+
+

शेखरलाई १५ औं महाधिवेशनको सभापति घोषणा गर्न माग

लिलु डुम्रे लिलु डुम्रे
२०७९ माघ ८ गते १६:१८

८ माघ, काठमाडौं । महाधिवेशन आउन तीन वर्ष बाँकी छँदै कांग्रेसको शेखर कोइराला–गगन थापा समूहभित्र आगामी नेतृत्वलाई लिएर फरक–फरक मतहरु प्रकट भएका छन् ।

संसदीय दलको चुनावमा सोचेजति मत नआएको विश्लेषण हुँदै गर्दा यो समूहभित्र एकत्व हुन नसकेको भन्दै नेताहरुले चिन्ता प्रकट गरेका छन् ।

केही नेताहरुले आफ्नो समूहको साझा नेता को हो भन्नेमा अलमल देखिँदा पार्टीभित्रको संघर्षमा सोचेजस्तो सबल प्रस्तुति हुन नसकिरहेको विश्लेषण गरेका छन् ।

संसदीय दलको उम्मेदवार चयन, प्राप्त मत, सरकारलाई विश्वासको मत प्रदान, टिकट वितरण लगायतमा आफ्नै समूह एकढिक्का हुन नसकेकोमा शेखर–गगन समूहका नेताहरुले असन्तुष्टि राखेका छन् । राष्ट्रिय र पार्टी भित्रको राजनीतिका विषयमा छलफल गर्न बोलाएको बैठकमा नेता शेखर कोइराला र गगन थापालाई समान धारणा बनाउन सुझाव दिएका छन् ।

आफ्नो समूहबाट संसदीय दलको उम्मेदवार छिटो गरी तय गर्न नसकेकामा शीर्ष तहका नेताहरुलाई प्रश्न उठाइएको थियो । संसदीय दलमा आफ्नै समूहको सबै मत नआउनुको कारण पहिल्याउनुपर्ने मत नेताहरुले राखे । ‘टिममा विश्वास हुनुपर्‍यो । संसदीय दलमा आफ्नो पक्षको मत पनि किन आएन?’ नेता ह्रदयराम थानीले प्रश्न गरे ।

सांसद मैना रावल कार्कीले संसदीय दलको नेताको मत परिणामपछि आफूप्रति आशंका गरिएको भन्दै नेताहरुसँग गुनासो पोखिन् । आफ्नो समूहको एकत्व बलियो नहुँदा नै संसदीय दलको निर्वाचनमा आशा गरे अनुरुप मत नआएको नेताहरुको तर्क थियो ।

समूहलाई थप शक्तिशाली बनाउन १५ औं महाधिवेशन केन्द्रित भएर गतिविधि बढाउनुपर्ने सहभागी नेताहरुको जोड थियो । सभापतिको उम्मेदवार अहिले नै घोषणा गरेर जाँदा समूहको बल बढ्ने र पार्टीमा ऊर्जा थपिने केही नेताले तर्क गरेका थिए ।

उपसभापति धनराज गुरुङले १५ औं महाधिवेशनमा आफ्नो समूहको सभापति घोषणा गरेर जानुपर्ने तर्क राखेका थिए । १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार शेखरलाई अहिले नै घोषणा गरेर जान उपयुक्त हुने तर्क उपसभापति गुरुङले राखेका थिए ।

गुरुङको बोली उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘रूपान्तरण र पुस्तान्तरणको मुद्दालाई शेखरले प्राथमिकता दिनुभएको छ । उहाँलाई सभापतिको उम्मेदवार घोषणा गरेर जाऔं ।’

गुरुङको बोलीमा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले समर्थन गरेका थिए । ‘१५ औं महाधिवेशमा हाम्रो तर्फको सभापतिको उम्मेदवार शेखर दाइ हो भनेर पदाधिकारीले बोल्नुपर्‍यो’, लिम्बुले बैठकमा भने ।

शेखर–गगन पक्षको बैठकको प्रारम्भिक चरणमा बोल्ने सबैजसो नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको टिप्पणी गरेका छन् ।

बैठकको प्रारम्भ गर्दै नेता शेखरले विश्वासको मत दिनु गल्ती भएको स्वीकार गरेका थिए । कार्य सम्पादन समितिको बैठकमा तटस्थ बस्ने प्रस्ताव राखेपनि आफ्नो धारणाको सुनुवाइ नभएको उनले सुनाए ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन । दिएर गल्ती गरियो । तटस्थ बसौं भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नुपर्ने बाध्यता भयो ।’

