+
+

नेपोभिट टायल उद्योग : विदेशी टायल प्रतिस्थापन गर्ने नेपाली पहल

सुवास पण्डित सुवास पण्डित
२०७९ पुष ३० गते ८:१६

२९ पुस, चितवन । वीरगञ्जका मनोज रौनियारले भारतबाट आएको वार्षिक ३० करोडदेखि ४० करोड रुपैयाँसम्मको टायल नेपालमा बेच्ने गर्दथे । नेपालमा टायलको प्रयोग बढ्ने देखेर २०५० सालमा जय नेपाल सेनेटरी कम्पनी नै खोलेर उनले थालेको टायलको आयात व्यापार निकै फस्टायो पनि ।

तर, रौनियारको मनमा सधैं लागिरह्यो– टायलका लागि वार्षिक करोडौं रुपैयाँ बाहिरिइरहेको छ, नेपालमै उत्पादन गरेर यसलाई रोक्न सकिंदैन ? नेपालमै टायल उत्पादन गरेर बेच्न सक्दा एकातिर पैसा देशभित्रै घुम्थ्यो भने अर्कातिर रोजगारी सिर्जना गर्न सकिन्थ्यो ।

खासमा रौनियार मौकाको पर्खाइमा थिए । यस्तैमा एकदिन भरतपुरका व्यवसायी शिरीष पन्तले अर्का हार्डवेयर व्यवसायी शम्भुनाथ झासँग भेटघाट गराइदिए । महोत्तरी घर भएका झा काठमाडौंमा मयुर फोसेस्ट प्रालि खोलेर भारतीय र चिनियाँ हार्डवेयरका सामान आयात गरिरहेका थिए ।

रौनियार र झाको भेटघाटले परिणाम निकाल्यो– नेपोभिट टायल उद्योग । उद्योग स्थापनाको लागि ठूलो थैली चाहियो । त्यसमा माछापुच्छ«े बैंक मञ्जुर भयो । अनि ‘आफ्नै माटो, आफ्नै सान’ भन्ने नाराका साथ बाराको सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना भयो ।

नेपोभिट अर्थात् नेपालको सुन

५ बिघा १२ कठ्ठा जमिनमा फैलिएको उद्योगमा १६० करोड रुपैयाँ लगानी भएको छ । पूर्ण स्वचालित सेक्मी ब्राण्डको इटालियन मेसिनलाई मात्र ७० करोड रुपैयाँ परेको जानकारी रौनियारले दिए ।

गत वैशाखबाट उत्पादन सुरु गरेको उद्योगमा ५० प्रतिशत नेपाली र बाँकी ५० प्रतिशत राजस्थान (भारत)को माटो प्रयोग भइरहेको छ । अबको ६ महिनामा शतप्रतिशत नेपाली माटो प्रयोग गर्ने उद्योगका एक सञ्चालक रौनियारले बताए ।

उनका अनुसार, गुणस्तरीय टायलका लागि नेपालको माटो धेरै राम्रो हुने पुष्टि भइसकेको छ । भारतीय माटो ल्याउँदा प्रतिकेजी ८ रुपैयाँ पर्नेमा नेपाली माटो ३–४ रुपैयाँमै उद्योगमा आइपुग्ने उनले बताए ।

‘भारतीय माटोको टायलले ३५० केजी र नेपाली माटोको टायलले ४३० केजी भार थेग्यो’ रौनियारले भने, ‘तर, नेपाली माटो चलाउन कानुनी अड्चन छ । यसलाई सरकारले सहज बनाइदिनुपर्छ ।’

हाल उद्योगको मासिक माटो खपत ७२०० टन छ । उद्योगमा बारा, मकवानपुर, दोलखालगायत जिल्लाबाट माटो ल्याउने गरिएको छ । टायल उत्पादनका लागि आवश्यक १० प्रतिशत कच्चा पदार्थ (रंग, ग्लेज, पेभेल्स, केमिकल) भारत र चीनबाट ल्याउनुपर्छ ।

४०० जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योगले ३५० प्रकारका २४ह२४ र १६ह१६ इन्चका फ्लोर टायल उत्पादन गरिरहेको छ । चाँडै २४ गुण ४८ इञ्चको टायल बनाउने तयारी छ । त्यसपछि भित्तामा लगाउने टायल उत्पादन गर्ने उद्योगको लक्ष्य छ ।

उद्योगका अर्का सञ्चालक शम्भुनाथ झाका अनुसार एनईपीओ (नेपो) भनेको नेपाल र भीआईटी (भिट)को अर्थ इटालियन भाषामा सुन हो । पूरामा नेपोभिट भनेको ‘नेपालको सुन’ हो ।

नेपालको माटो टायलको लागि उपयुक्त भएको पुष्टि नेपोभिटले गरेपछि अरू लगानीकर्ता पनि टायल उद्योग खोल्ने तयारीमा लागेका छन् । रौतहटमा नेपोभिट जस्तै अर्को उद्योग खुल्न लागेको छ ।

आफूहरूले चुनौतीको बीचबाट बाटो खोलेपछि अरूलाई सहज भएको झा बताउँछन् । ‘नयाँ–नयाँ उद्योग आउनु धेरै राम्रो कुरा हो’ उनी भन्छन्, ‘नेपालमा टायलको बजार फैलिंदै गएकाले अझै १० उद्योग आउँदा पनि देशको माग पूरा नहुने वातावरण छ ।’

नेपोभिटका अर्का सञ्चालक रौनियार धमाधम उद्योग खुले पनि नेपाली बजारमा विदेशी टायल प्रतिस्थापन गर्न वर्षौं लाग्न सक्ने बताउँछन् । औद्योगिक कच्चा पदार्थ आयातमा लाग्ने ५ प्रतिशत भन्सार शुल्क घटाउन सके विदेशी टायल आयात रोक्न कम समय लाग्ने उनले बताए । उनका अनुसार, हाल नेपालमा वार्षिक ३० अर्ब रुपैयाँको टायल आयात हुँदै आएको छ ।

‘स्वदेशीलाई साथ दिऊँ’

उद्योगी रौनियार सरकारको नीति हरेक हिसाबले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने बताउँछन् ।

‘सरकारले विदेशी टायल किन्यो भने स्वदेशी उद्योग निरुत्साहित हुन्छन्’ उनी भन्छन्, ‘विदेशीभन्दा गुणस्तरीय र सस्तोमा दिने प्रतिबद्धता हाम्रो छ । स्वदेशी टायल नै लगाउने सरकारको पनि नीति हुनुपर्छ ।’

आफूहरूले भारतलगायत देशहरूमा समेत बेच्न सक्नेगरिको गुणस्तरीय उत्पादनमा ध्यान दिएको बताउँदै रौनियार भन्छन्, ‘सरकारले पनि आप्mना कार्यालय, संरचनाहरूमा विदेशी टायल राख्ने हालको चलन क्रमशः हटाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ ।’

भरतपुरको उत्सव हार्डवेयर सञ्चालक शिरीष पन्तका अनुसार, भारतबाट २ गुण २ को टायल ल्याउँदा पेटीको २३०० पर्छ । त्यही आकारको र अझै गुणस्तरीय नेपाली टायललाई प्रतिपेटी १६५० रुपैयाँ पर्ने उनले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?