+
+
सीके लालसँग अन्तर्वार्ता :

‘नेपालमा अहिले भूराजनीतिक भिडन्तअघिको नमस्ते आदानप्रदान चलिरहेको छ’

खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेसँगै सन् २०१३ देखि नै चीन सतर्क भयो । उसलाई लाग्यो– नेपाल पश्चिमा खेमामा जोडिन थाल्यो, हिन्दुस्तानमार्फत । ऊ सन् २०१५ सँगै सक्रिय भयो । त्यसपछि अमेरिका झस्कियो । ऊ पनि यहाँ भिड्नुअघि हात मिलाउन, नमस्ते गर्न लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते २०:२०

२८ पुस, काठमाडौं । प्रतिनिधिसभामा विश्वासको अभूतपूर्व मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके लालको नाम लिए । त्‍यसरी नाम लिनुको खास कारण थियो ।  लालले पाँच वर्षअघि एउटा टिभी अन्तर्वार्तामा भनेका थिए, ‘दाहालले लबेदा सुरुवाल लगाएपछि माओवादीहरुको एउटा चक्र पूरा हुन्छ ।’

दौरा सुरुवालमा विश्वासको मत लिन पुगेका दाहालले लालका विचारहरुको आफूले सम्मान नै गर्ने बताए । त्यो प्रसंगपछि उनले झन्डै शतप्रतिशत मत संसदमा पाए ।

हामीले सीके लालसँग अहिले नेपालमा भइरहेको राजनीतिक उतारचढावका आन्तरिक र बाह्य कारण के के होलान् भनी जान्न चाह्यौं । यस क्रममा उनले प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँगै राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको उदयबारे बोले । उनले सीके राउतदेखि रन्जिता श्रेष्ठ, अनि महन्थ ठाकुरदेखि उपेन्द्र यादव लगायत थुप्रै प्रश्नउपर जवाफ दिए ।

लालसँग अनलाइनखबरका बसन्त बस्नेतले लिएको यो अन्तर्वार्ता अंश । पूरा भिडियो यहाँ हेर्नुहोस् ।

अरु दलका नेताहरु प्रचण्डको विश्वास छैन भन्छन्, सबैले विश्वासको मत दिन्छन् । के भएको हो ?

सबैले विश्वास गर्नु भनेको नै यथार्थमा कसैले पनि विश्वास नगर्नु हो । त्यसरी विश्वास लिने व्यक्तिको आफ्नो अस्तित्व हराइसकेको छ भन्ने अर्थ यसबाट लाग्छ । तासको खेलमा गुलाम दहलभन्दा पक्कै माथि हो ।

गुलाममाथि पुष्पकमल दाहालले बेगम हाने । बेगमको गुलाम भयो । त्यसमा देउवाले बादशाह हालिदिए । अब एक्का कोसँग छ भन्ने कुरा राष्ट्रपति निर्वाचनमा देखिनेछ । अहिले नै पुष्पकमल दाहालका बारेमा यस्सै भन्न गाह्रो छ ।

प्रचण्डलाई तपाईं पुष्पकमल दाहाल भन्ने गर्नुहुन्छ । यसको कारण के छ ?

सन् २००६ अघि प्रचण्ड बाघ थिए । ००६ मा कृष्णप्रसाद सिटौलाले बाघलाई डोरीले बाँधेर बालुवाटार छिराए । डोरीले बाँधिए पनि उनी बाघै थिए । अहिले उनी बिरालोजस्ता भएका छन् । मैले उनलाई पुष्पकमल दाहाल यसैले गर्दा भनेको हुँ । अहिले उनी स्थायी सत्ताका घरपालुवा जस्ता भएका छन् ।

तपाईंले प्रचण्डको लबेदा सुरुवालबारे पाँच वर्षअघि भन्नुभएको थियो-उनले त्यो पोशाक लगाएपछि माओवादी आन्दोलन बिसर्जन हुन्छ । अहिले त्यो भनाइको फेरि सम्झना हुन गयो नि ?

पुष्पकमल दाहाल त्यस बेला नै कांग्रेस र एमालेका लागि प्रयोग हुन तयार भइसकेका थिए । अझै पनि त्यो विसर्जन भइसक्यो भन्दिनँ । तर माओवादीहरु त्यसअघिको गोलोवृत्तको नजिकैसम्म पुगेका छन् ।

अहिलेको सरकारको स्वरुप गिरिजाप्रसाद कोइरालाले भनेको माले, मन्डले, मसाले भइसकेकै थियो । त्यसमाथि कांग्रेस समेत मिसियो । दाहाल अहिले देखिएभन्दा अझै बढी राष्ट्रवादी, स्थायी सत्ताको बफादार बन्न बाँकी छ ।

प्रचण्डलाई विश्वास गरेपछि अब कांग्रेस प्रमुख प्रतिपक्ष कि प्रमुख सत्तापक्ष ?

