+
+

महानगरमा डोजरको मनपरी

५० क्षेत्रमा डोजर चल्यो, नतिजा के आयो ?

अमृत चिमरिया अमृत चिमरिया
२०७९ माघ ६ गते २१:३५

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र (बालेन) साहले गरेको काममा धेरैले सम्झिने भनेको डोजर चलाउनु नै हो । नक्सा विपरीत बनाएका संरचना भत्काउन उनी आफैं नर्भिक अस्पताल र बानेश्वरको अल्फा बिटा कम्प्लेक्स पुगेको भिडियो त सामाजिक सञ्जालमा भाइरल नै भयो ।

बालेन निर्वाचित भएपछि नक्सा विपरीतका संरचना भत्काउन महानगरपालिका आक्रामक भएर लाग्यो । महानगरपालिकाका अनुसार गत साउनदेखि हालसम्म ५० भन्दा बढी क्षेत्रमा डोजर चलिसकेका छन् । डोजर भने निर्माणमा नभई संहारमै प्रयोग भएको छ ।

महानगरपालिकाले अवैध रुपमा बनेका संरचनाहरुलाई हटाएर सहरी सुव्यवस्था कायम गर्न भन्दै डोजर चलाउन थालेको थियो । सहरमा नक्सा पास नगरी बनेका र कतिपय ठाउँमा सार्वजनिक बाटो र जग्गा मिचेर बनाइएका संरचनामाथि डोजर चलाउने महानगरको योजना थियो । तर, अहिले डोजरको प्रयोगले गलत बाटो समाएको छ । र, महानगर जतासुकै पनि बल प्रयोग गर्न डोजरको सहयोग लिइरहेको छ ।

पर्याप्त पूर्वतयारी र योजनाबिना नै डोजर चलाएर भत्काएका ठाउँ अहिलेसम्म अस्तव्यत छन् । महानगरपालिकाले वडा कार्यालयबाट माग भएको, महानगर प्रमुख, प्रशासकीय अधिकृत, विभागीय अधिकारी र नगर प्रहरी प्रमुखलाई सूचना आएका घरमा संरचना भत्काउन डोजर प्रयोग गरेको पाइएको छ ।

महानगरको एक अधिकारी महानगरको डोजर तजबिजीमा चल्न थालेको बताउँछन् । ‘कतैबाट गुनासो या सूचना आयो भने डोजर पठाउने कुरा भइहाल्छ, सूचनाको तथ्य के हो, कति संवेदशील विषय हो, कसैको स्वार्थ गाँसिएको छ कि छैन, पर्याप्त समय दिन जरुरी छ कि छैन, सुरक्षामा असर पर्छ कि पर्दैन भन्ने हेक्का नै राखिन्न’, ती अधिकारी भन्छन् ।

मेयर वा महानगर प्रहरी प्रमुखलाई कन्भिन्स गर्न सक्नेले जतिसुकै बेला डोजर लगेर चलाउन सक्ने अवस्था  छ । ती अधिकारी भन्छन्, ‘यो खालको संस्कृति घातक हुने कुरा त सुकुम्बासी बस्तीमा डोजर लिएर जाला ३६ प्रहरी घाइते भएको र टुकुचा खोतल्ने अभियानबाट पछाडि फर्किनुपरेको घटनाले पुष्टि गरेन र ?’

महानगरले पर्याप्त गृहकार्य विना नै डोजर चलाउँदा पर्याप्त समय नदिंदा निजी सम्पत्तिको सुरक्षा गर्न समेत नभ्याएर व्यक्तिहरु पीडित बन्न पुगेका छन् ।

पूर्वाधारविज्ञ आशिष गजुरेल चर्चाका लागि मात्रै ‘डोजर कल्चर’ विकास गरिए त्यसले सही नतिजा दिन नसक्ने बताउँछन् । ‘शहरी व्यवस्थापनका लागि आवश्यक काम सहजै हुँदैन भने बलका रुपमा डोजर प्रयोग गर्नु आफैंमा गलत हैन,’ उनी भन्छन्, ‘तर डोजर चल्नुअघि निर्णयसहित सबै प्रक्रिया पालना भएको हुनुपर्‍यो, डोजर चलेपछि के गर्ने हो भन्ने स्पष्ट योजना र तयारी पनि हुनुपर्‍यो । अहिले जतापछि आफूतिर ध्यान खिच्न मात्रै डोजर चलाउने मानसिकता विकास भइरहेको छ । यो कुरा ठीक होइन ।’

