+
+

कसरी धुने डाउन ज्याकेट ?

मनिषा थापा मनिषा थापा
२०७९ माघ ३ गते १६:५१

काठमाडौं । कठ्यांग्रिने जाडोमा ज्यानलाई न्यानो राख्न त डाउन ज्याकेट काइदा हुन्छ । तर जब यसमा लागेको धुलो-मैलो र पसिनाको गन्ध पखाल्नुपर्ने हुन्छ, सही तरिकाले धुने ढंग पुग्दैन ।

डाउन ज्याकेट धोएपछि भित्री तहमा राखिएको प्वाँखहरु एकातिर पोको पर्ने, सिलाई उप्किने, राम्ररी नसुक्ने जस्ता समस्या देखिन्छ । कसरी जतनसाथ धुने, पखाल्ने, सुकाउने ? धेरैको मनमा यही प्रश्न उठ्न थाल्छ ।

डाउन ज्याकेट धुने तरिका सामान्य लुगाफाटो भन्दा फरक रहेको लुगा धुने व्यवसाय गरिरहेका स्मार्ट धोबीका सञ्चालक सुजन चौलागाईं बताउँछन् । ‘जथाभावी धोएमा यसको प्वाँख, कपडा र सिलाई बिग्रिन्छ,’ उनी भन्छन्, ‘अनि चाँडै पुरानो जस्तो देखिन थाल्छ ।’

डाउन ज्याकेटको भित्री तहमा पंक्षीको खासगरी हाँसको स–साना प्वाँख राखिएको हुन्छ । उक्त प्वाँखलाई सुरक्षित गर्न कपडाको दुई–तीन पत्र सिलाई गरिएको हुन्छ । त्यसैले पनि तुलनात्मक रुपमा डाउन ज्याकेट महंगो पर्छ । बजारमा सामान्यतः डाउन ज्याकेटको मूल्य चार हजार रुपैयाँबाट सुरु हुन्छ ।

डाउन ज्याकेट धुन मात्र होइन, त्यसमा भएको पानी निचोर्न र सुकाउन पनि ढंग पुर्‍याउनुपर्ने स्मार्ट धोबीका चौलागाईं बताउँछन् ।

कसरी धुने त ?

डाउन ज्याकेट अन्य लुगाफाटो जस्तो पटक–पटक धोइरहन हुँदैन । यस्तो ज्याकेट घरमै हातले वा वासिङ मेसिनले धुन सकिन्छ । लाउन्ड्रीमा पनि धुन दिन सकिन्छ । लाउन्ड्रीमा एउटा डाउन ज्याकेट धोएको सामान्यतः २०० दखि २५० रुपैयाँसम्म शुल्क लाग्छ । यद्यपि लाउन्ड्रीमा भन्दा घरमै धुँदा यसको जतन हुने कतिपयको सुझाव छ ।

घरमै हातले डाउन ज्याकेट धुने हो भने प्लाष्टिकको बाटामा डिर्टजेन्ट पाउडर घोल्नुपर्छ । यस घोलमा ज्याकेट डुबाएर दाँत माझ्ने पुरानो ब्रसले हल्का ढंगले गोलाकार बनाउँदै रगड्नुपर्छ । खासगरी मैला वा कुनै दाग टाँसिएको भागमा ब्रसले सफा गर्न सकिन्छ ।

एकसरो डिटर्जेन्ट पानीमा धाइसकेपछि यसलाई नरम कपडाले पुछेर निकाल्नुपर्छ । त्यसपछि सफा पानीमा डुबाउँदै निकाल्दै पखाल्नुपर्छ । पानीमा राम्ररी पखालिएन भने यसमा डिटर्जेन्टको चिल्लो र दाग बस्ने हुन सक्छ ।

राम्ररी पखालेर यसलाई १० मिनेट जति यत्तिकै छाड्नुपर्छ । त्यसपछि एउटा सफा तौलिया फिजाएर त्यसमा ज्याकेट राख्ने । तौलियासँगै ज्याकेटलाई बेरेर राम्ररी निचोर्नुपर्छ । यसरी निचोर्दा ज्याकेटभित्रको पानी राम्ररी सोसिन्छ ।

ज्याकेटको पानी निथ्रिएपछि यसलाई अलि ओझेल तर हावा चल्ने ठाउँमा सुकाउन सकिन्छ । चर्को घामको सोझो प्रभाव पर्ने ठाउँमा सुकाउनुहुन्न । घरभित्रै सुकाउनु परेमा सामान्य ड्रायर प्रयोग गर्न सकिन्छ ।

वासिङ मेसिनमा कसरी धुने ?

घरमा वासिङ मेसिन छ भने डाउन ज्याकेट धुन अझ सहज हुन सक्छ । वासिङ मेसिनमा धुनुअघि त्यसमा लागेको दाग वा मैलालाई ब्रसले हल्का सफा गर्नुपर्छ । वासिङ मेसिनको डिटर्जेन्ट राख्ने भाँडोमा कुनै चीज भए सफा गर्नुपर्छ । डिटर्जेन्ट पाउडर राखिसकेपछि ज्याकेटको जिपर लगाएर वासिङ मेसिनमा राख्नुपर्छ ।

वासिङ मेसिनको ‘चिसो पानी’ वा नरम कपडा धुने म्यानुअल बटन दबाउनुपर्छ । वासिङ मेसिनमा उपयुक्त क्लिनिर हाल्ने र ज्याकेट धोइसकेपछि सोझो घामको राप पर्ने ठाउँमा राख्नु हुँदैन । ड्रायरबाट सुकाउनु राम्रो हुन्छ ।

डाउन ज्याकेटलाई कसरी जतन गर्ने ?

डाउन ज्याकेट धुन र सुकाउन मात्र होइन, यसलाई जतनसाथ राख्न पनि जरुरी छ । यस्तो ज्याकेट पटक–पटक धोइरहनु उपयुक्त हुँदैन ।

डाउन ज्याकेट चिसो मौसम वा भेगमा लगाइने भए पनि खासगरी पैदल यात्राका क्रममा लगाउन नहुने बताइन्छ । पानी झरीमा पनि डाउन ज्याकेट लगाउन उपयुक्त हुन्न । डाउन ज्याकेटलाई बेलाबखत घाममा राख्नु राम्रो हुन्छ ।

डाउन ज्याकेट दराजमा पट्याएर राख्नु हुँदैन । यसलाई दराजभित्र पनि ह्याङ्गरमा झुण्ड्याएर राख्नुपर्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?