+
+

मर्जरपछि पुराना ग्राहकका बैंक खाता, मेरो सेयर लगायतका कारोबार के हुन्छ  ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १९:१९

६ माघ, काठमाडौं । पछिल्लो समय धमाधम बैंकहरु मर्जर भइरहेका छन् । पुसमा मात्रै ८ वटा वाणिज्य बैक मर्जर भएर ४ वटाको इजाजत खारेज भएका छन् । लाखौं सेवाग्राही भएका बैंकहरु एक–आपसमा मर्जरमा जाँदा मर्जर हुनुभन्दा अगाडिको बैंकबाट लिएको वित्तीय सेवा के हुन्छ ? यो जिज्ञासा तपाईंहरुलाई पनि होला ?

२८ असारमा नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्‍यो भने पुसमा मात्रै ८ वटा बैंकहरु मर्जर हुँदा ४ वटा बैंक कायम भएका छन् । कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंक मर्जर भएर १७ पुसेखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भयो ।

यस्तै २५ पुसमा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर भएर ग्लोबल आईएमई बैंककै नामबाट एकीकृत कारोबार सुरु भयो । २६ पुसमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभेर एकीकृत कारोबार सुरु भयो । यस्तै २७ पुसमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जर भई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

मर्जरपछि बैंकको खाता नम्बर के हुन्छ ? मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्ड जस्ता सेवा के हुन्छ भन्ने जिज्ञासा पनि हुनसक्छ । राष्ट्र बैंकले एक भन्दा बढी बैंकमा एक भन्दा बढी बचत खाता खोल्नसक्ने व्यवस्था गरेको भएपनि एउटै बैंकमा एक भन्दा बढी बचत खाता खोल्न नपाउने व्यवस्था गरेको छ । तर, एउटै व्यक्ति मर्जरमा जाने दुवै बैंकमा बचत खाता छ भने मर्जरमा गएपछि के गर्ने ?

दुई वटै बैंकमा बचत खाता हुनेले एउटा खाता बन्द गर्नुपर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल बताउँछन् । तर, मर्जर भएको केही समयसम्म भने दुवै खाता सञ्चालन गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको उनले बताए ।

बैंकले मर्जरपछि ‘डाटा माइग्रेसन’ सकेर दोहोरो खाता भएकाको विवरण अध्यावधिक गर्नुपर्ने जस्ताकार्य गरेर बैकंले दोहोरो बचत खाता हुनेलाई सूचना प्रकाशित गर्ने कार्य गरिरहेको प्रभु बैंकले जनाएको छ ।

ऋणी खाता र मुद्दती निक्षेप के हुन्छ ?

मुद्दती खाता निक्षेप अनुसार नै फरक हुने भएकोले निक्षेपकर्ताले मुद्दती निक्षेप अवधि र उक्त खातामा पाइने ब्याजदर यथावत हुन्छ । यस्तै एकल ग्राहक सीमा नाघ्ने अवस्थामा त्यस्तो ऋण सीमाभित्र ल्याउनको लागि राष्ट्र बैंकले निश्चित समय दिने र अन्य ऋण खाता यथावत हुने ढकाल बताउँछन् ।

तर, एउटै प्रकृतिको कर्जा दुवै बैंकबाट फरक प्रिमियमा लिएको अवस्थामा भने मर्जरपछि कति प्रिमियम हुने भन्नेमा अन्योलता रहेको छ । यसमा बैंकले आफूखुसीको निर्णय गर्ने गरेको छ । एउटै ग्राहकको एकभन्दा बढी शीर्षकमा कर्जा प्रवाह गर्न राष्ट्र बैंकको नीतिले रोक्दैन । यसले मर्जर तथा एक्विजिसनमा जाने दुवै बैंकबाट ऋण लिएको छ भने एउटै व्यक्तिको एकभन्दा बढी ऋण खाता सञ्चालन गर्न नीतिगत रुपमा कुनै समस्या हुँदैन । यदि, एउटै ग्राहकले दुवै बैंकमा बेस रेटमा फरक प्रिमियमा ओभरड्राफ्ट कर्जा लिएको छ भने त्यसमा भने राष्ट्र बैंकले कुनै पनि व्यवस्था नगर्दा मर्जरपछि तय हुने प्रिमियम बैंकले आफूखुसी निर्धारण गर्ने छुट पाएको छ । एउटै शिर्षकमा एउटै बैंकमा दुईवटा कर्जा खाता नहुने भएकोले त्यसलाई मर्ज गर्नुपर्ने हुन्छ ।

बैंक खाता नम्बर परिवर्तन हुने

सर्वसाधारणले दुई वटा बैंकमा खाता भएमा एउटा खाता भएमा बन्द गर्नुपर्ने र एउटा बैंकमा मात्रै खाता भएपनि खाता नम्बर परिमार्जन हुने बैंकर ढकाल बताउँछन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोगकर्ताले भने परिवर्तित भएको खाता नम्बर त्यसबाट नै प्राप्त गर्न सक्ने उनले बताए ।