भत्काएर मात्रै लोकप्रिय हुने अवस्था आए विकास र सिर्जनाको काममा नेतृत्वले नसोच्ने भन्दै उनले रचनात्मक ढंगबाट पनि सोच्न आवश्यक हुने बताए ।

‘ढल, बाटो, बिजुली, सडक, लगायत पूर्वाधारसहित समग्र शहरी व्यवस्थापनको उउटा गुरुयोजना निर्माण गरेर काम हुनुपर्ने हो, गजुरेल भन्छन्, ‘अहिले त डोजर चलाएर भताभुंग पारेपछि के गर्ने भन्ने योजना नै देखिंदैन, भत्काउनु मात्रै समस्याको समाधान हैन, त्यसपछि के गर्ने भन्ने कुरा चाहिं मुख्य र महत्वपूर्ण हो ।’

२३ साउनमा महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालमा नक्साविपरीत बनाएका संरचना भत्काउन २४ घण्टे सूचना टाँस गर्‍यो । संरचना नभत्काएपछि भोलिपल्ट मेयर बालेन शाह आफैं नर्भिक पुगे । अस्पतालले अक्सिजन प्लान्टसहित बिरामीको जीवन बचाउन आवश्यक संरचना रहेको बताएपछि उक्त संरचना हटाउन हटाउन लाग्नेसम्मको समय दिने भनेर बालेन फर्किए । भोलिपल्ट सर्वोच्चमा नर्भिकले रिट दियो र सर्वोच्चले तत्काल संरचना नभत्काउन अन्तरिम आदेश दिएपछि महानगरको डोजर चल्न पाएन ।

त्यसपछि महानगरले नक्सामा पार्किङ उल्लेख भएको तर अन्य व्यवसायलाई भाडामा लगाएको ठाउँ खाली गराउन डोजर चलायो । त्यस अनुसार ६ भदौदेखि नयाँ बानेश्वर क्षेत्रका व्यापारिक भवनको बेसमेन्टमा डोजर चलाउन सुरु गरेको थियो । सुन्धारा, न्युरोड, कोटेश्वरसहित सहरका मुख्य क्षेत्रका व्यावसायिक भवनका पार्किङ खाली गर्न डोजरहरु चले ।

त्यसपछि महानगरले नक्सा विपरीत प्रयोगमा रहेका सेटब्याक क्षेत्र र नक्सा र मापदण्ड विपरीतका संरचना भत्काउन पनि डोजर चलाउने अभियान तीव्र पार्‍यो । त्यस क्रममा सामान सार्न पर्याप्त समय नदिएको भन्दै घर तथा जग्गाधनीहरुले विरोध गरेपनि महानगरको यस्तो कदमको धेरैतर्फबाट सह्राहना भएको थियो । फुटपाथ व्यवसाय हटाउने, अनधिकृत संरचना भत्काउने र मापदण्ड विपरीतका बोर्डहरु हटाउनेसम्मका काममा डोजरको प्रयोग हुँदा धेरैले महानगरको समर्थन गरेका थिए ।

निजी जमिनसम्म पुग्यो

महानगर पार्किङ खाली गराउनेमा मात्र सीमित रहेन । उसले नक्सा विपरीत बनेका सबै संरचना हटाउन थाल्यो । महानगरपालिका १ साउनमा ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो । २३ भदौमा पनि सीमा पर्खाल नियमित गर्ने तथा अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिन र भवनहरूको नक्सा स्वीकृत/नियमित गर्नेबारे ९० दिनको समयम दिएर सूचना प्रकाशित भएका थिए ।

यी दुवै सूचनाले नक्सा पास नगरी निर्माण भएका तर नक्सा पासयोग्य कम्पाउण्ड वाल, घर, तला, टहरा, ग्यारेजको नक्सा पास पेश गर्न महानगरवासीका लागि एकपटक अन्तिम अवसर प्रदान गरेको महानगरका सुचना अधिकारी वसन्त अधिकारी बताउँछन् । तर, त्यसअनुसार कति घर पर्खाल नियमित गरे भन्ने महानगरको तथ्यांक छैन ।

