+
+

मन्त्रालय भागवण्डा : एमालेले ८ वटा पाउँदा राप्रपालाई २

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १९:५०

२ माघ, काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।

उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ । यसअनुसार एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री लिनेछ ।

हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । तर अरु मन्त्रालयको भागवण्डा नटुंगिएका कारण ११ पुसमा शपथ लिएका एमालेका तीन मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् ।

सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अरु मन्त्रालय टुंगिएको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ । यद्यपि खेलकुदमा माओवादीको पनि दाबी छ ।

राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एक/एक मन्त्रालय छुट्याइएको छ ।

यसरी भागवण्डा गर्दा एउटा मन्त्रालय अपुग हुन्छ । त्यो बेला सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको भागमा परेको मन्त्रालय घट्नसक्ने स्रोतको दाबी छ । नागरिक उन्मुक्ति पार्टीले एउटा मन्त्रालय लिएर सरकारमा नआउने बताएकाले मन्त्रालय भागवण्डा लगभग टुंगिएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?