+
+
Shares
 राज्य व्यवस्था समिति :

 देउवाले रोजे विश्वासपात्र, सभापतिमा आइन् न्यौपाने

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको नाममा कांग्रेसका शीर्ष नेताले दुई दिन छलफल गरेर ईश्वरी न्यौपानेको नाम टुंगो लगायतका छन् । श्याम घिमिरे, रामहरि खतिवडा, दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाईं, अम्बिका बस्नेत लगायतको नाममा छलफल गरेर न्यौपानको नाममा नेताहरू सहमतिमा पुगे ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ भदौ १० गते १९:३६

१० भदौ, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले अरू आकांक्षीलाई पछि सारेर पार्टीले ईश्वरी न्यौपानेलाई अघि बढाएको छ । पार्टीका शीर्ष पाँच नेताको दुई दिन बैठक बसेर न्यौपानेको नाममा सहमति जुटेको हो ।

समितिको सभापतिका लागि मुख्य गरी चार सांसदको नाम चर्चामा थियो । तर, कांग्रेसले न्यौपानेलाई सभापति बनाउने निर्णय लियो । समितिमा रहेका दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाईं र हृदयराम थानी समितिको सभापतिका आकांक्षी थिए । त्यही समितिमा रहेकी तर संसदीय सुनुवाइ समितिको सभापति समेत रहेको हुँदा न्यौपानेको नाममा खासै चर्चा भएको थिएन ।

देउवाले दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरेलाई बोलाएका थिए ।

सोमबारको बैठकमा भने महामन्त्री गगन थापा उपस्थित भएनन् । सोमबार बिहान बोलाएर स्थगित गरिएको बैठक देउवाले अकस्मात् दिउँसो बोलाएका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम रहेकाले महामन्त्री थापा बैठकमा सहभागी भएनन् । बैठक स्रोतका अनुसार सोमबारको बैठकमा समितिभित्र र बाहिर रहेका सांसदहरूबारे छलफल भयो ।

प्रमुख सचेतक रहेका घिमिरे, समितिको सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिको सभापति ईश्वरी न्यौपाने लगायत समितिका अन्य सदस्यहरूका विषयमा चर्चा भयो ।

महामन्त्री शर्माले शीर्ष तहबाट समिति सभापति नहुने भएपछि आकांक्षी चार मध्ये एक जनालाई बनाउन सकिने विकल्प अघि सारेका थिए । पार्टी स्रोतका अनुसार सभापति देउवा दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाईं र हृदयराम थानीका पक्षमा देखिएनन् ।

सभापति देउवा नै उनीहरूको पक्षमा नदेखिएपछि अर्को विकल्पमा सुरु भयो । त्यसपछि श्याम घिमिरेलाई प्रमुख सचेतकबाट बनाउन छलफल सुरु भयो ।

संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनमा दिएर बाहिरिने क्रममा न्याैपाने । साथमा सांसद रामहरि खतिवडा ।

सभामुख देवराज घिमिरेको सचिवालयका एक सदस्यका अनुसार महामन्त्री शर्माले प्रमुख सचेतक श्याम घिमिरेलाई राजीनामा गराएर समिति सभापति बनाउन सकिने/नसकिने बारेमा सोमबार फोन संवाद गरेका थिए ।

प्रमुख सचेतक घिमिरेलाई राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउने पक्षमा सभामुख घिमिरे देखिएनन् । सोमबारको बैठकमा तेस्रो व्यक्तिको खोजी सुरु भयो । उपसभापति शीर्ष तहका एक नेताले समिति सभापतिबाट राजीनामा गरेका रामहरिलाई नै दोहोर्‍याउन सकिने विचार राखे । रामहरिलाई दोहोर्‍याउन नहुने पक्षमा हिजोको बैठकमा सहभागी अधिकांश नेताहरू देखिए ।

समितिमा रहेका आकांक्षीहरूमा सभापति देउवा तयार भएनन् । उपसभापति खड्काले संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर सभापति बनाउन सकिने अर्को विकल्प अघि सारे ।

महामन्त्री शर्माले न्यौपानेको विषयलाई अर्का महामन्त्री गगन थापा उपस्थित भएको बैठकले टुंगाउनुपर्ने विचार राखे । साथै, संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा गराएर राज्य व्यवस्थाको सभापति बनाउन सभामुख घिमिरे सकरात्मक हुने/नहुने संवाद गर्न महामन्त्री शर्मालाई बैठकले जिम्मेवारी दियो । महामन्त्री शर्माले मंगलबार बिहान बैठक हुनु अघि सभामुख घिमिरेसँग छलफल गरे ।

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा गराएर राज्य व्यवस्थाको सभापति बनाउन सकारात्मक देखिए । सभापति देउवाले बिहान बोलाएको बैठकमा ईश्वरीलाई राज्य व्यवस्था समितिको सभापति बनाउन नेताहरू एकमत देखिए । तीजको दिनमा महिलालाई समिति सभापति बनाएको निर्णयले राम्रो सन्देश प्रवाह हुने विचार सहित निर्णय गरिएको महामन्त्री शर्माले जानकारी गराए ।

संसदीय सुनुवाइ समितिको सभापतिमा कसलाई पठाउने बारेमा भने छलफल नभएको महामन्त्री शर्माले जानकारी दिए । उक्त समितिको सभापतिको पद सहमहामन्त्री जीवन परियारले अस्वीकार गरेपछि न्यौपानेलाई बनाइएको थियो । कांग्रेसको भागमा परेको संसदीय सुनुवाइ समितिको सभापतिमा पछि निर्णय हुने महामन्त्री शर्माले जानकारी गराए ।

राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्नेक्रममा न्याैपाने। उनी मंगलबार नै निर्विरोध भएकी छन्।

पार्टीमा संस्थापन पक्षकी न्यौपाने समानुपातिक सांसद हुन् । सभापति देउवाको पार्टीमा पहिलो कार्यकालमा उनी शिक्षा विभाग प्रमुख थिइन् । १४ औं महाधिवेशनमा न्यौपाने महिला खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

 कांग्रेस–एमाले सरकार गठन हुँदा मन्त्रीको नाममा समेत चर्चामा रहेकी न्यौपानेलाई राज्यमन्त्री सरह सेवा सुविधा हुने समिति सभापतिको पदको जिम्मेवारी दिइएको छ ।

संघीय निजामती विधेयकको कुलिङ पिरियडको व्यवस्थामा समिति सभापति रामहरिमाथि नैतिक प्रश्न उठेपछि राजीनामा दिएका थिए । कांग्रेस सहमहामन्त्री जीवन परियार संयोजक रहेको संसदीय समितिले समिति सभापति खतिवडा माथि नैतिक जिम्मेवारीको प्रश्न उठाएको थियो ।

साउन २८ गते खतिवडाले राजीनामा दिएदेखि उक्त पद रिक्त छ । पार्टीको निर्णय अनुसार न्यौपानेले मंगलबार उम्मेदवारी दर्ता गरेकी न्याैपाने निर्विरोध चयन भएकी छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?