+
+

‘बढ्दो जनसंख्यालाई भात खुवाउन हाम्रो उत्पादनले पुग्दैन’

धानमा आत्मनिर्भर हुन धान कुट्ने मिलहरूलाई आधुनिक मिलमा परिवर्तन गर्नुपर्छ । भात सँगसँगै अरू बालीहरू पनि खाने बानी बसाउनुपर्छ । उचित धानको जात, समयमा मल र जलको व्यवस्था गरेर उत्पादकत्व बढाउनुपर्छ । नत्र बढ्दो जनसंख्यालाई भात खुवाउन हाम्रो यो उत्पादनले पुग्दैन ।

डा. सुशील सुवेदी, धानविज्ञ डा. सुशील सुवेदी, धानविज्ञ
२०७९ माघ २ गते १८:०१

धान नेपालको प्रमुख बालीको रूपमा रहेको छ । उत्पादन, उत्पादकत्व र खेती गरिने जमिनको आधारमा धान पहिलो बाली हो । आम नेपालीको जीविकोपार्जन, खाद्य सुरक्षा, आयस्रोत तथा रोजगारीको मुख्य आधारशिला नै धान हो ।

नेपालीका लागी धान ४० प्रतिशत शक्ति र २३ प्रतिशत प्रोटिनको स्रोत हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत र कृषि गार्हस्थ्य उत्पादनमा करिब १३ प्रतिशत यसको योगदान छ । यसको खेती तराईदेखि उच्च पहाड (समुद्र सतहदेखि २ हजार ७५० मिटर, जुम्ला) सम्म गर्न सकिन्छ ।

नेपालमा कुल खेतीयोग्य जग्गाको करिब १४ देखि १५ लाख हेक्टर जग्गामा धान खेती गरिन्छ जसको औसत उत्पादकत्व बढिरहेको छ । कृषि तथा पशु विकास मन्त्रालयको तथ्याङ्क अनुसार यो पहिलाको वर्षभन्दा उत्पादन वृद्धिदर ६.९४ प्रतिशत छ । जसमा कुल धान खेती १४ लाख ४७ हजार ७८९ हेक्टरमा रहेको छ ।

यो २०७७÷७८ को कुल धान खेतीभन्दा करिब २९ हजार ५८९ हेक्टरले थोरै हो । खेती भएको जमिन कम हुँदा पनि उत्पादन र उत्पादकत्व बढ्नुलाई नेपालमा विकसित धानका जात र प्रविधिको योगदान रहेको नकार्न सकिंदैन ।

यता नेपालको धान उत्पादकत्व बढ्दै गए पनि, बढ्दो जनसंख्यालाई भात नै खुवाउन भने यस उत्पादन वृद्धिले थेग्न सक्ने अवस्था देखिंदैन । एउटा अध्ययनले नेपालको विगत ५४ वर्षको धान उत्पादन वृद्धि र जनसंख्या वृद्धि हेर्दा धान वृद्धि १.५ प्रतिशत छ भने जनसंख्या वृद्धि २.३ प्रतिशत रहेको छ, यो नै धान अपुग हुँदै जाने पहिलो आधार हो । नेपालमा प्रतिव्यक्ति चामल १३७.५ केजी खपत रहेको छ ।

नेपाललाई आत्मनिर्भर हुन करिब ७९.३७ लाख टन धान चाहिने देखिन्छ । अनि ६८.९ लाख टन चामल आवश्यक रहेको छ । यसैगरी १०.४७ लाख टन धान अन्य प्रयोजन जस्तै पेय पदार्थ, पशु आहारा र बीउको रूपमा प्रयोग भइरहेको छ । नेपालमा वार्षिक करिब ४२० लाख लिटर रक्सी बनाइने गरेको तथ्याङ्क छ, जसमा २० प्रतिशत रक्सी चामलबाट बन्ने अनुमान छ ।

यसरी तथ्याङ्क हेर्ने हो भने नेपालमा करिब ५५ लाख टन धान उत्पादन हुँदा करिब २४ लाख टन धान अझै हामीलाई अपुग देखिन्छ । त्यो भनेको करिब १२ देखि १४ लाख टन चामल अपुग हो ।

विगत दुई आर्थिक वर्षहरूमा नेपालको धान/चामल/कनिका आयात अत्यधिक बढेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७/७८ मा करिब ५० अर्ब ७८ करोड रुपैयाँ बराबरको करिब १३ लाख ३४ हजार टन चामल आयात भएको थियो भने २०७८-७९ मा करिब ४७ अर्ब ५७ करोड बराबरको करिब ११ लाख ३० हजार टन चामल आयात भएको देखिन्छ ।

उत्पादन र आयातबीच तुलना गरेर हेर्दा २०७६/७७ मा करिब ५५ लाख टन धान उत्पादन हुँदा २०७७/७८ मा करिब १३ लाख टन धान आयात भएको देखिन्छ । २०७७/७८ मा करिब ५६ लाख टन धान उत्पादन हुँदा करिब २ लाख टन धान आयात घटेको देखिन्छ । यसलाई आधार मान्ने हो भने २०७८/७९ मा धानको उत्पादन करिब ५१ लाख टन मात्रै रहेको देखिन्छ ।

करिब ३५ वर्ष अगाडि नेपाल धान निर्यात गर्ने देश थियो । आज नेपाल ठूलो रकम धान÷चामल÷कनिका आयातमा खर्चिरहेको अवस्था छ । तर आयात विस्थापन गर्नको निम्ति गरिने प्रयास र सो प्रयासमा खर्चिएको बजेट र उत्पादनले गरेको योगदान हेर्दा नेपाल सरकारले धानको प्रविधि विकासमा साह्रै न्यून बजेट छुट्याएको देखिन्छ ।

त्यस्तै धानमा आत्मनिर्भर र आयात विस्थापनको लागि केही कुरामा ध्यान दिन सके पक्कै पनि हामी चाँडै नै यसतर्फ अगाडि बढ्नेछौं । हाम्रा धान कुट्ने मिलहरूलाई आधुनिक मिलमा परिवर्तन गर्न सके करिब १० प्रतिशत चामल बढाउन सकिन्छ ।

त्यस्तै हाम्रो खाद्यान्नमा भात सँगसँगै अरू बालीहरू पनि खाने बानी बसाउँदा पनि चामल खपत केही घटाउन सकिन्छ । यदि उचित धानको जात, समयमा मल र जलको व्यवस्था र चैते धानको क्षेत्रफल बढाउने हो भने धानको उत्पादकत्व करिब ५ मेट्रिक टन प्रति हेक्टर पुर्याउन सकिन्छ, जसले गर्दा नेपाल धानमा आत्मनिर्भर हुनसक्छ ।

(डा.सुवेदी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धानविज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?