+
+
विचार :

वैज्ञानिक लेन्सविमुख हाम्रो रैथाने विरासत

हाम्रोमा विज्ञानको लेन्समा लागेको धुलो पुछेर नागरिकका दिनचर्या र रैथाने विरासतहरूलाई पर्गेल्ने विज्ञानको दृष्टि गहिरो बनाउन राज्यले यथाशीघ्र सृजनात्मक पहल गर्नुपर्छ ।

डा. ध्रुव बी. खड्का डा. ध्रुव बी. खड्का
२०७९ माघ ४ गते १४:०७

वैज्ञानिकहरूको अनौपचारिक जमघटमा रैथाने कुराहरूबारे विदेशीहरूका जिज्ञासा निकै रोचक हुने गर्छन् । संयोगवश, म आवद्ध अनुसन्धान समूहको डिनर पार्टीमा रैथाने खाद्यान्नबारे प्रसंग उठ्यो । नेपाली खाद्य परम्पराबारे चाख लिएर सुनेका मेरा सहकर्मी प्राध्यापक मासातोसी यानागिदाले नोबेल पुरस्कार डायलग टोक्योमा भाग लिन सुझाए ।

उनले केही वर्ष काम गरेको संस्था जापान सोसाइटी फर प्रोमोशन अफ साइन्सले नोबेल पुरस्कार फाउन्डेसनको सहकार्यमा विज्ञान र समाजको चुनौती र भविष्यबारे बहस गर्न सन् २०१५ देखि नोबेल पुरस्कार डायलग–टोक्यो सुरु गरेको रहेछ । सुझाउनुको कारण भने त्यो वर्ष/सन् २०१८ को डायलगको नारा ‘दि फ्युचर अफ फुड’ रहेछ । सुखद संयोग, उक्त कार्यक्रममा सन् २०१६ को नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक योशिनोरी ओहसुमिले खाद्य परम्परा र ओटोपेगीबारे प्रस्तुति दिएका थिए ।

चाखलाग्दो कुरा के भने, उनको अनुसन्धान संयोगवश हिन्दु सभ्यताको व्रत बस्ने प्रचलनसँग पनि जोडिएको थियो । व्रत बस्नु स्वास्थ्यको लागि किन राम्रो हो भन्ने बारे गहन अनुसन्धानले उनलाई नोबेल पुरस्कार दिलाएको रहेछ । खप्तड स्वामीको पुस्तक ‘स्वास्थ्य विज्ञान’ पढ्दा मेरो मनमा उठेका कैयौं जिज्ञासाको उत्तर उनको अनुसन्धानले दिने रहेछ ।

प्रकृति र परम्पराको सेतुमा विज्ञानको रहस्यहरू छिपेका हुन्छन् । दुर्भाग्य, विरासतमा आएका सयौं रैथाने पूँजीहरूलाई वैज्ञानिक लेन्सले नियाल्ने र पर्गेल्नेतर्फ हाम्रा विश्वविद्यालयहरूको चेत खुलेको छैन ।

एक रमाइलो प्रसंग यहाँ उल्लेखनीय छ । माथि उल्लिखित नोबेल पुरस्कार विजेता प्राध्यापक ओहसुमि रैथाने खाद्यान्नको पक्षपाती र साके (जापानिज रक्सी)का पारखी रहेछन् । नोबेल डायलग–२०१८ मा साके सम्बन्धी रोचक टिप्पणीमा प्रश्नकर्ताको जवाफमा भनेका थिए, ‘साके बनाउने जापानिज तरिका निकै नै जटिल छ ।’

रोचक संयोग के भने, खासमा अर्का नोबेल पुरस्कार विजेता जापानिज वैज्ञानिक सातोसी ओमुराको अनुसन्धानको सन्दर्भ पनि साके/रैथाने खाद्य परम्परासँग जोडिएको रहेछ । सन् २०१५ को मेडिसिन विधाको नोबेल पुरस्कार जापानिज वैज्ञानिक सातोसी ओमुरालाई राउन्डवर्म परजीवीहरूको कारणले हुने संक्रमणहरू विरुद्धको नयाँ उपचार बारेको खोजको लागि दिएको थियो ।

पाठकहरूलाई अचम्म लाग्न सक्छ कि, प्राध्यापक ओमुरालाई नोबेल पुरस्कार दिलाउने खोजको बीजारोपण ५० वर्ष पहिले; सन् १९६३ मा यामानासी युनिभर्सिटीमा प्रयोगशाला सहायक भएर स्थानीय वाइन बनाउने विधि बारेको अनुसन्धान गर्दा भएको रहेछ ।

