+
+

असीको दशकमा सहकारी

असीको दशकको पहिलो आधा समय सहकारीमा राम्रै गोडमेल हुनेछ । गलत सोच र आचरण भएका व्यक्तिले सञ्चालन गरेका सहकारी सकिन्छ सुधार्नुपर्छ, सकिंदैन विघटन र विसर्जन हुन छाडिदिनुपर्छ ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०७९ पुष २९ गते १८:२५

नेपालको सहकारी अभियानले आवरणमा जुन उचाइ प्राप्त गरेको छ त्यो वास्तविक हो कि होइन भन्ने प्रश्न उठेको छ । आवरणमा हेर्दा नेपालको सहकारी अभियानका वितेका ३० वर्ष (२०४९–२०७९) लाई फर्केर हेर्दा निकै उचाइमा पुगेको भान हुन्छ ।

२०५४ सालमा नेपालले अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को सदस्यता प्राप्त गरेको हो । त्यसयता नेपालले क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सहकारी अभियानले राम्रो उपस्थिति देखाउन सकेको छ । आईसीएको बोर्ड सदस्यसम्म भइसकेको नेपालको सहकारी अभियानले क्षेत्रीय मञ्चमा त नेतृत्व र पदाधिकारीमा समेत उपस्थिति जनाइसकेको छ ।

यो ३० वर्षमा देश बाहिर नेपाली सहकारीले राम्रै प्रभाव पार्न सफल भयो । देशभित्र भने सहकारीको वास्तविक विकास सन्तोषजनक छैन भन्दा अत्युक्ति हँदैन । यो अवधिमा सहकारीको विकासका लागि दुई पटक ऐन बन्यो (सहकारी ऐन, २०४८ र सहकारी ऐन, २०७४) । दुवै पटक नियमावली आयो । सहकारी मन्त्रालय नै गठन भयो ।

यति मात्रै होइन, अन्तरिम संविधान २०६४ र नेपालको संविधान २०७२ मा नेपालको अर्थतन्त्र तीनखम्बे (सरकारी, निजी र सहकारी) हुने भनेर लेखियो । सहकारी क्षेत्रमा कानुनलाई कार्यान्वयन गर्न र गराउन शक्तिशाली सहकारी विभाग बनाएर रजिष्ट्रारलाई अधिकार दिइयो ।

अनि देश संघीयतामा गएसँगै सहकारीका संरचनालाई पनि संघीयतामा लगियो । पालिका, प्रदेश र संघको गरी तीनै तहका सरकारले सहकारीलाई प्राथमिकतामा राख्ने गरी संरचना बनाइए ।

मुलुकभर ३३ हजार प्रारम्भिक सहकारीहरू बने । प्रारम्भिक सहकारी संस्थालाई नेतृत्व गर्न जिल्ला–जिल्लामा विषयगत र जिल्ला संघ बन्यो । राष्ट्रिय सहकारी संघ र केन्द्रीय विषयगत संघहरू बने । देश संघीयतामा गएसँगै प्रदेशस्तरमा पनि प्रदेश संघहरू बने ।

यता सहकारी क्षेत्रको मात्रै कारोबार गर्ने गरी राष्ट्रिय सहकारी बैंक बन्यो । अनगिन्ती सहकारी अभियन्ता र सहकारी नेताहरूको उदय भयो । करिब ८० लाख मानिस सहकारीका सदस्य बनेको, खर्बौंको पूँजी परिचालन गरेको, दशौं हजारलाई प्रत्यक्ष रोजगारी दिएको अवस्था छ ।

यति मात्रै होइन कि बचत गर्न सिकाएको, सहजै कर्जा उपलब्ध गराएर धेरैको खाँचो, साह्रो–गाह्रो टार्नेदेखि थुप्रैलाई व्यवसायी बनाएको जस सहकारी अभियानलाई छ । यसका अतिरिक्त महिला सशक्तीकरण, सामाजिक एकता र नेतृत्व विकासमा पनि सहकारीको उल्लेख्य योगदान छ । तर यति उपलब्धि हँुदाहुँदै पनि सहकारी क्षेत्रमा राम्रो भन्दा नकारात्मक चर्चा धेरै सुनिन्छ ।

यस्तो किन हुन पुग्यो ?