तर, मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग नगर्ने ग्राहकले भने नजिकको शाखा कार्यालयमा गएर खाता नम्बर लिनुपर्ने उनले बताए । बैंकले दिने सेवा नै प्रभावित भने नहुने तर पुराना खाता नम्बरमा डिजिटल माध्यमबाट भुक्तानी गर्न भने समस्या हुने भएकोले नयाँ खाता नम्बर लिनुपर्ने उनको सुझाव छ । खाताको कोड नम्बर परिवर्नन हुने भएकोले मर्जर हुन आउने बैंकको सेवाग्राहीको खाता नम्बर भने परिवर्तन हुने गर्दछ ।

मोबाइल बैंकिङ प्रयोगकर्ताले पुरानो माबाइल एप अपग्रेड गर्नुपर्ने र कतिपय बैंकले भने पुरानो मोबाइल एपमा लगइन गर्दा सिधै नयाँ एप खुल्ने व्यवस्था पनि गरेका छन् । कतिपय बैंकको भने प्लेस्टोर वा एप स्टोरबाट एप अपग्रेड गर्नुपर्छ । तर, पुरानो युजर आईडी र पासवर्डले नै लगइन गर्न सकिन्छ । त्यसमा लगइन गरेपछि सजिलै परिवर्तन भएको खाता नम्बर पाउन सकिन्छ ।
यस्तै कनेक्ट आईपीएस प्रयोग गर्नेले भने परिवर्तन भएको खाता नम्बर लिएर अध्यावधिक गर्नुपर्ने हुन्छ । मर्जरमा जाँदा कोर बैंकिङ सिस्टम र सफ्टवेयर कुन बैंकको प्रयोग हुन्छ त्यस बैंकका ग्राहकको खाता नम्बर परिवर्तन हुँदैन । यस्तै धितोपत्रको दोस्रो बजार कारोबारमा प्रयोग हुने खाता नम्बर पनि ग्राहकले परिवर्तन गर्नुपर्ने हुन्छ ।

डेबिट/क्रेडिट कार्ड र चेकबुक के हुन्छ ?

डेबिट तथा क्रेडिट कार्ड र चेकबुक भने मर्जरपछि पनि पुरानै बैंकको प्रयोग गर्न सकिने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ढकाल बताउँछन् । तर, नयाँ चेकबुक लिँदा भने नयाँ बैंकको पाइने उनले बताए । यस्तै डेबिट तथा क्रेडिट कार्डको म्याद नसकिँदासम्म पुरानै प्रयोग गर्न सकिन्छ ।

सेयर कारोबारमा के हुन्छ ?

हितग्राही खातामा प्रयोग खाता नम्बर परिवर्तन भएको छ भने उक्त हितग्राही खातामा प्रयोग भएको बैंक खाता नम्बर परिवर्तन गर्नुपर्ने हुन्छ । निक्षेप सदस्यको डाटा मर्जर भएपछि मेरो सेयरमार्फ नै उक्त खाता अध्यावधिक गर्न सकिन्छ । बैंक खाता र हितग्राही खाता खोलेको निक्षेप सदस्य एउटै बैंकमा भएमा भने त्यसले आफैं पनि बैंक खाता परिवर्तन गरिदिन सक्छ अन्य अवस्थामा खाता नंम्बर अध्यावधिक गर्नुपर्ने हुन्छ ।

यस्तै दोस्रो बजार कारोबारका लागि धितोपत्र दलाल व्यवसायीको केवाईसी भेरिफाइ गर्दा प्रयोग भएको बैंक खाता पनि अध्यावधिक गर्नुपर्ने हुन्छ ।

सेयर के हुन्छ ?

मर्जरअघि दुवै बैंकको सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ भने एकीकृत कारोबार गर्दा १५ दिन सेयर कारोबरा रोक्न सक्ने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको छ । एक्विजिसन गरेको भए मर्जर एक्विजिसन गर्ने बैंकको सेयर कारोबारमा कुनै समस्या हुँदैन भने गाभिने बैंकको सेयर कारोबार नेप्सेमा सूचीकृत भएपछि एक्विजिसन गर्ने बैंकको नामबाट नै सेयर कारोबार हुन्छ ।

यस्तै मर्जरमा गएको अवस्थामा भने मर्जरपछि बन्ने बैंकको नामबाट धितोपत्र सूचीकृत भएर सोही नामबाट सेयर कारोबार हुन्छ । बराबरी हैसियतमा मर्जरमा जाँदा दुवै बैंकको सेयर संख्या जोडिएर नेप्सेमा सूचीकृत हुन्छ ।

कुमारी र एनसीसी, प्रभु र सेञ्चुरी ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू बराबरी हैसियतमा मर्जर तथा एक्विजिसनमा गएकोले दुवै बैंकको सेयर जोडिन जान्छ । तर, नेपाल इन्भेष्टमेन्ट र मेगा भने साविकका मेगा बैंकका सेयरधनीले मर्जरपछि बने बैंकमा १० कित्ता बराबर ९० कित्ता र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरधनीको मर्जरपछि बन्ने बैंकमा १०० कित्ता बराबर १०० कित्ता नै हुने गरी मर्जर भएको थियो । यसमा भने मर्जरपछि बन्ने बैंकमा उक्त सेयर आदानप्रदान अनुपात अनुसार सेयर सेयर समायोजन भएर सूचीकृत हुन्छ । यसरी सूचीकृत भएपछि नियमित सेयर कारोबार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?