रैथाने वाइनको अनुसन्धानको क्रममा अंकुरित भएको सूक्ष्म जीवाणु बारेको जिज्ञासाले नै उनलाई वैज्ञानिक कर्ममा अमर बनायो । जापानमा मदिरा जोडिएको अनुसन्धानले विज्ञानका नयाँ ज्ञानको ढोकाहरू खोलेको थाहा पाउँदा हाम्रो गाउँको अन्तरे राई बाजेको घरमा केही उत्सवहरूमा भाँडाहरू जोडेर तिनपाने बनाएको दृश्य सम्झना दिलायो ।

हामी सबैलाई थाहा छ कि नेपालमा समुदाय विशेषमा रैथाने मदिरा बनाउने निकै पुरानो परम्परा रहेको छ । तर ती रैथाने विधिका विशेषताहरूलाई विज्ञानको लेन्सले खासै नियालेको पाइँदैन । हाम्रो समाजमा रहेको रैथाने विधिहरूबारे हाम्रा विश्वविद्यालयहरूमा सुरुवाती समयदेखि नै अनुसन्धान हुनसकेको भए विज्ञान स्तर र उत्पादनको बजारको स्थिति कस्तो हुन्थ्यो होला भन्ने कुराले मानसपटलमा घोचिरहन्छ ।

जापानी समाजको अर्को चाखलाग्दो विशेषता छ । यहाँ वैज्ञानिकलाई उच्च सम्मान दिने मात्र होइन उनीहरूले समय सन्दर्भमा दिएका सुझाव तथा प्रवचनका क्रममा बोलेका विषयलाई निकै महत्वका साथ सुन्ने र नोट गरिंदो रहेछ । यसको अनुभूति पङ्क्तिकारलाई युवा वैज्ञानिकको विशेष सेमिनार–२०१९ मा भाग लिंदा भयो ।

उक्त सेमिनारको समापनको क्रममा आयोजकले तिनै विख्यात नोबेल पुरस्कार विजेता वैज्ञानिकहरू ओहसुमिले नोबेल पुरस्कार डायलग टोक्यो–२०१८ मा साके सम्बन्धी गरेको टिप्पणी र सातोसी ओमुराको अनुसन्धानको सन्दर्भ उद्धृत गर्दै साके फ्याक्ट्रीमा भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

संयोगवश जापानको साके फ्याक्ट्रीबारे पनि बुझ्ने मौका जुर्‍यो । खासमा त्यो फ्याक्ट्री अलिक विशेष पनि रहेछ । कारण, सन् २०१९ को जी–२० देशहरूको जापानमा भएको बैठकको स्वागत पार्टीमा विदेशी अतिथिलाई सर्भ गर्ने रैथाने साकेको देशव्यापी प्रतिस्पर्धामा उक्त फ्याक्ट्रीका केही उत्पादन छनोट भएका रहेछन् । जसले राष्ट्रिय ख्याति पाएको रहेछ ।

जापानी परम्परागत ढाँचाको जस्तो देखिने त्यो साके फ्याक्ट्री पुरानो इतिहास र अनुसन्धानको दरिलो जगमा स्थापित भएको रहेछ । स्थानीय प्रजातिका अन्नहरूबाट विशेष तरिकाले विभिन्न लेबलका साकेहरू उत्पादन गरिने रहेछन् । खासमा १३औं शताब्दीदेखिको साके बनाउने जापानी परम्परागत विधिलाई विज्ञान र प्रविधिसँग जोडेर परिष्कृत गरिएको रहेछ ।

साकेको अनुसन्धानमा योगदान गरेका वैज्ञानिकहरूको फोटो ससम्मान अनुसन्धान कक्षमा राखिनुले परम्परागत ज्ञान र आधुनिक विज्ञानको फ्युजनको झल्को दिन्थ्यो । परम्परागत उत्पादनहरूलाई वैज्ञानिक विधिहरूसँग जोड्दा गुणस्तर वृद्धि मात्र होइन, अन्तर्राष्ट्रिय बजार विस्तार र विश्वसनीयता बढाउन ठूलो टेवा पुगेको तथ्यहरूले देखाउँछन् ।

