+
+

कतै पिचमाथि पिच, कतै खाल्डै–खाल्डा

अमृत चिमरिया अमृत चिमरिया
२०७९ पुष २८ गते १९:२५

२८ पुस, काठमाडौं । बानेश्वर चोकबाट शंखमूलतर्फ गइरहेको ट्याक्सी मंगलबार खाल्डोमा परेर अड्केपछि ट्याक्सी चालक श्याम ढकाल तनावमा परे । सहकारीबाट पैसा निकालेर सेकेन्ड ह्यान्ड ट्याक्सी किनेका उनले सडकमा भएको खाल्डोमा इन्जिन ठोक्किंदा एकैदिन २७ हजार खर्च भयो ।

‘छेउमा एउटा मोटरसाइकल हुँइकिंदै आयो, यता म खाल्डोपट्टिबाट ओर्लिन खोज्दा गाडीको इन्जिन छोयो । बनाउन २७ हजार लाग्यो’ ढकालले भने ।

काठमाडौंका कुनै सडकमा समस्या नहुँदै कालोपत्रे (पिच) थोपर्ने काम भइरहेको छ भने कतै मुख्य सडकहरु नै खाल्डोले भरिएका छन् । कुनै सडकमा ‘पिच माथि पिच’ भइरहेको छ भने कतै खाल्डोले ढपक्कै सडक ढाकिएका छन् ।

स्कुटरमा बल्खुबाट कालीमाटी हुँदै टेकु आउने सविता क्षेत्रीलाई सधैं एउटै तनाव हुन्छ, बीचमै परेको खाल्डो । ‘अफिस आउँदा सधैं खाल्डो छल्दै आउनुपर्छ, लेनकै छेउमा बडेमानको खाल्डो छ, यता छल्दा उता ठोक्किने डर, देशको राजधानीको त यस्तो ताल छ, अरु स्थानको के होला ?’ क्षेत्री प्रश्न गर्छिन् ।

बालाजुबाट नियमित बानेश्वर आउने सम्भव शर्मा त्रिपुरेश्वरको बीच सडकमै रहेको खाल्डोमा परेर लडे । ‘कार्यालय आउँदै थिएँ, सडकको बीचमा खाल्डो होला भन्ने सोचेकै थिइनँ, खाल्डोमा परेपछि अनियन्त्रित भएर लडें’ उनले भने ।

शर्माका अनुसार पछाडि कुनै ठूलो गाडी भएको भए उनी ठूलो दुर्घटनामा पर्न सक्थे । ‘धन्न गाडीले हानेन, भाग्यले बाँचें ।’

यस्ता घटना काठमाडौंका सडकमा सामान्य जस्तै भएका छन् । काठमाडौं महानगरपालिका ३२ नम्बर वडा नरेफाँट लगायतका भित्री सडकहरु, १० नम्बर वडाको सडकहरु, नदी करिडोरका सडकहरुका खाल्डाले सम्बन्धित निकायलाई गिज्याइरहेको छ ।

काठमाडौं महानगरपालिकाको चक्रपथकै केही स्थानमा ठूला–ठूला खाल्डा परेका छन् । भित्री सडकहरु त हरिविजोग नै रहेको काठमाडौंवासीले गुनासो गर्दै आएका छन् ।

महानगरको बेवास्ता

काठमाडौंका सडकहरुको बेहालको विषयमा महानगरपालिकालाई जानकारी नै नभएको भन्ने होइन । बुद्धनगरबाट सफल सिग्देलले महानगरको कल सेन्टरमा फोन गरेर खाल्डाखुल्डी परेको सडक टाल्न अनुरोध गरे ।

तर, महानगरको कल सेन्टरले मर्मत गर्न सम्बन्धित निकायमा भन्ने बतायो, तर फोन गरेको १० दिन बितिसक्दा पनि वास्ता नगरेको बताउँछन् । ‘यो क्षेत्रमा विद्यार्थी, कार्यालयका कर्मचारीहरु धेरै हिंड्छन तर महानगरपालिकाले एकदमै बेवास्ता गरेको छ । यहाँको खाल्डाले धेरै मोटरसाइकल, स्कुटर लडाएको छ । ह्विलचियरमा हिंड्नेहरु त यो बाटोमा हिंड्नै सक्दैन’ उनी भन्छन् ।

सिग्देलले भनेको जस्तै काठमाडौं महानगरमा भएका खाल्डोहरु मर्मत गर्न महानगरले कुनै चासो देखाएको छैन । महानगरको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि पूर्वाधार एम्बुलेन्स चलाउने भन्दै हल्ला गरेतापनि अहिले थन्किएर बसेको छ । केही समय टिप्परलाई रंग लगाएर निर्माण सामग्री बोक्दै माटो र गिट्टी खाल्डोमा हाल्दै हिंडेको पूर्वाधार एम्बुलेन्स अहिले बजेट अभावमा थन्किएर बसेको छ ।

तर महानगरका अधिकारीहरु भने गुनासो नै कम आएको दाबी गर्छन् । महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा वर्षामा भन्दा अहिले गुनासो कम आएको बताउँछन् । ‘चल्दै नचलेको भने होइन । अत्यावश्यक स्थानमा त गइरहेको छ’ उनले भने ।

थापाले सडकमा पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले पाइप र विद्युत प्राधिकरणले तारको लागि खाल्डो खनिरहेको भन्दै पुर्ने काम पनि उनीहरुकै भएको बताए । ‘सडकमा जसले खाल्डो पार्छन्, उसैले पुर्छन्’ उनले भने, ‘महानगरले पनि आफ्नो काम गर्दा पाइप फुट्यो भने मर्मत गरिदिन्छ । उहाँहरुले पनि गर्नुपर्छ, अहिले खाल्डो त्यसकारण पनि भइरहेको छ ।’

महानगरभित्र रहेका सडकमा साना–ठूला खाल्डाले दैनिक हुने साना दुर्घटनाहरु सामान्य बन्दै गएका छन् । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार भएपछि सडकमा भएका खाल्डाहरु एक महिना भित्र पुर्न निर्देशन दिएका थिए । उनी सडकका खाल्डा पुरेको हेर्न फिल्डमै पुगे, तर उनको निर्देशनले काम गरिरहेको छैन ।

सडक विभागले केही मुख्य सडकमा केही आवधिक मर्मत र नियमित मर्मतसम्भारको काम गरिरहेको छ । तर, मर्मत गरेको सडक अन्य विभिन्न निकायले भत्काउने गर्दा समस्या परिरहेको विभागका अधिकारीहरुको भनाइ छ ।

 

तस्वीरहरूः आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?