+
+
टी–२० लिगमा स्पट फिक्सिङ :

जतिन योजनाकार, खेलाडीसम्म पुग्ने माध्यम बने महबुब

नेपाली क्रिकेटमाथि घात

रद्द गर्ने निर्णय भइसकेको सम्झौता ब्यूँताएर नेपाल टी-२० लिग, सेभेन थ्री स्पार्टस जिम्मा लगाउन क्रिकेट संघकै पदाधिकारी लागे । अनि, सेभेन थ्रीका सञ्चालक जतिनले नेपाली पूर्व क्रिकेटरलाई प्रयोग गरेर स्पट फिक्सिङ गराए ।

कुशल तिमल्सिना गौरव पोखरेल कुशल तिमल्सिना, गौरव पोखरेल
२०७९ माघ ९ गते २१:५७

९ माघ, काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा कीर्तिमानी क्रिकेटर महबुब आलमसहित तीन जना पक्राउ परे । पक्राउ परेका आदिल अन्सारी नयाँ प्रतिभा हुन् भने तेस्रो व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन ।

स्पट फिक्सिङबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार फिक्सिङमा चार नेपाली र ६ जना विदेशी छन् । फिक्सिङबारे भोलि सीआईबी प्रमुखलाई प्रतिवेदन बुझाउने अनुसन्धान समितिको तयारी छ ।

यो प्रतिवेदनले फिक्सिङबारे थप खुलाउनेछ । तर नेपाल क्रिकेट संघ (क्यान) आयोजक रहेको पहिलो आधिकारिक फ्रेन्चाइज प्रतियोगितामै फिक्सिङ पुष्टि र महबुब आलमसमेत पक्राउले नेपाली क्रिकेटलाई ठूलो धक्का लागेको छ ।

जतिन योजनाकार, महबुब माध्यम

नेपाल टी–२० लिगका खेलहरु पुस ९ देखि २७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । क्रिकेट संघले यो प्रतियोगिताका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस क्यानको व्यापारिक र रणनीतिक साझेदार बनाएको थियो ।

सीआईबीका अनुसार स्पट फिक्सिङका योजनाकार कम्पनीका मालिक जतिन अहुवालिया नै हुन् ।

सेभेन थ्री स्पोर्टसले ८ वर्षका लागि ३३ करोड रुपैयाँ बुझाउने गरी नेपाल टी–२० लिग गर्ने सम्झौता गरेको थियो । क्यान स्रोतका अनुसार सचिव प्रशान्तबिक्रम मल्लमार्फत उनी क्यानसम्म पुगेका थिए । विवादास्पद कम्पनीलाई लिग आयोजना गर्न दिन लागेको भन्दै विरोध भएपछि सम्झौता रद्द गर्ने निर्णय पनि भएको थियो ।

तर फागुन २०७८ मा भएको बैठकमार्फत फेरि जतिनकै कम्पनी सेभेन थ्री स्पोर्टसलाई लिग गर्ने जिम्मा दिइएको थियो । यसमा क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द, सचिव मल्ल, सदस्य दुर्गा पाठकले मुख्य भूमिका खेलेको क्रिकेट संघकै सदस्यहरु बताउँछन् । नेपाल क्रिकेट संघकाे पाँच सदस्यीय कार्यसम्पादन समिति छ । अध्यक्ष चन्द, कार्यबाहक सचिव मल्ल, काेषाध्यक्ष राेशनबहादुर सिंह र सदस्यहरू पाठक र पदम खड्का छन् । नेपाल टी-२० लिगकाे महत्वपूर्ण निर्णयमा उनीहरूकाे संग्लग्नता रहन्छ । महत्वपूर्ण कागजातमा चन्द, मल्ल र पाठककाे हस्ताक्षर हुने गरेकाे पाइएकाे छ ।

क्यानका पदाधिकारीहरुकै साथ पाएपछि जतिनले यो प्रतियोगितालाई स्पट फिक्सिङको अखडा बनाए । कतिसम्म भने उनले फ्रेन्चाइज टिमहरु समेत पारदर्शी रुपमा सार्वजनिक गरेनन् ।

प्रतियोगितामा पोखरा एभेन्जर्स र लुम्बिनी अलस्टार्सबाहेक अन्य चार फ्रेन्चाइज टिमको स्वामित्व विदेशीको थियो । चारवटै टिमको प्रमुख लगानीकर्ताबारे कहिल्यै पारदर्शी गरिएन । राखेपको सहमतिविना कम्पनीहरुलाई कम्पनी रजिस्टार कार्यालयमा दर्ता गरिएको पाइएको थियो ।