विश्व बजारमा जापानी मदिरा निकै लोकप्रिय छ । फलस्वरूप, सन् २०२१ सम्म आइपुग्दा जापानले परम्परागत साके उत्पादनलाई खाद्य प्रविधिको सदुपयोग गर्दै वार्षिक ११५ अर्ब नेपाली रुपैयाँ भन्दा बढीको साके निर्यात गर्दोरहेछ ।

दुःखको कुरा, सन् २०२० को तथ्यांक अनुसार नेपालमा वार्षिक रु.१.५ अर्बभन्दा बढीको विदेशी मदिरा आयात हुँदा निर्यात भने नगण्य छ । हाम्रो रैथाने मदिराहरूको विशेषताको वैज्ञानिक अध्ययन गरी नेपाली विशेषताका ब्रान्ड बनाउने हो भने आयात घटाउने मात्र होइन विश्व बजारमा छाउन सक्छन् ।

साके फ्याक्ट्री भ्रमणको क्रममा टोक्यो विश्वविद्यालयका भौतिकशास्त्रका निवृत्त प्राध्यापक केन्जिरो मियानोले सुनाएको जापानको विज्ञानमा युरोपियन वैज्ञानिकसँगको अनुसन्धान–सहकार्यका अनुभवहरू प्रेरणादायी थिए । जापान मात्र त्यस्तो देश हो जसले विज्ञानको अमृतपान मात्र गरेको छैन, विज्ञानको अभिशाप पनि भोगेको छ ।

सन् १९४५ अगस्ट ६ र ९ गते हिरोसिमा र नागासाकीमा खसालिएको एटम बमबाट २ लाख १४ हजार भन्दा बढी मानिस मारिएका थिए । त्यो विध्वंसकारी चिहानको खरानीको थुप्रो टकटक्याउँदै छोटो समयमा वैज्ञानिक शिक्षा नीतिले बनाएको दरिलो जगमा समृद्धिको सगरमाथा उक्लियो ।

पानासोनिक, सोनी, हिताची, टोयोटालगायत विश्वविख्यात जापानिज प्राविधिक कम्पनीहरू मात्र होइन; मैजी, किरिन, असाही र मोरिगाना जस्ता खाद्य तथा पेय कम्पनीहरूको विकासमा विश्वविद्यालयहरूसँगको सहकार्यको ठूलो भूमिका रहेको तथ्यहरूले देखाउँछन् ।

नेपालबाट हिमालय जर्नल अफ साइन्स एण्ड टेक्नोलोजी र जर्नल अफ फुड साइन्स एण्ड टेक्नोलोजी नेपाल नामक खाद्य प्रविधिसँग सम्बन्धित जर्नल प्रकाशित हुन्छन् । अफसोच, अनुसन्धान रिपोर्टहरू जनसरोकार र खाद्य उद्योगसँग जोडिएका भए पनि अनुसन्धान कोष र उद्योगसँग सहकार्यको अभाव देखिन्छ ।

चाखलाग्दो कुरा के भने, जापानले उच्च प्रविधिको विकासमा मात्र होइन, देशको परम्परागत उत्पादनलाई पनि प्राथमिकताका साथ विज्ञानका सूत्रहरूमा उनेर व्यवसायीकरण गरेको रहेछ । आधुनिक जापानको श्रेय सम्राट मैजीलाई जान्छ ।

उनको शासनकालमा युरोपको विज्ञानलाई निकै नै बुद्धिमत्तापूर्वक जापानी भाषामा ढालेर विज्ञान र प्रविधिको दरिलो जग बसालिएको थियो । जुन नेपाल जस्तो देशको लागि अनुकरणीय छ । विज्ञानको जगमा कैयौं रैथाने खाद्यानलाई गुणस्तरयुक्त र लामो समय राख्न सकिने प्रोटोकल निर्धारण गर्ने परम्पराको सुरु गरिएको रहेछ । हरेक क्षेत्रहरूमा विज्ञानका लेन्सहरू परेका छन् । फलस्वरूप, सयौं रैथाने पूँजीहरूले व्यावसायिक रूप लिएका छन् ।

