+
+

विमान दुर्घटनामा ६८ जनाको मृत्यु, उद्घाटनको उत्सव नसकिंदै स्तब्ध पोखरा

अमृत सुवेदी अमृत सुवेदी
२०७९ माघ १ गते २२:२०

१ माघ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सीधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे ।

तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फर्क्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । ‘खोंचतिर हेर्न जाँदा धुवाँको मुस्लो निकाल्दै आगो बलिरहेको रहेछ । जहाज आधा उँधो रहेछ, आधा त माथि जलिरहेको रहेछ’ गुरुङले भने, ‘यस्तो घटना मैले थाहा पाएको थिइनँ ।’

सेती नदीनजिकै घर भएका विकास बस्यालका अनुसार ठूलो आवाज निकाल्दै जहाज खोंचतिर बजारियो । खोंचबाहिरको डिलमा ठोक्किएपछि जहाजबाट केही मानिस उछिट्टिएको उनले देखेका थिए ।

यती एयरलायन्सको नाइन एन-एएनसी जहाज आइतबार विहान दुर्घटनापछि आगलागी भएर धुवाँको मुस्लोले पोखराको आकाश नै ढाकियो, दुर्घटनाको हल्ला बजारैभरि फैलियो र दगुर्दै मानिसहरु त्यतै जान थाले । सञ्चारमाध्यममा ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटना भएको समाचारहरु पनि आउन थाले । एकैछिनमा ठूलो भीड पोखराको सेती खोंच आसपासमा देखियो ।

केही स्थानीय बासिन्दा सुरुदेखि नै उद्धारमा थिए भने कास्कीका सबै सुरक्षा निकाय पनि उद्धारमा खटिए । तर, रमिता हेर्न मानिसको भीडले एम्बुलेन्स आउ/जाउ गर्नसमेत नसक्ने अवस्था आयो । दिनभर सेती खोंच आसपास एम्बुलेन्सका साइरन बजिरहे । जहाजमा यात्रारत परिवार र आफन्तका चीत्कारहरु सुनिइरहे ।

आइतबार साँझसम्ममा ६८ जनाको शव भेटियो ४ जनाको अवस्था अझै थाहा हुनसकेको छैन । सनाखत भएका शव सोमबारमात्रै जिम्मा लगाइने, सनाखत नभएकाको परीक्षण गर्न काठमाडौं पठाइने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

दुर्घटनामा पाइलट, डाक्टर, पत्रकार, संगीतकर्मी, विदेशी पाहुनादेखि यो देशका सामान्य नागरिकसम्मले ज्यान गुमाएका छन् ।

पोखरा आउने धेरैजसो जहाज पूर्वी क्षेत्रबाट आउँछन् र त्यतैबाट अवतरण गर्छन् । आइतबार विमान दुर्घटना हुनुअघि पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले पनि पाइलटलाई पूर्वतर्फकै  ‘रनवे-३०’ मा ल्याण्ड गर्न आग्रह गरेका थिए । तर क्याप्टेनले ‘रनवे १२’ बाट आउँछु भनेको त्रिभुवन विमानस्थलको एटीसीका प्रमुख योगेन्द्र केसीले जानकारी दिए ।   

व्यवसायी आनन्दराम मुल्मी भन्छन्, ‘पूर्वबाट ल्याण्ड गर्नुपर्ने जहाज पश्चिमबाट ल्याण्ड गर्नुपर्ने परिस्थिति किन र कसरी सिर्जना भयो भन्ने बुझ्न गाह्रो परिरहेको छ ।’

ल्यान्डिङ क्लियरेन्स लिइसकेको जहाज दुर्घटना हुनुले थुप्रै प्रश्नहरु उब्जाएको छ । नागरिक उड्डयन प्राधिकरणको क्षमतामाथि पनि यसले प्रश्न उठाएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मीको भनाइ छ ।

जहाज दुर्घटनापछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ । त्यस्तै सरकारले आन्तरिक उडान भर्ने सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिइसकेको छ ।

व्यवसायी मुल्मी जहाजहरुको नियमित मर्मत सम्भार र अनुगमनमा नागरिक उड्डयन प्राधिकरणले ध्यान दिनुपर्ने बताउँछन् । ‘पटक पटक उड्न लागेका जहाज पनि फर्किने, उड्दा उड्दै आकस्मिक अवतरण गर्नुपर्ने अवस्था पनि थिए । आफ्नो सिस्टमलाई बलियो बनाउनेदेखि अनुगमनसम्म प्राधिकरण त्यति संवेदनशील अझै पनि नभएको हो कि भन्ने लागिरहेको छ’ उनले भने ।

