+
+

मधेश प्रदेशमा किन हुन सकेन मन्त्रिपरिषद् विस्तार ?

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ माघ ९ गते १५:२६

९ माघ, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २९ पुसमा जनता समानवादी पार्टी (जसपा) नेकपा एमाले र जनमत पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे ।

जसपाका सञ्जय यादव, एमालेका सरोज यादव र जनमतका बसन्त कुशवाह बिना विभागीय हैसियतमा छन् । जसपाका मुख्यमन्त्री यादवले ४ माघमा विश्वासको मत समेत लिइसकेका छन् । तर मन्त्रिपरिषद विस्तार भने अझै हुन सकेको छैन ।

नेताहरुका अनुसार यसको कारण सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डा नमिल्नु हो ।

मधेश प्रदेशमा १० वटा मन्त्रालय छ । जनमत संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सुरुमा एमाले ४, जसपा मुख्यमन्त्रीसहित ३ र जनमतले तीनवटा मन्त्रालय लिने र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिने सहमति बनेको थियो । तर मुख्यमन्त्री यादवले सरकारलाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सरकारमा सहभागी गराउन चाहेका छन् ।

सत्ता गठबन्धनमा मधेस सरकारको नेतृत्व मुख्यमन्त्री जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति भएको छ । तर दुबै दल केन्द्रमा भएको बाँडफाँटमा सन्तुष्ट छैनन् ।

उपराष्ट्रपति पद नपाएका कारण जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छैन । जनमत पार्टीका अब्दुल खान बिना विभागीय मन्त्री भए पनि पदबहाली गरेका छैनन् । प्रधानमन्त्रीले दिएको खानेपानी मन्त्रालय लिन अस्वीकार गरेका छन् । पूर्व सहमतिअनुसार उद्योग मन्त्रालय पाउनुपर्ने उनको माग छ ।

जसपाका एक प्रदेशसभा सदस्यका अनुसार जसपा र जनमत दुबै दलले केन्द्रमा आफूहरुलाई एक्ल्याएको महसुस गरेका छन्, जसका कारण पनि प्रदेशको मन्त्रालय भागवण्डा टुंगिन सकेको छैन । ‘संघीय सरकारको व्यवहार जसपा र जनमतप्रति खराब छ । त्यसकारण सरकार विस्तारमा ब्रेक लागेको छ,’ ती प्रदेशसभा सदस्य भन्छन्, ‘केन्द्र सरकारको जसपा र जनमतप्रतिको हेर्ने दृष्टिकोण परिवर्तण भए तुरुन्त मन्त्रिमण्डल विस्तार हुन्छ ।’

जनमत पार्टीबाट बिना विभागीयमन्त्री रहेका बसन्त कुशवाहका अनुसार एमालेले ३, जसपा र जनमतले दुई–दुईवटा मन्त्रालय लिने गरी मन्त्रिपरिषद विस्तारको तयारी छ ।

जसपाले अर्थ, एमालेले भौतिक पूर्वाधार र जनमतले सामाजिक विकास मन्त्रालय लिने लगभग सहमति छ । तीनवटै दलले एक–एकवटा राज्यमन्त्री पनि लिन छन् भने माओवादी केन्द्र र लोसपालाई एक–एक वटा मन्त्रालय दिने पनि तयारी छ ।

सहमतिका लागि शीर्ष तहमा संवाद चलिरहेको छ । त्यसका लागि काठमाडौं आएका मुख्यमन्त्री यादवले अनलाइनखबरसँग भने, ‘म मुख्यमन्त्री भएयता बिदा र व्यस्तता दुबै भयो । त्यसकारण विस्तार गर्न सकिनँ । भोलि जनकपुर फर्किएर सबै दलसँग छलफल गरी २/३ दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्छु ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?