दुःखको कुरा, वैश्ययुगको सघन यात्रा गरिरहँदा पनि हामीले विज्ञानलाई जनजीवनसँग आफ्नै बुतामा जोड्न सकेका छैनौं । हाम्रा रैथाने खाद्यान्नहरूको उत्पादन, सञ्चिति र उपयोगका परम्परागत ज्ञानलाई विज्ञानको लेन्सले नियालेका छैनौं । हाम्रो परम्परा र संस्कृतिसँग जोडिएका धेरै जस्तो खाद्यान्न विज्ञानका विधिहरूबाट नियमन गरेर व्यवसायीकरण गरिएका छैनन् ।

पौष्टिक तत्वहरूको मात्रात्मक अवस्थाबारे वैज्ञानिक नियमन छैन । रैथाने खाद्यान्नबारे रसायनशास्त्र र सूक्ष्म जीव विज्ञानको कोणबाट अध्ययन गर्दा ज्ञानको नयाँ ढोका पनि खुल्न सक्छ । के थाहा जापानका वैज्ञानिकहरूको जस्तै नेपाली वैज्ञानिकको मानसपटलमा नयाँ विज्ञान अंकुरित पो हुने हो कि ?

त्यसो त त्रिविअन्तर्गत धरानमा खाद्य प्रविधिको केन्द्रीय क्याम्पस २०२९ सालदेखि सञ्चालनमा छ । सरकारी–निजी क्षेत्रबाट खाद्य–प्रविधिका जनशक्तिहरू उत्पादित भइरहेका छन् । तर हाम्रा परम्परागत खाद्यान्नहरूबारे खाद्य प्रविधिको केन्द्रीय क्याम्पसमार्फत वैज्ञानिक अनुसन्धान गरेर गुणस्तरको नियमन, थप परिष्कृत र व्यावसायिक बनाउनेतर्फ ध्यान गएको देखिंदैन ।

त्यसो त, नेपालबाट हिमालय जर्नल अफ साइन्स एण्ड टेक्नोलोजी र जर्नल अफ फुड साइन्स एण्ड टेक्नोलोजी नेपाल नामक खाद्य प्रविधिसँग सम्बन्धित जर्नल प्रकाशित हुन्छन् । अफसोच, अनुसन्धान रिपोर्टहरू जनसरोकार र खाद्य उद्योगसँग जोडिएका भए पनि अनुसन्धान कोष र उद्योगसँग सहकार्यको अभाव देखिन्छ ।

उद्योगमा अनुसन्धान र विकास विभाग हुनैपर्ने वा विषयगत शैक्षिक संस्थानसँग सहकार्यको नीति ल्याउन आवश्यक छ । राज्यले प्राज्ञिक क्षेत्रलाई उद्योगहरूसँग सघन रूपले जोड्न सके व्यावसायिक तथा प्राज्ञिक क्षेत्रको विकासमा टेवा पुग्नेथियो ।

अर्को महत्वपूर्ण कुरा, हाम्रोमा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले खाद्य बजारको नियमन गर्ने भनिए पनि खाद्य सुरक्षा हेर्ने निकायहरू त्यति सक्रिय देखिंदैनन् । राज्यले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा राष्ट्रिय पोषण कार्यक्रममार्फत नेपाली खानाहरूको पोषण प्रोफाइलको विस्तृत रिपोर्ट तयार पारेको छ । तर खाद्य उद्योग मार्फत नागरिकको दिनचर्यासँग जोडेको देखिंदैन । विदेशमा खानाका परिकारहरूमा क्यालोरी, प्रोटिनलगायतका अन्य पौष्टिक तत्वहरू खुलाइएको हुन्छ । नियमित अनुगमन गरिन्छ । हाम्रोमा लागू गर्न सकेका छैनौं ।

अबका दिनमा राज्यले विज्ञान-प्रविधिलाई सघन रूपले जनजीवनसँग जोड्नै पर्छ । विश्वविद्यालयलाई रैथाने ज्ञान र परिष्कृत खाद्यान्नहरूको विकासबारे गहन अध्ययन/अनुसन्धानको क्षेत्रमा समाहित गर्न ठोस कार्यनीति आवश्यक छ। आशा गरौं, देशको विज्ञानको लेन्समा लागेको धुलो पुछेर नागरिकका दैनिकी र रैथाने विरासतहरूलाई पर्गेल्ने विज्ञानको दृष्टि गहिरो बनाउन राज्यले सृजनात्मक पहल यथाशीघ्र गर्नेछ ।

लेखकको बारेमा
डा. ध्रुव बी. खड्का

लेखक जापानको राष्ट्रिय अनुसन्धान संस्थानमा स्टाफ वैज्ञानिकको रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?