सन् २००२ पछिको कांग्रेस प्रजातान्त्रिक नै अहिलेको कांग्रेस हो । त्यसका नेता शेरबहादुर देउवा सत्तापक्षका रुपमा पटक पटक असफल भइसकेकै हुन् । प्रतिपक्षको भूमिकामा पनि उनी कहिल्यै सफल भएनन् ।

देउवाको कुनै स्कुलिङ छैन । उनी प्रतिपक्षमै रहेको भए पनि अहिले सहयोगी भूमिका नै हुन्थ्यो । प्रचण्डको अनौपचारिक सहयोगी हुनुभन्दा औपचारिक सहयोगी हुन चाहे देउवा ।

देउवा त भइहाले, शेखर कोइराला पनि यसैमा सामेल भए नि ?

अंग्रेजी भनाइ छ– ’इफ् यु कान्ट बिट देम, जोइन देम ।’ लडेर जित्दैनौ भने त्यसैसँग सहबरण होउ । शेखर त्यही हुन् । आखिर उनी पनि प्रतिरोधको राजनीतिबाट आएका होइनन् । उनी पनि लाभहानिकै हिसाब गर्ने राजनीतिकर्मी हुन् । देउवाभन्दा धेरै फरक होइनन् शेखर ।

शेखर या अरु कोही देउवाको विकल्पमा आए कांग्रेसको कायाकल्प होला भनी सोच्नु निरर्थक हो ?

अहिलेको कांग्रेसमा जोसुकै आएर पनि कायाकल्प होला भनी अपेक्षा राख्नु अनुपयुक्त छ । स्थायी सत्तासँग कांग्रेस गहिरोसँग मिसिइसक्यो । सामान्यजनको अपेक्षा सम्बोधन गर्ने सम्भावना अब छैन । सुशील कोइरालाले ०७२ मा स्थायी सत्तासामू आत्मसमर्पण गरेसँगै त्यो सकियो ।

गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलप्रति पनि अपेक्षा छैन ?

अपेक्षा राख्नु राम्रो हो । सकारात्मकता जीवनमा हुनुपर्छ । यी तीनमध्ये कसैले पनि सामान्यजनको मुद्दा उठाएको जानकारी भने मसँग छैन । सत्ताको जोडघटाउ, फलानो अध्यक्ष, कोरा सैद्धान्तिक कुराबाहेक सामान्यजनको हितको कुरा उहाँहरुबाट उठेको मेरो जानकारीमा छैन ।

जे भए पनि प्रचण्डसँग संसदको सबै जसो सिट प्राप्त भयो, हगि ?

सिटलाई बोरामा राखिएको ढुंगासँग दाँज्न मिल्छ । १६८ किलोको बोरा बोक्न नै दाहाललाई उसै कठिन थियो । त्यसमा वजन थपिएर २६८ मत पाउनु भनेको आउने दिनहरु सहज छैनन् भन्ने अर्थ हो ।

इतिहासमा यस्तो दुर्लभ घटना कसरी भयो ?

पुष्पकमल दाहाललाई जसरी पनि प्रधानमन्त्री बन्नु थियो । देउवाजस्तै दाहालको जीवनमा पनि अब सत्ताबाहेक कुनै उद्देश्य बाँकी छैन । इतिहासमा दाहालको नाम सशस्त्र युद्धको संचालकबाहेक अरु केही नदेखिने भयो ।

उनलाई लाग्यो, अब सत्ताबाहेक के छ र ? शोषित उत्पीडितलाई अघि ल्याए पनि कुनै उपलब्धि नभएपछि प्रधानमन्त्री हुनुपरिहाल्यो । उनी एमालेको ढोकामा पुगेर भए पनि प्रधानमन्त्री भए । खड्गप्रसाद शर्मा ओलीकाे विश्वसनीयतामाथि दाहाललाई विश्वास हुने कुरै भएन ।

ओली दाहालका गुरु हुन् । गुरुको विश्वास नभएपछि दाहाल कांग्रेसकहाँ पुगे । कांग्रेसले पनि यही मौकामा समर्थन दिएर आफ्नो ढोकामा ल्याएको हो । विरोध गरेर त ढोकामा ल्याउन सकिन्न । देउवा कुनै सिद्धान्तमा प्रसिद्धि पाएका व्यक्ति त होइनन् । सत्ताको लाभहानि, जोडघटाउ बाहेक अरु कुनै सोचाइ छैन उनमा पनि ।

प्रचण्ड मन्त्रिपरिषद्माथि एमालेको प्रभुत्व तोडिएको हो ?