तर, यिनै सूचनालाई आधार बनाएर महानगरले डोजर अभियानलाई यतिसम्म फैलायो कि सडक छेउछाउका अस्थायी संरचनामा मात्रै डोजर चलाएन, सार्वजनिक जमिनमा वर्षौंअघि बनेका सार्वजनिक भवनहरु पनि भत्काउन थालियो । १४ असोजमा काठमाडौंको थायमदु (बांगेमुढा) स्थित ४५ वर्ष पुरानो सामुदायिक घर (त्वाः छेँ) भवनमा डोजर चलाएपछि स्थानीय विरोध गर्दै उच्च अदालतमा रिट हाले । अदालतले नभतकाउन अन्तरिमक आदेश दिएकै अवस्थामा महानगरले बल प्रयोग गरेर डि्रलर प्रयोग गरेर भत्काउने काम फत्ते गर्‍यो ।

महानगर यतिमै रोकिएन,  २८ पुसमा काठमाडौं-३१ स्थित शंखमूलमा साहेल सिंह महर्जन (अवाले)को जमिनमा सडक विस्तार गर्ने भन्दै डोजर चलायो । डोजर लिएर गएका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसँग जग्गाधनीले महानगरको लिखित पत्र वा निर्णय माग गरेका थिए । पाण्डेले ‘उठाइदिने’ धम्की दिंदै जग्गामा सडक मापदण्ड मिचिएको दाबीसहति डोजर चलाएपछि महानगरको कदमको आलोचना भएको छ ।

४ मिटरको बाटोलाई ‘८ मिटरको बाटो छ’ भन्दै आफ्नो जग्गाभन्दा पछाडिको जग्गाहरु टुक्राएर बेच्ने भूमाफियाहरुसँग महानगरपालिका मिलेको हुनसक्ने आंशका अवाले परिवारको छ । स्थानीय समुदायले समेत मिलेर त्यसको प्रतिकार गर्दागर्दै डोजरले पर्खाल भत्काएको थियो । ३१ नम्बर वडाका वडाध्यक्ष सरोज ढकाल वडाको निर्णयअनुसार डोजर चलाएको बताउँछन् । ‘८ मिटरको सडक हो, त्यसैअनुसार खाली गरायौं, मुआब्जा क्षतिपूर्ति के दिनुपर्छ पर्दैन भन्ने कुरा उपत्यका विकास प्राधिकरणलाई थाहा छ’ उनले भने ।

सडक फराकिलो पार्ने बहानामा निजी जग्गामाथि समेत डोजर चलाउन थालेको भन्दै शुक्रबारदेखि काठमाडौं सडक विस्तार पीडित र संरक्षण अभियान्ताहरुले गैरकानुनी सडक विस्तारविरुद्ध विरोध प्रदर्शन कार्यक्रम नै गरेका छन् । पीडितहरुले ब्यानरमा मेयरसँग प्रश्न गरेका छन्,’कर चाहिं असुल्ने, निजी सम्पत्तिमा बिना पुर्जी, बिना अधिकार गुणगर्दी शैलीमा डोजर आतंक गर्ने ?’  यति मात्रै हैन, उनीहरुले कम्प्लेक्सहरुमा भूमिगत पाकिङ गराउने अभियान कहाँ पुग्यो, टुकुचा बिगार्ने अनि लापरवाही तरिकाले छाड्ने ? लगायतका थुप्रै प्रश्न महानगरसँग गरेका छन् ।

हुन पनि, महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरेको टुकुचा खोला पनि खोतल्न थालेको थियो । जयनेपाल हलबाट टुकुचा खोतल्न थालेको महानगरपालिकाले ४ भन्दा बढी ठाउँमा डोजर प्रयोग गरेर खोला निकाल्यो । तर, २१ जना घरधनीलेे दिएको रिटमा उच्च अदालतले तत्काल घर नभत्काउन आदेश दिएपछि महानगरपालिकाको डोजर रोकिएको छ । पुरातत्व विभागले सो टुकुचाको भूमिगत सुरुङ संरचना १०० वर्षभन्दा पुरानो भएकाले पुरातात्विक सम्पदा भएको ठहर गर्दै नभत्काउन निर्देशन दिइसकेको छ । अहिले महानगरले टुकुचा खोतलेका ठाउँहरु त्यत्तिकै अलपत्र छाडेको छ ।

