+
+

उखुको समर्थन मूल्य सच्याउन सर्लाहीका किसानको माग

रासस रासस
२०७९ माघ ६ गते १२:१०

६ माघ, सर्लाही । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् ।

सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने उनीहरुले जनाएका छन् ।

उखु क्रसिङको सिजन सुरु भएको निकै समयपछि सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल रु ६ सय १० तोकेको छ । यो मूल्यमा उद्योगले रु पाँच सय ४० र सरकारले ढुवानी खर्चबापत रु ७० अनुदान दिने जनाएको छ ।

सकारले तोकेको उखुको समर्थन मूल्यले जिल्लाका उखु उत्पादक किसानहरुलाई फाइदा नरहेको उखु उत्पादक किसान मीनबहादुर मगरले बताए । गत वर्षभन्दा यस वर्ष धेरै महँगी बढे पनि उखु उत्पादक किसानहरुको उखुको मूल्य त्यसअनुसार नबढेको उनले बताए ।

उनले भने, ‘उखु उत्पादन गर्दा लाग्ने ज्याला बढेको छ, मलखाद, बीउ–बिजन, श्रमिक र चिनीको समेत मूल्य बढेको र अहिले सरकारले तोकेको समर्थन मूल्यले खेत जोतेको पैसा पनि उठ्दैन।’

यस आर्थिक वर्षको उखुको समर्थन मूल्य जिल्लाका उखु उत्पादक किसानहरु विरुद्ध रहेको अर्का किसान उखु उत्पादक किसान कपिल महतोले बताए । ‘राज्यले तय गरेको समर्थन मूल्य र उखु उत्पादक किसानहरुको लागत आकास जमिनको फरक छ।’ उनले गुनासो गरे ।

लागत लगातार बढ्दै जाँदा तोकिएको उखुको समर्थन मूल्यले लागतसमेत नउठ्ने भएपछि जिल्लाका उखु उत्पादक किसानहरू उखुको विकल्प खेतीतर्फ लाग्नुपर्ने बाध्यता आएको अर्का उखु उत्पादक किसान श्रीधर रायले बताए ।

जिल्लामा देशभरिमा सबैभन्दा धेरै उखु खेती हुने गरेको भए पनि पछिल्ला केही वर्ष यता लगातार उखु उत्पादन घट्दै गएको चिनी उद्योगहरुको तथ्याङ्कमा उल्लेख छ । उखु उत्पादन घट्दै जानु उखु उत्पादक किसानहरुको लागतअनुसार मूल्य नपाउँदा गर्नु परेको आन्दोलन मुख्य कारण रहेको उखु उत्पादक किसान अगुवा एवम् नेपाल उखु उत्पादक सङघका अध्यक्ष राजकुमार उप्रेतीले बताए ।

‘राज्यसँग सडक आन्दोलनबाट सङ्घर्ष गर्न नसक्ने भएपछि जिल्लाका उखु उत्पादक किसानहरू उखु खेतीबाट पलायन हुनुपरेको छ, जसका कारण जिल्लामा उखु उत्पादन घटेको छ।’, उनले भने ।

उनका अनुसार समयमा उखुको भुक्तानी नपाउनेदेखि उखुको उपयुक्त मूल्य नपाउने सम्मको दुःख जिल्लाका उखु उत्पादक किसानहरूले भोग्नुपरेको छ। ‘उखु क्रसिङ सिजनमा उद्योगहरुले विद्युत् पनि बाहिर बेच्ने र त्यस बापतको रकम उखु उत्पादक किसानहरुलाई उद्योगले दिनुपर्नेमा अहिलेसम्म कति रकम किसानहरुले पाउने भन्ने यकिनसमेत छैन । अहिलेसम्म त्यसबापतको कुनै पनि रकम जिल्लाका उखु उत्पादक किसानहरुले पाएका छैनन् ।’ अध्यक्ष उप्रेतीले भने ।

सरकारले तय गरेको उखुको समर्थन मूल्य किसानहरूलाई मान्य नहुने नेपाल उखु किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । सरकारले उखु उत्पादक किसानहरुलाई बेवास्ता गरेर उखुको समर्थन मूल्य निर्धारण गरेको उनको आरोप छ ।

सरकारका प्रतिनिधि र उद्योगीले आफूखुसी पटक–पटक जिल्लाका उखु उत्पादक किसानहरुको लागत र त्यसबाट उत्पादन हुने चिनीजन्य पदार्थको मूल्यलाई समेत समायोजन गरेर उखुको वैज्ञानिक आधारमा समर्थन मूल्य तोक्न गरेको र त्यस जिल्लाका उखु उत्पादक किसानहरुको लागतका आधारमा आफूहरुले मूल्य निर्धारण गर्ने गरेको आग्रह सरकारका प्रतिनिधि र उद्योगीले नसुनेको अध्यक्ष मैनालीले गुनासो गरे । यसबाट जिल्लाका उखु उत्पादक किसानहरू प्रत्यक्ष मारमा परेका उनको भनाइ छ ।

सरकारले तोकेको समर्थन मूल्यमा जिल्लाका उखु उत्पादक किसानहरुसँग उखु खरिद गर्न तयार रहेको उद्योगीहरूले बताएका छन् । बुधबार सरकारले सार्वजनिक गरेको उखुको समर्थन मूल्यले जिल्लाका उखु उत्पादक किसानहरुलाई समेत राहत पुग्ने उद्योगहरुको दाबी छ ।

उद्योगले रु पाँच सय ४० र सरकारका तर्फबाट ढुवानीबापत रु ७० अनुदान दिएपछि जिल्लाका उखु उत्पादक किसानहरूलाई उखु खेतीबाट आम्दानी गर्ने वातावरण सृजना भएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । तर उखुको उत्पादनबाट लागतसमेत उठ्न छाडेपछि जिल्लाका उखु उत्पादक किसानहरू लगातार अन्य बालीतर्फ आकर्षित हुन थालेका छन् ।

हजारौँ हेक्टर क्षेत्रफलमा लाखौँ क्विन्टल उखु उत्पादन हुने गरेको जिल्लामा केही वर्षयता उद्योगहरूले पर्याप्त उखु पाउन छाडेका छन् । तीन उद्योग रहेको जिल्लामा गत सिजन उखु नपाउँदा उद्योगहरूले मुस्किलले एक महिना उखु क्रसिङ गरेका थिए ।

यसअघि १९ हजार बिघा क्षेत्रफलमा उत्पादन हुँदै आएको उखु बर्सेनि भारी मात्रामा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्कले देखाएको छ । जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग, बग्दहमा रहेको महालक्ष्मी चिनी उद्योग र धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०७४÷७५ को कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा एक करोड लाख क्विन्टल उखु उत्पादन भएको थियो । त्यसयता लगातार उखु उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।

उनका अनुसार उखु उत्पादक किसानहरुको लागतसमेत उठ्न छाडेकाले जिल्लाका उखु उत्पादक किसानहरु उखु खेती छाडी अन्य खेतीतर्फ आकर्षित हुँदा उखु उत्पादन घटेको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?