+
+

नास्टले रोक्यो टीएलडी सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १४:५२

२८ पुस, काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले दुई सातादेखि थर्मो लुमिनेसेन्ट डोसिमिटर (टिएलडी) सेवा बन्द गरेको छ । स्वास्थ्य संस्थामा एक्सरे वा सिटीस्क्यान कक्षमा काम गर्ने स्वास्थ्यकर्मी विकिरणको जोखिममा पर्ने हुन्छन् ।

विकिरण आउने उपकरण प्रयोग गर्दा स्वास्थ्यकर्मीले टीलडी कार्ड लगाउने गर्छन् । शरीरले कति रेडियसन लिइरहेको छ भन्ने रेकर्ड उक्त कार्डमा रहन्छ । त्यसपछि उक्त उपकरणलाई रिडर मेसिनमा राखेपछि मानिसको शरीरमा रेडियसनको मात्रा कति छ भन्ने सबै विवरण देखिन्छ ।

नास्टका वैज्ञानिक डा. बुद्धराम साह र डा. विपिन मुल्मीले परीक्षणको काम गर्दै आएका थिए । उनीहरू दुवै जना अध्ययनका लागि अमेरिका र जापान गएपछि सेवा प्रभावित भएको नास्टले जनाएको छ ।

विज्ञहरूका अनुसार मानिसको शरीरले वर्षमा २० मिलिसिभरभन्दा बढी रेडियसन लिनु हुँदैन । २० मिलिसिभरभन्दा बढी शरीरमा रेडियसनको मात्रा हुनु खतरा मानिन्छ । जसले गर्दा मानिसमा क्यान्सर, ट्युमर लगायतको जोखिम हुनेगर्छ ।

विकिरण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले तीन-तीन महिनामा आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

अहिले नास्टसँग जम्मा १५ सय वटा टिएलडी उपकरण छन । जसमध्ये १४ सय टिएलडी उपकरण विभिन्न अस्पताललाई दिइएको छ । बाँकी सय वटा भने नास्टले अनुसन्धानका लागि आफूसँगै राखेको छ ।

अहिलेलाई यो काम गर्ने अधिकार नास्टलाई मात्र छ । नास्टमा उक्त सेवा नपाएपछि अहिले केही अस्पताल र निजी क्षेत्रले भारतमा लगेर परीक्षण गर्नुपर्ने बाध्यता छ ।

यो उपकरण प्रयोग गर्न दिएबापत नास्टले सरकारी अस्पतालको लागि ७५० र निजी अस्पतालको लागि १००० रुपैयाँ लिने गरेको छ ।

तर, नास्टले निजी कम्पनीमार्फत परीक्षण गराउने नियतले सेवा बन्द गराएको भौतिकशास्त्री रुद्र खनालले दाबी गरे ।

‘टिएलडी सेवा भनेको एकदिन पनि बन्द हुनु हुँदैन । तर, सेवा लिने आउने सेवाग्राहीलाई रिसेप्सनबाट फर्काउने गरिएको छ,’ उनले भने, ‘एक जना अनुसन्धानकर्तालाई राख्ने हो भने सेवा सञ्चालन गर्न सकिन्छ । तर, यो सेवा बन्द गर्नुमा नियत अर्कै देखिन्छ ।’

लामो समयदेखि टिएलडी सेवा ठप्प भए पनि नेतृत्वले भने यो सेवा सुचारू गर्न कुनै पहलकदमी नलिएको उनको भनाई छ । नास्टका प्रवक्ता रवीन्द्र ढकालले अहिले टिएलडी सेवा बन्द भएको स्वीकार गरे । ‘यहाँ काम गरिराख्नु भएका जनशक्ति अध्ययनको क्रममा विदेशमा हुनुहुन्छ ।

अनुसन्धानको क्रममा बाहिर गएकाले कसलाई जिम्मेवारी नतोकिएका कारण सेवा रोकिएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘ हामीले पुरै सेवा बन्द गरेको होइन । हामीले केही दिनभित्रैमा जनशक्ति राखेर सेवा सहजीकरण गर्न लागेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?