+
+

श्रीलंका फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १९:१६

८ माघ, काठमाडौं । श्रीलंका फुटबल महासंघ (एफएफएसएल)लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

फिफाकी महासचिव फातिमा सामोउराले आइतबार जारी गरेको वक्तव्यमा श्रीलंका फुटबलमाथि शनिबार (२१ जनवरी) देखि अर्को सूचना जारी नभएसम्मका लागि निलम्बित गरिएको उल्लेख छ ।

‘२१ जनवरी २०२३ मा फिफा काउन्सिल ब्यूरोले लिएको निर्णयअनुसार श्रीलंका फुटबललाई फिफा विधानको धारा १६ अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ,’ वक्तव्यमा भनिएको छ ।

निलम्बनमा परेसँगै श्रीलंका फुटबल फिफाको सदस्य भएबापत पाउने सबै अधिकारबाट वञ्चित हुनेछ । श्रीलंका फुटबलको प्रतिनिधित्व गरी राष्ट्रिय टिम वा क्लब टिमले अन्तर्राष्ट्रिय सहभागिता जनाउन पाउने छैनन् भने महासंघका कुनै सदस्य वा अधिकारीले फिफा र एएफसीले सञ्चालन गरेका विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा सहभागी हुन पाउँदैनन् ।

श्रीलंका फुटबल महासंघले फिफा र एएफसीबाट प्रतिबन्धित हुनुपर्ने अवस्था आफैंले निम्त्याएको हो । फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका कारण प्रतिबन्ध गरिएको हो ।

तत्कालीन अध्यक्ष जसवार उमरको कार्यकाल जुन २०२१ मै सकिएको हो । १८ महिनासम्म कार्यकाल थपेर बसेका उनी निर्वाचन गर्न असमर्थ हुँदै आएका थिए । उनको टोलीले फिफा, एएफसी र त्यहाँको खेलकुद मन्त्रालयको निर्देशनसमेत अटेर गर्दै आएको थियो ।

फिफाले सन् २०१५ देखि नै श्रीलंका फुटबललाई आफ्नो विधान संशोधन गर्न पत्राचार गरिरहेको थियो । गत जुन महिनामा उमर नेतृत्वको कार्यसमितिलाई तीन महिनाभित्र नयाँ निर्वाचन गर्न फिफाले अन्तिम निर्देशन दिएको थियो ।

सेप्टेम्बर १७ मा श्रीलंकाको खेलकुद मन्त्रालयले विशेष राजपत्र जारी गरी आवधिक निर्वाचन र साधारणसभा गर्न नसकेका राष्ट्रिय खेल संघलाई विघटन गर्ने निर्णय गरिदियो ।

फिफा, एएफसी र खेलकुद मन्त्रालयको पटक पटकको निर्देशनपछि महासंघले फिफा र एएफसी प्रतिनिधिको उपस्थितिमा सेप्टेम्बर २२ मा विधान संशोधन गरे पनि निर्वाचन गर्ने बैधानिक हैसियद उसले गुमायो ।

फिफा, एएफसी र खेलकुद मन्त्रालयको प्रतिनिधिबीच छलफलमा अक्टोबर २०२२ मा नयाँ विधानअनुसार निर्वाचन गर्ने सहमतिसमेत भएको थियो । तर, श्रीलंका फुटबल महासंघलाई सरकारले विघटन गरेपछि वैधानिक उल्झन आइलाग्यो । त्यो तथ्य पत्ता लगाएपछि फिफाले पत्र लेखेर निलम्बन वा प्रतिबन्धको चेतावनी दिएको थियो । खेलकुद मन्त्रालयले संघ विघटन गरेको तथ्यलाई फिफाले अप्रत्यक्ष रुपमा सरकारी हस्तक्षेप मानेको थियो ।

फिफाले ३ जनवरी २०२३ अगावै निर्वाचन सम्पन्न गर्न भने पनि श्रीलंका फुटबल महासंघले त्यो समयसीमा पालना गरेन ।

श्रीलंकामा १४ जनवरीमा फुटबल महासंघको निर्वाचन सम्पन्न भयो । त्यस निर्वाचनमा अघिल्लो कार्यसमितिका अध्यक्ष उमार र सहायक महासचिव उपाली हेवागेलाई निर्वाचनमा उम्मेदवार हुन त्यहाँको खेलकुद मन्त्रालयले अयोग्य ठहर गरिदियो । उनीहरुको मतदान अधिकारसमेत खोसियो ।

खेलकुद मन्त्रालयको प्रत्यक्ष संग्लग्नतामा भएको निर्वाचनमा पूर्व टेलिभिजन पत्रकार, सांसद तथा मन्नार फुटबल लिगका अध्यक्ष जे श्री रंगा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि फिफा परिषद श्रीलंका फुटबलमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?