डोजर लगाएको ठाउँ भद्रगोल

महानगरले सहरलाई व्यवस्थित र सुन्दर बनाउने भन्दै डोजर चलाएका अधिकांश स्थान भने अझै भद्रगोल अवस्थामै छन् । अवैध भत्काएको ठाउँलाई व्यवस्थित बनाउन न महानगर अघि सरको छ, न घरधनीलाई जिम्मेवार बनाएको छ । भत्काइएको संरचनाका कंक्रिटहरु असरल्ल छाडिएको छ ।

सुन्धारास्थित काठमाडौं मलबाहिरका संरचना भत्काएको ४ महिनासम्म भत्काइएका संरचना असरल्ल छाडिएको छ । डोजर चलेका धोबीखोला करिडोरसहितका स्थानहरु अव्यवस्थित र पैदलयात्रुका लागि असुरक्षित बन्न पुगेका छन् । काठमाडौं महानगर प्रहरी भने काठमाडौं मल आफैंले भत्काएको ठाउँ सफा गर्छु भनेकाले नपन्छाएको दाबी गर्छ ।

बेसमेन्ट पार्किङ खुलाउन डोजर चलाएका अधिकांश ठाउँहरु अझै पार्किङ सुरु भएको छैन । केही ठाउँमा भने फेरि पुरानै तरिकाबाट व्यवसाय सञ्चालन नै सुरु भइसकेको छ । महानगरले खाली गराएको बानेश्वरसहितका क्षेत्रका कतिपय फुटपाथहरुमा भने पार्किङ भइरहेको छ ।

आलोचना छल्ने तरिका !

मेयर बालेन शाहले फुटपाथमा साना व्यवसायी र ठेला हटाउने निर्णय गरेपछि यसको सार्वजनिक आलोचना भयो । त्यसपछि मेयरले नक्सा विपरीतका संरचना हटाउन डोजर चलाउन थाले । त्यसमा वाह-वाही पाएर हौसिएका महानगर टुकुचा उत्खननसम्म पुग्यो । तर, त्यसको आलोचना भएपछि महानगरको डोजर सुकुम्बासी वस्तीमा पुग्यो । महानगरको डोजर अहिले मनपरी चल्न थालेको भन्दै घरधनी र व्यवसायी आतंकित छन् ।

तर, महानगरको डोजर लगाउने कामको अगुवाइ गरिरहेको महानगर प्रहरी भने योजना बनाएरै डोजर चलाउने गरिएको दाबी गर्छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कल सेन्टरमा सूचना, वडा कार्यालयको अनुरोध, महानगरको निर्णयको आधारमा डोजर चलाइएको बताउँछन् ।

‘डोजर लगाउनुपर्ने भनेर पहिचान भएका स्थानहरुमा नै डोजर लगाएका हौं,’ पाण्डे भन्छन्, ‘कल सेन्टरमा फलानो ठाउँमा बेसमेन्ट पार्किङ हटाउनुपर्‍यो, सार्वजनिक जग्गा अतिक्रमण गर्‍यो भन्ने गुनासो आउँछ, त्यसपछि अध्ययन गरेर डोजर चलाउँछौं ।’

वडाका जनप्रतिनिधिहरुको रोहबरमा डोजर चलाइने गरेको भन्दै उनले कतिपय स्थानमा महानगरपालिकाबाटै निर्णय गरेर डोजर चलाइएको बताए । उपत्यका विकास प्राधिकरण र एकीकृत बागमती सभ्यता विकास समितिको आग्रहमा पनि डोजर लगाउने गरिएको उनले बताए ।

डोजर लगाएपछि भद्रगोल भएका स्थानको व्यवस्थापन गर्न पनि काम भइरहेको उनको दाबी छ । ‘केही स्थानमा संरचना बनाउनेहरुले नै व्यवस्थापन गर्ने भन्दै छोडिएको छ,’ उनले भने, ‘कतै समस्या छ भने हामीले काम गरिरहेका छौं ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?