राजनीतिको गहनता नबुझ्दा यस्तो हुन्छ । प्रधानमन्त्रीको कुर्सीमा जो विराजमान हुन्छ, त्यसले बाँकी अरुलाई आकर्षित गर्छ । कठपुतलीका रुपमा संचालन गर्न नेपाली समाजमा सम्भव छैन ।

कांग्रेसमा हिजो पार्टी सभापतिले प्रधानमन्त्रीलाई कहिल्यै चलाउन सकेनन् । गणेशमान जस्ता व्यक्तिलाई त गिरिजाप्रसादले प्रधानमन्त्रीको कुर्सीबाट कहिल्यै भाउ नदिने स्थितिमा पुर्याए ।

ओलीकहाँ दाहाल हाजिर बजाउन त जालान्, तर कुर्सीमा जो छ, त्यसप्रतिको बफादारितामा कमी हुने छैन । सुशील कोइराला चाहिं अपवाद हुन् यसका । त्यस बेला खड्गप्रसाद शर्मा ओलीले उनलाई बाहिर बसेरै चलाइदिए ।

तर यसपल्ट उपप्रधानमन्त्री र मन्त्रीहरु बालुवाटार जति धाइरहेका छन्, बालकोट पनि त्यति नै धाइरहेका छन् नि ?

हाजिरीका लागि जो जता गए पनि निर्णयका लागि कहाँ जाने भन्ने कुरा हो । स्थायी सत्तामा मिसिइसकेपछि दाहाललाई जोडघटाउ मेरै हातमा छ भन्ने परिसक्यो । मुख्यसचिव, सेना प्रमुख कहाँ जाने भन्ने कुरा पदसँग जोडिएको कुरा हो । त्यो भनेको प्रधानमन्त्री पद नै हो ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटमा यस सर्वसम्मतिको असर पर्ला ?

राष्ट्रपतिको बारे म भन्न सक्दिनँ । यसमा राजनीति मात्रै नभएर सेनाको पनि केही न केही राय सुन्नुपर्ने हुन्छ । उसको सहमति नभई दलहरुले आफ्नो राय राख्न सक्दैनन् । अरु पदहरुमा चाहिं दाहालले कांग्रेस र एमालेसँग मोलभाउ गरेर आफ्नो अनुकूल पात्र खोज्छन् । ती पात्र कांग्रेस या एमाले जेबाट भए पनि दाहालका लागि समेत अनुकूल पात्रको खोजी हुनेछ ।

यहाँको उतारचढावमा बाह्य भूराजनीति पनि कारक भएको हो ?

कमजोर देशका धेरै निर्णयमा पर्दा बाहिरका खेलाडीसँग भित्रका खेलाडी समेत सामेल हुन्छन् । अन्तर्राष्ट्रिय बजारका खेलाडी पनि हुन्छन् । भारतमा अदानी, अम्बानी, अग्रवाल, टाटा आदिको भूमिका हुन्छ । नेपालमा न प्राकृतिक स्रोत उति धेरै छ, न या ठूलो बजार हो ।

यस्तो देशमा आन्तरिक रुपमा स्थायी सत्ताले नै बढ्ता भूमिका खेल्छ । राज्यको स्रोतमा जसको हालीमुहाली हुन्छ, तिनीहरु नै निर्णायक हुन्छन् । सेना, प्रहरी, निजामती नै यहाँका मुख्य खेलाडी हुन् । अदालत, अख्तियार, निर्वाचन आयोग, महालेखा परीक्षक पनि यहाँका खेलाडी हुन् । भूपरिवेष्ठित देशमा एउटा मात्रै शक्तिलाई हाबी हुन कठिन हुन्छ । सोभियत संघलाई अफगानिस्तानमा हाबी हुन कठिन भयो ।

खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेसँगै सन् २०१३ देखि नै चीन सतर्क भयो । उसलाई लाग्यो– नेपाल पश्चिमा खेमामा जोडिन थाल्यो, हिन्दुस्तानमार्फत । ऊ सन् २०१५ सँगै सक्रिय भयो । त्यसपछि अमेरिका झस्कियो । ऊ पनि यहाँ भिड्नुअघि हात मिलाउन, नमस्ते गर्न लागेको छ । नेपालमा अहिले भूराजनीतिक भिडन्तअघिको नमस्ते आदानप्रदान चलिरहेको छ ।

हेर्नुहोस् पूरा भिडियो

भिडियो र तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?