+
+

‘छक्कापञ्जा ४’को छायांकन सकियो, दीपकराज गिरी भन्छन्- अब पब्लिसिटीमा लाग्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १२:४५

काठमाडौं । यस वर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सकिएको छ । काभ्रेको पनौतीमा आइतबार अन्तिम गीतसँगै फिल्मले दुई महिनामा छायांकन पूरा गरेको हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले छायांकनसँगै आफूहरु पोस्ट–प्रोडक्सन र प्रचारप्रसारको योजनामा अघि बढ्ने बताए ।

फागुन १९ गते प्रदर्शन मिति तय गरेको फिल्मको निर्देशन हेमराज बिसीले गरेका हुन् । दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायत कलाकार फिल्ममा छन् । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।

‘फिल्म छायांकन दुई महिनामा बल्ल सकिएको छ, अबको योजना प्रचारप्रसारमा केन्द्रित हुनेछ,’ दीपकले अनलाइनखबरसँग भने ।

‘छक्कापञ्जा’को चौथो श्रृंखला राजनीति र सामाजिक कथावस्तुमा आधारित हुनेछ । अघिल्ला सिरिजमा पनि राजनीति, वैदेशिक रोजगारी, शिक्षादेखि तन्नेरीको प्रेमकथा यसका कथावस्तु बनिसकेका छन् । यो फिल्मका अघिल्ला तीनै सिरिजले घरेलु बक्स अफिसमा दुई अंकभन्दा बढीको कमाइ गरेका छन् । चौथो श्रृंखलालाई पनि लिएर दर्शकमाझ व्यापक पर्खाइ छ ।

उक्त मितिमा निगम श्रेष्ठको निर्देशन रहेको ‘छड्के २’ र सुरज पाण्डेको ‘परस्त्री’ले पनि प्रदर्शन मिति घोषणा गरेका छन् । तीनै फिल्मले सोही मितिबाट पछि नहट्ने दाबी गरिरहेका छन् । ‘परस्त्री’लाई चाहिं नेपाल र भारतमा रिलिजको योजना बनाइरहेको निर्देशक पाण्डेले बताए ।

क्यूएफएक्समा के होला त ?

क्यूएफएक्सको आधिकारिक वेबसाइटका अनुसार अहिलेसम्म फागुन १९ को मितिमा ‘छक्कपञ्जा ४’ मात्र रिलिज हुनेछ । चाँडै रिलिज हुने फिल्मको सूचीमा दीपक–दीपाको उक्त फिल्म मात्र सूचीकृत छ । तर उक्त मितिमा आउने भनेर प्रचार गरिएका अन्य दुई फिल्म छड्के २ र परस्त्री उल्लेख गरिएको छैन ।

यसअघि क्यूएफएक्सका सञ्चालकले एकै मितिमा दुई ठूला फिल्म प्रदर्शन नगर्ने आफूहरुको नीतिगत योजना रहेको बताएका थिए । क्यूएफएक्सको उक्त योजनाले फिल्मवृत्तमा तरंग सिर्जना गरेको छ । फागुन १९ को मिति आउन डेढ महिनाभन्दा कम समय बाँकी रहँदा मुलुकको प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सले छक्कापञ्जाको चौथो सिरिजलाई मात्र उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?