+
+
कांग्रेसको उल्टो बाटो :

प्रधानमन्त्रीमा समर्थन, सभामुखमा प्रतिस्पर्धा

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी बन्ने राजनीतिक र नैतिक आधार गुमाएको नेपाली कांग्रेसले सबैका साझा बन्नुपर्ने सभामुखमा चाहिं प्रतिस्पर्धा रोज्यो । कांग्रेसकै कतिपय नेताले पार्टीको यो निर्णयलाई निको मानेका छैनन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ माघ ४ गते २१:३१

४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी भूमिका बिर्सेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुखमा भने उम्मेदवार उठाएको छ ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको हो । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे उम्मेदवार छन् । एमालेका सुवास नेम्वाङ प्रस्तावक र माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन उनका समर्थक छन् ।

प्रतिनिधिसभाको प्रष्ट बहुमत घिमिरेको पक्षमा छ । प्रस्तावक र समर्थक रहेका दलहरुकै मत पाउँदा पनि घिमिरे सभामुख बन्नेछन् । उनको पक्षमा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ र जनमत पार्टीका ६ को समर्थन छ ।

ईश्वरीको पक्षमा आफ्नै पार्टीका ८९ र नेकपा एकीकृत समाजवादीको १० मत प्रष्ट देखिन्छ । उम्मेदवारी दर्ता अघि कांग्रेस नेताहरुले सरकारमा नभएका दलहरुको समर्थन खोजेका थिए । कांग्रेस नेताहरुले जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुसँग छलफल गरेका थिए । जसपाका १२ र लोसपाका ४ सांसद छन् ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४ तथा तीन स्वतन्त्र सांसद अनि विपक्षमा रहेका नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एकएक सांसदले कसलाई मत दिन्छन् भन्ने प्रष्ट छैन ।

जुनसुकै दलबाट निर्वाचित भएपनि सभामुखको भूमिका तटस्थ हुनुपर्छ । सभामुखलाई संसदमा भएका सबै दलको साझा नेता पनि मानिन्छ । त्यही कारण विगतमा सभामुख निर्विरोध चुन्ने गरिएको थियो । सकेसम्म सभामुख उपसभामुखमा सहमति खोज्ने, नभए बहुमत हुने दलले सभामुखमा उम्मेदवारी दिंदा अल्पमतमा भएको पक्षले उम्मेदवारी दिएका छैनन् ।

२०६२/६३ को आन्दोलनपछि चुनिएका सबै सभामुख निर्विरोध हुन् । सबै सभामुख वामपन्थी पृष्ठभूमिबाट आए र कांग्रेसले कसैका विरुद्ध पनि उम्मेदवारी दिएन । पछिल्लो पटक अग्नि सापकोटा सभामुख चुनिंदा कांग्रेस प्रतिपक्षमा थियो । तर उसले प्रतिस्पर्धा गरेन ।

सापकोटा अघिका सभामुख भएका कृष्णबहादुर महरा र ओनसरी घर्ती पनि कांग्रेसको समेत समर्थनमा निर्विरोध चयन भएका थिए ।

सुवास नेम्वाङसँग त चारपटक सभामुख बनेको इतिहास छ । उनी २०६३/०१/३० देखि २०६३/१०/०१ सम्म पहिलो कार्यकाल, २०६३/१०/०३ देखि २०६५/०२/१४ सम्म दोस्रो कार्यकाल, २०६५/०४/१२ देखि २०६९/०२/१४ सम्म तेस्रो कार्यकाल र २०७०/११/०६ देखि २०७२/०६/२७ सम्म चौथो कार्यकाल सभामुख भए । चारै पटक नेम्वाङले कांग्रेसको साथ पाएका थिए ।

तर यो पटक कांग्रेसले सभामुखका उम्मेदवारी दियो । जबकि ९ दिनअघि मात्र कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । सत्तारुढ गठबन्धनको प्रष्ट बहुमत भएको बेला कांग्रेसले प्रतिपक्षमा बस्ने, तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि शेरबहादुर देउवा, केपी शर्मा ओलीसहितका नेताहरु ।

प्रतिपक्षी भनेको आफैंमा ‘वेटिङ इन गभर्मेन्ट’ हो । त्यसमाथि संसदको सबभन्दा ठूलो दल भएकाले पनि यो सरकार तलमाथि भएको अवस्थामा संविधानको धारा ७६(३) अनुसार कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । कांग्रेस नेताहरुकै शब्दमा भन्दा कांग्रेसले ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौं’ भनेर आफूलाई ‘वेटिङ इन गभर्मेन्ट’का रुपमा कायम राख्नुपर्थ्यो । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी बन्ने राजनीतिक र नैतिक आधार गुमायो ।

सबैका साझा बन्नुपर्ने सभामुखमा चाहिं प्रतिस्पर्धा रोज्यो । कांग्रेसका पुराना नेता होमनाथ दाहाल भन्छन्, ‘कांग्रेसले एकपछि अर्को गल्ती गर्दै गएको छ, त्यही क्रममा आजको निर्णय भएको देखिन्छ ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कांग्रेसको गल्ती मान्छन् उनी । को पहिला प्रधानमन्त्री हुने भन्ने विवादमा माओवादी अध्यक्ष प्रचण्ड, एमालेतिर लागेपछि संघ र प्रदेश सबैतिर सत्ता गुमाएको कांग्रेसले राष्ट्रपति निर्वाचनसम्म परिस्थिति अनुकूल हुने आशका नाउँमा विश्वासको मत दिएको थियो ।

त्यही कारण कांग्रेसले प्रमुख प्रतिपक्षी दल हुन योग्य नभएको टिप्पणी हुनथाले कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हुनसक्ने उनको विश्लेषण छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने सभामुखमा विपक्षी दलहरुको उम्मेदवारी स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् । कांग्रेस उम्मेदवारका प्रस्तावक समेत रहेका उनी भन्छन्, ‘सरकार सत्तारुढ पक्षको र संसद प्रतिपक्षीको भन्ने मान्यता स्थापित छ । यसकारण सरकार भन्दा बाहिर रहेका दलहरुको तर्फबाट सभामुखमा ईश्वरी न्यौपाने उम्मेदवारको रुपमा प्रस्तुत हुनुहुन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?