(क) हाम्रो समाजमा सञ्चारमाध्यमले राम्रो के भयो भन्ने विषयलाई खासै समाचार बनाउँदैनन् । नराम्रो के के भयो त्यो प्रमुख समाचार बन्ने गरेको छ । पाठकले पनि यस्तै सूचना मनपराएको कारण यस्ता नकारात्मक समाचार नै धेरै बिकाउ छन् ।

(ख) विगत तीस वर्षमा राज्य कमजोर भयो, अर्थात् राज्यलाई कमजोर पारियो । आन्तरिक द्वन्द्व र राजनीतिक अस्थिरताका कारण राज्यका सबै क्षेत्रमा सुशासनको अभाव हुनपुग्यो । भएका कानुनको समेत सबल कार्यान्वयन हुन सकेन । यो कमजोरीको फाइदा उठाउँदै केही धूर्त मानिसले सहकारीलाई सजिलो कमाइको माध्यम बनाए ।

यसमा सहकारीका नेता, सञ्चालक, नियामक निकाय सबै मुछिएका छन् । जसले जति सक्छन् सहकारीको नाममा लुट मच्चाउने छुट पाइरहे । यस कारण थुप्रै सहकारी आकारमा ठूला र चमकधमक कारोबार गर्ने गरेको देखिए पनि ती केही सीमित धूर्त व्यक्तिको कमाउने साधनमा सीमित हुन पुगे । जसको कारण धेरै सामान्य मानिस सहकारीको नाममा ठगिए ।

(ग) सहकारीलाई बुझ्दै नबुझी सहकारी चलाउन तम्सेका मानिस सहकारीका सञ्चालक भए र सिक्नभन्दा आफूले मनलागी सहकारी सञ्चालन गर्न पुगे । यस्ता सञ्चालक भएका कतिपय सहकारीहरू सञ्चालकको नियत खराब नभए पनि संस्थाले वित्तीय सन्तुलन गुमाउन पुग्यो र अन्त्यमा सहकारीका सदस्य नै पीडित बन्न पुगे ।

(घ) सहकारीका संघहरू (जिल्लादेखि केन्द्रसम्म) सहकारीको मूल मर्मअनुरूप गठन र पुनर्गठन हुन सकेनन् । त्यसमा अत्यधिक राजनीतीकरण हुनपुग्यो । जसकारण सहकारी नै नबुझेका, सहकारीको मर्मलाई आत्मसात् नगरेका, सहकारीलाई सदस्यको हितमा नभई आफ्नो निहित स्वार्थ पूरा गर्न सञ्चालन गरेका, सहकारी संस्था सञ्चालनै नगरेका, धेरैजसो डुबन्ते र बन्द भएका सहकारीका प्रतिनिधि सहकारीका नेता बन्न पुगे ।

(ङ) सरकारले सहकारीलाई दर्ता गरिदिने र छाडिदिने काम गर्‍यो । सीमित साधनस्रोत र जनशक्तिले यसको नियमन र व्यवस्थापन गर्न सम्भव थिएन र भएन ।
(च) नियामक निकाय भित्रैबाट सहकारीका तमाम विकृतिप्रति आँखा चिम्लिएर यसलाई शुभ–लाभको माध्यम बनाउने गरेको कारण सहकारीको दुरुपयोग गरेर कमाउने धन्दामा लागेकालाई छुटमाथि छुट हुँदै गयो ।

यी र यस्ता कारणले सहकारीमा अपराध गर्ने मानिस दण्डित हुनु परेन र सहकारीमा बेथिति एकपछि अर्को झाङ्गिंदै गयो । यो कारण धेरै सर्वसाधारण सहकारीको सदस्य भएर पीडित हुनपुगे । यसकारणले सहकारीले पुर्‍याएको राम्रो योगदान समेत ओझेलमा पर्न गयो ।

अब के हुन्छ ?