प्रतियोगिता सुरु हुनु एक दिनअघि मात्र बेटिङ गराउने कम्पनी वान एक्स ब्याटलाई मुख्य प्रायोजकका रुपमा सार्वजनिक गरिएको थियो । खेलको प्रत्यक्ष प्रशासणमा समेत वेटिङका लागि अफर गरिएको कोड उपलब्ध गराइएको थियो । ‘यति ठूलो रकम बुझाउनुपर्ने कम्पनीले विज्ञापनबाट पैसा उठाउनुपर्ने हो तर, खेल मैदानमा हेर्नुभयो भने वान एक्स ब्याटबाहेक अरु विज्ञापन छैन । दर्शक पनि उल्लेख्य छैनन्’, अधिकृतहरु भन्छन्, ‘त्यसैले खेल आयोजनाको जिम्मा लिएर फिक्सिङ र बेटिङबाट पैसा कमाउने उद्देश्य राखिएको देखिएको छ ।’

जतिनले खेलाडीहरुलाई फिक्सिङमा सहभागी गराउन नेपालका पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई प्रयोग गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकै खेलमा १० विकेट लिएको कीर्तिमान छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पनि महबुबमार्फत स्पट फिक्सिङमा जोडिएको पाइएको  छ । अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए ।

प्रहरीले पूर्व क्रिकेटर आलमको मोबाइल फोनलाई डिजिटल फरेन्सिक ल्याबमा लगेर विस्तृत परीक्षण गरिरहेको छ । प्रारम्भिक जाँचमा उनले खेलाडीहरुसँग गरेका शंकास्पद कुराकानीका विवरण पनि प्रहरीले फेला पारेको छ ।

प्रहरीका अनुसार सुरुको केही खेलमा स्पट फिक्सिङ भएको देखिन्छ । तर फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराए ।

प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि उजुरी गरे । दुबैले फिक्सिङको विषयलाई सार्वजनिक सञ्चार माध्यममा पनि ल्याए ।

लगत्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए । त्यसपछि सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति नै बनायो ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार फिक्सिङको आशंका भएदेखि नै ब्यूरोले अनुसन्धान गरिरहेको थियो । गृह मन्त्रालयबाट स्पष्ट निर्देशन आएपछि सीआईबीले छुट्टै समिति बनाएर सुक्ष्म अनुसन्धान गरिएको सुवेदीले बताए ।

‘एन्टी करप्सन युनिट’मा परेको उजुरीकै आधारमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिट (एसीयू) का अधिकारीहरु समेत काठमाडौं आएर सोधपुछ परे । आईसीसीले उपलब्ध गराएको तथ्यलाई समेत आधार मानेर सीआईबीले गरेको अनुसन्धानमा स्पट फिक्सिङ भएको प्रष्ट देखिएको छ ।

अहिले आरोपीमध्ये जतिनसहित ६ जना विदेशी नागरिक आ–आफ्नो मुलुक पुगिसकेका छन् । मुद्दा प्रक्रिया अघि बढेपछि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समेत सहयोग लिने प्रहरी अधिकृतहरु बताउँछन् । साथै पक्राउ परेका व्यक्तिहरुमाथि सोधपुछ र बयानका क्रममा थप व्यक्तिहरुको संलग्नता खुले उनीहरु पनि अनुसन्धानको दायरामा आउने अधिकृतहरु बताउँछन् ।

नेपाली क्रिकेटमाथि घात

क्रिकेट संघका पदाधिकारीमाथि नै भ्रष्टाचारको मुद्दा लागेपछि सुरु भएको संकटले नेपाल क्रिकेट संघमाथि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले प्रतिबन्ध लगाएको थियो । विधान संशोधन लगायतका शर्तहरु पुरा गरेपछि २०७६ असोजमा आईसीसीले सशर्त निलम्बन फुकुवा गरेको थियो । तर अझै पनि यो प्रक्रिया पूरा भइसकेको छैन ।

त्यही बेला क्रिकेट संघले आफैंले गरेको प्रतियोगितामा स्पट फिक्सिङ पुष्टि भएपछि उदीयमान शक्तिका रुपमा आएको नेपाली क्रिकेटले ठूलो धक्का लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले अहिलेसम्म केही बोलेको छैन । तर नेपाली क्रिकेट ठूलो दुर्घटनामा पर्ने खतरा रहेको क्रिकेट संघका एक पदाधिकारी बताउँछन् ।

उनका अनुसार यो घटनासँगै क्रिकेट संघले अन्तर्राष्ट्रिय स्तरमै आफ्नो विश्वसनीयता गुमाएको छ । ‘हिजो क्रिकेट संघलाई भ्रष्टाचारहरुको समूह भनिन्थ्यो । अदालतको सफाइ र आईसीसीको निलम्बन फुकुवापछि नेतृत्वमा आएकाहरुले क्रिकेट संघलाई एउटा विश्वसनीय संस्था बनाउनुपर्ने थियो’ एक सदस्य भन्छन्, ‘तर यो घटनाले संघको शाख थप गिरेको छ ।’

उनका अनुसार अब क्रिकेट संघ आफैंले ठूलो फ्रेन्चाइज लिग गर्नु त धेरै परको कुरा, आईसीसी वा एसीसी मातहतका प्रतियोगिता आयोजनाको जिम्मा पाउन समेत मुश्किल छ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?