पाँच सांसदले मात्रै विश्वासको दिने निर्णयमा असहमति राखेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा थिए । विश्वासको मत दिएर गल्ती गरेको ‘आउटपुट’ आउँदै गरेको बैठकपछि नेता चन्द्र भण्डारीले बताए । केन्द्रीय सदस्य मुक्ता यादवले कांग्रेसले विश्वासको मत फिर्ता गर्नुपर्ने तर्क राखिन् ।

राष्ट्रपति पद कांग्रेसले पाउने आशा त्याग्न नेताहरुले सुझाव दिएका छन् । पार्टीभित्र राष्ट्रपति पद पाइन्छ कि भन्ने झिनो आशा कांग्रेसभित्र अझै पनि जीवित छ । राष्ट्रपति पदको लोभमा नलागेर प्रमुख प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउन नेताहरुले जोड दिएका छन् । सबै कुरा गुमिसकेर पनि पार्टीको मूल नेतृत्वले चेत नपाएको नेता भण्डारीले बताए ।

भण्डारी भन्छन्, ‘कांग्रेस प्रतिपक्षमा बस्नुपर्नेमा ‘फिनी हराएको थाहा छैन, गहुँको गेडा गन्छस्’ भने झैं अझै पनि राष्ट्रपति कि के पाउँछु भन्दै हिँड्ने?’ केन्द्रीय सदस्य गोविन्द पोखरेलले कांग्रेसले राष्ट्रपति पदको लोभ गर्न नहुने मत राखे । एमालेबाट राष्ट्रपति नभएपनि कांग्रेसले नपाउने उनको निचोड छ ।

‘राष्ट्रपति हामीले पाइन्छ भनेर लोभिनु हुँदैन । राष्ट्रपति एमालेकै ल्याउँछन्, एमालेबाट हुन नसके तटस्थ व्यक्ति ल्याउँछन्’, पोखरेलले भने ।

बैठकमा गठबन्धनको औचित्य स्थापित हुन नसकेको नेताहरुको ठहर गरेका छन् ।

गठबन्धनका लागि मत मागेपनि सरकार बन्न नसकेपछि औचित्य स्वतः सकिएको सहभागीले तर्क गरे । ‘जनताले ठूलो भरोसा गरेर मत दिए । तर सरकार बन्ने बेलामा किन गठबन्धन टुट्यो, कमी कमजोरी कहाँ भयो, त्यसको समीक्षा गर्नु जरुरी छ,’ भण्डारीले भने ।

महाधिवेशनको मतबाट ४० प्रतिशतको हकदार भएकाले त्यसै अनुसार पार्टीभित्र हुने मनोनयनमा स्थान पाउनुपर्ने नेताहरुको धारणा थियो । न्यायोचित अवसरका लागि समूहको मूल नेतृत्वमा रहेका नेताहरुले अडान लिनुपर्ने सुझाव सहभागीले दिएका छन् ।

केन्द्रीय समिति भंग भएका भ्रातृ संस्थामा नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघको कार्यसमितिलाई पूर्णता दिने तयारी पार्टीले गरेको छ । ती भ्रातृ संस्थामा सम्मानजनक हिस्सेदारी नभए कार्यसमितिमा बस्न नहुने नेता जगदिश्वर नरसिंह केसीको राय छ ।

‘लोकतान्त्रिक प्रक्रियाद्वारा भ्रातृ संस्थाको नेतृत्व निर्माण गरिनुपर्नेमा आन्तरिक लोकतन्त्रलाई भित्रभित्रै कीरा पारेर पार्टीलाई मक्काउन लागिएको छ,’ केसीले भने ।

भ्रातृ संस्थामा क्षेत्रीय र क्लष्टर मिलाएर सम्माजनक हिस्सेदारी पाउनुपर्ने माग शेखर–गगन पक्षका नेताहरुको छ । भ्रातृ संस्थामा न्यायोचित हिस्सेदारी नदिएर पेल्ने कार्य भए समानान्तर समिति बनाउनु आवाज उठेको नेता भूपेन्द्रजंग शाहीले बताए ।

शेखर–गगन पक्षको बैठकको थप रोचक पक्ष यस समूहको बैठकमा पहिलोपटक उर्मिला थपलिया पनि सहभागी भइन् । नेता डा. शशांक कोइराला निकट उनी उक्त पक्षको बैठकमा यसअघि सहभागी नभएको एक केन्द्रीय नेताले जानकारी दिए । साथै, यसै समूहको बैठकमा विरलै देखिने सन्तोष चालिसे पनि आजको छलफलमा सहभागी थिए । बैठकमा २६ सांसद सहभागी थिए ।

शीर्ष तहबाट धारणा राख्नेमा उपसभापति गुरुङ मात्रै छन् । अन्य नेताहरुले मंगलबार विहान हुने बैठकमा आफ्नो विचार राख्ने भएका छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?