१ जनवरी २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदा यो देशकै आर्थिक विकासमा कोसेढुंगा हुने विश्वास गरिएको थियो । पोखरेलीले ५० वर्ष पुरानो सपना पूरा भएको भन्दै उत्सव मनाएका थिए ।

विमानस्थलको उद्घाटनमा पोखरेली जनसागर उर्लिएको थियो । उद्घाटनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देशकै अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने बताएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल चलेपछि पोखराले सोझै अन्तर्राष्ट्रिय पर्यटक भित्रिने र त्यसले स्थानीदेखि राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गराउने चर्चा पोखरामा सेलाइ सकेको नै छैन ।

तर, उत्सवको माहोल नसकिंदै उद्घाटन भएको १५ औं दिनमा पोखरामा शोक परेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा उत्सव मनाएको केही दिनमै कालो दिन देख्नुपरेको स्थानीय सञ्जय कार्कीले बताए । उनले भने, ‘पोखरामात्र होइन, देश नै शोकमा डुबेको छ । आज देश/विदेशका धेरै आफन्तहरुको जीवनलीला सेतीमा डुबेको छ र सेतीमा पानी होइन, आँसु बगेको छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन नै आइतबार दुर्घटनामा परेको ७२ सिटे जहाजबाट भएको थियो । जुन चालकले परीक्षण उडान भरेर विमानस्थलमा नियमित उडान सञ्चालन हुन सक्ने सन्देश दिएका थिए, तिनै अनुभवी पाइलट कमल केसीको नेतृत्वमा उडान भरेको जहाज दुर्घटना भयो । यो दुर्घटना नेपाली आकाशमा आन्तरिक उडान हुँदा भएको यो सबैभन्दा ठूलो हो ।

यती एयरकै जहाज गत वर्ष जेठ १५ गते पोखराबाट सोमसोम जाँदै गर्दा दुर्घटनामा परेर २२ जनाले ज्यान गुमाएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुँदै गर्दा यति छिट्टै त्योभन्दा भयानक दुर्घटनाको आशंका गरेका थिएनन् ।

यो दुर्घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपाली आकाश अझै सुरक्षित छैन भन्ने सन्देश गएको मुल्मी बताउँछन् । ‘नेपालको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा हवाइ सेवा सञ्चालन गर्नुपर्ने चुनौती रहेकै बेला यो दुर्घटना हुनु हाम्रा लागि अत्यन्त दुखद् हो’, मुल्मीले भने, ‘यो मानवीय त्रुटि हो वा हाम्रा जहाजहरु पुराना भएका हुन् ? त्यो गम्भीर अध्ययन होला ।’

पर्यटन व्यवसायी वासु त्रिपाठी दुर्घटनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यमाथि प्रश्न उठाएको बताउँछन् । ‘न मौसम खराबी छ, न टावरसँग कनेक्सन टुटेको छ । यस्तोमा कतै जहाजमै समस्या थियो भनेर अनुमान गर्न सकिन्छ’, त्रिपाठीले भने, ‘यसले उड्डयन क्षेत्रलाई प्रभावित पार्ने छ । त्योभन्दा ठूलो चुकाउन परेको मानवीय मूल्यको हिसाब छैन ।’

सरकार वा अधिकार प्राप्त निकायले केही दिनमै यी सबै घटना बिर्सने तर यसबाट शिक्षा नलिने स्थिति बारम्बार देखिएको उनी बताउँछन् ।

सन् २०१२ मे मा पनि गण्डकी क्षेत्रमै जहाज दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो । २००२ अगस्ट मा पोखरामै सांग्रिला एयरको डीएचसी टि्वनअटर जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

एकातिर अहिले भएको दुर्घटनाले पोखरा स्तब्ध छ भने अर्कोतर्फ आन्तरिक उडानतफै अहिलेसम्मकै ठूलो दुर्घटना पोखरामै हुँदा यसले अन्तर्राष्ट्रिय उडान सञ्चालनमै कठिनाइ हुने हो कि भन्ने चिन्ता पनि छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?