रयोग गरी माओवादी केन्द्रका नेताहरुसँग आलोपालोको शर्त अगाडि सारेका थिए ।

जबकी माओवादी केन्द्रका नेताहरु भने मुख्यमन्त्रीमा दावी गर्ने अन्तिम दिन भएकाले मन्त्रालय संख्याबारे सहमति जनाउन एमाले पार्टी कार्यालय पुगेका थिए । तर विरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालय पुगेका माओवादी नेताहरुलाई कँडेलले आफ्नो शर्त पूरा नभए कांग्रेससँग मिलेर सरकार बनाउने चेतावनी दिए ।

पार्टी केन्द्रको निर्णयले माओवादी केन्द्रका नेताहरुले पनि उस्तै शैलीमा अडान लिए । माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले पनि कँडेलले जस्तै कांग्रेससँग सरकार बनाउने चेतावनी दिए ।

दुवै पक्ष अडानमै रहँदा दिनभर सम्वाद चलिरह्यो । अन्ततः दिउँसो ४ बजे माओवादी केन्द्र आलोपालोको शर्त मान्न सहमत भयो । ‘यता दावी पेश गर्ने समय घर्किदै गयो । मान्दै नमानेपछि आलोपालो सहमति गर्न बाध्यय भइयो’, बैठकमा सहभागी माओवादीका एक नेता भन्छन् । माओवादी केन्द्रका नेताहरु आलोपालोमा सहमति भएपछि एमाले नेताहरुको समर्थनमा शर्मा मुख्यमन्त्री नियुक्त भएका छन् ।

त्यसका लागि प्रदेशस्तरमा दुई पार्टीबीच चार बुँदे सहमति नै भएको छ । सहमतिअनुसार, पहिलो अढाइ वर्ष माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ । दोस्रो बुँदामा मन्त्रालय घटाउने निर्णय भएको छ । यसअघि ८ रहेको मन्त्रालय संख्या सात बनाउने सहमतिसँगै मन्त्रालय भागबण्डा पनि भएको छ ।

मुख्यमन्त्रीसहित माओवादी केन्द्रले चार र एमालेले तीन मन्त्री पठाउनेछन् । बाँकी विषयमा फेरि छलफल गर्ने निर्णय पनि सहमतिपत्रमा उल्लेख छ ।

०७४ को चुनावपछि पनि कर्णाली सरकारको नेतृत्व माओवादी केन्द्रले नै गरेको थियो । तर बीचैमा एमाले नेता कँडेलले विश्वासको मत फिर्ता लिने, अविश्वासको मत लैजाने लगायत गतिविधि गरेपनि असफल भएका थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता भंग भएपछि भने कर्णाली सरकारको नेतृत्व कांग्रेसको हातमा गएको थियो ।

गत मंसिरको चुनावमा पनि एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । तर चुनावी नतिजा पछि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा बदलिएको शक्ति समीकरणका कारण कर्णाली प्रदेश माओवादी केन्द्रको भागमा परेको थियो ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?