मेरो बुझाइमा असीको दशकको पहिलो आधा समय सहकारीमा राम्रै गोडमेल हुनेछ । सहकारी अभियानमा भएका बेथिति, खराबी, समस्या जेजति छन् ती व्यक्तिका गलत सोच, गलत आचरण र अज्ञानताका कारण उत्पन्न परिणाम हुन् । गलत सोच र गलत आचरण भएका व्यक्तिले सञ्चालन गरेका सहकारी सकिन्छ सुधार्नुपर्छ, सकिंदैन भने विघटन र विसर्जन हुन छाडिदिनुपर्छ ।

अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीले यसलाई सघाइरहेको छ । खराबहरूको अन्त्य जति चाँडो हुन्छ राम्रो गर्नेहरूका लागि त्यति अनुकूल हुन्छ । समुदायमा आधारित र सदस्यको हितमा सञ्चालित सहकारीहरूले अझै बढी काम गरेर सहकारीको महत्त्व, समस्या, आफ्नो संस्थाको अवस्था आदिका बारेमा सदस्य र समुदायलाई सूचित गरेर संस्थालाई वित्तीय एवम् आर्थिक हिसाबले मात्रै होइन भावनात्मक रूपमा संस्था र सदस्यको सम्बन्ध पनि बलियो बनाउनुपर्छ ।

यो समयमा आउने संकटबाट संस्थालाई बचाएर सबल र सुदृढ बनाउनुपर्छ । सहकारी–सहकारीको एकतालाई मजबुत बनाउन, अनुभवको आदानप्रदान गर्न, समस्याको पहिचान र समाधान गर्न सहकारीका संघहरूमा व्यावसायिक मानिसलाई प्रतिनिधित्व गराएर वा गरेर सहकारी अभियानलाई सबल बनाउन सकिन्छ ।

संकटको बेला कमजोरहरू ढल्छन्, यो प्राकृतिक नियम हो । यस्तो बेलामा होशियार हुनु अहिलेको आवश्यकता हो । प्रतिकूलतालाई सजिलै झेल्न सक्ने स्वस्थ, निरोगी र समयको आवाजलाई सुन्न सक्ने संस्थाहरू सुदृढ एवम् विश्वसनीय भएर अगाडि बढ्नेछन् ।

असीको दशकको पहिलो चार–पाँच वर्षको प्रतिकूलतापछि विश्वसनीय र स्वस्थ सहकारीका लागि अनुकूलता थपिनेछ । सहज वातावरण बन्नेछ । सहकारीसँग तर्सिएका मानिसले पनि सहकारी के हो धेरथोर बुझ्ने मौका पाउनेछन् । वास्तविक सहकारी छानेर सदस्य बन्ने र कारोबार गर्नेछन् ।

सहकारीलाई कमाइखाने भाँडो बनाउने सहकारीका ठगहरूलाई धेरैले चिन्नेछन् । तीमध्येका केही जेलमा हुनेछन्, केही सुटुक्क सहकारी छाडेर भाग्नेछन् । केहीलाई समाजले माफी दिएको हुनेछ । यो पछिको नेपालको सहकारी अभियान पनि वास्तवमा नै आवरणमा देखिए जस्तै व्यापक हुँदै जानेछ । व्यावसायिक बन्नेछ ।

सहकारी अभियानमा लागेका वास्तविक सहकारी अभियन्ताहरू समाजमा सम्मानित हुने अवस्था आउनेछ । सहकारी जसलाई आवश्यक छ उनीहरूको भरोसा र आस्थाको केन्द्र बन्दै जानेछ । जब समाजमा वास्तविक सहकारीहरूले आर्थिक र सामाजिक गतिविधि बढाउँदै लैजान सहज हुन्छ त्यस्तो समाज समुन्नत एवं समृद्ध हुने यात्रामा अगाडि बढ्नेछ ।

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?