+
+

२६औं वरीयतामा थन्क्याएका शेखरलाई किन नजिक्याउँदैछन् देउवा ?

लिलु डुम्रे लिलु डुम्रे
२०७९ माघ १२ गते ११:१९

१२ माघ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतन्त्रवादी दल नेपाली कांग्रेसमा वरीयताले विशेष अर्थ राख्छ । सभापति पदमा आफूसँग हारेका शेखर कोइरालालाई शेरबहादुर देउवाले २६औं वरीयतामा थन्क्याइदिएका थिए । प्रतिस्पर्धीको अपमान गरेको आरोप देउवामाथि लागेको थियो ।

तिनै देउवा यति बेला शेखरलाई नजिक्याउन लागेका छन् । उनले यसको सुरुआत गरेका छन्, पार्टी कार्यालयमा शेखरका लागि छुट्टै कार्यकक्ष तोकिदिएर ।

उनले शेखरका लागि बितेको एक वर्षसम्म छुट्टै कार्यकक्षको कुनै खाँचो देखेनन् । अहिले भने केन्द्रीय कार्यसमिति बैठक कक्षसँगै शेखरको कार्यकक्ष तयार भएको छ ।

कार्यकक्षको व्यवस्था भए पनि शेखरले त्यसले उपयोग भने गरिसकेका छैनन् । दुई नेताको सम्बन्ध न्यानो हुने क्रममा कार्यकक्ष बनेको कांग्रेसमा टिप्पणी सुरु भएको छ ।

संस्थापन र इतर नेताहरुका अनुसार देउवा र शेखर दुरी घटाउने पक्षमा छन् । ‘अहिले शेखर कोइरालाको भूमिका असाध्यै सकारात्मक छ । पार्टीलाई एकीकृत र मजबुत कसरी बनाएर जाने भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ,’ संस्थापन पक्षका नेता रामहरि खतिवडा भन्छन्,’सभापतिको आलोचना मात्रै गरेर पार्टी दह्रो बन्दैन भन्ने उहाँलाई लाग्यो होला ।’

देउवा प्रधानमन्त्रीबाट बाहिरिएपछि धुम्बाराहीमा शेखरको आउजाउले थप बढोत्तरी पाएको हो । यो क्रम प्रत्यक्षतर्फका उम्मेदवारको टिकट वितरणदेखि प्रारम्भ भएको हो ।

उसो त शेखरको वरीयता क्रमबारे पार्टी बैठकले कुनै नयाँ निर्णय गरेको छैन । तर पराजित सभापति उम्मेदवारलाई देउवाले दिएको यो विशिष्ट योगदानको भने कांग्रेसभित्र पक्कै अर्थ छ ।

नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा पराजित नेतालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गर्ने परम्परा छ । २०४८ मा भएको ८औं महाधिवेशनबाट सभापति बनेका कृष्णप्रसाद भट्टराईले शीर्ष तहका नेताहरुका लागि छुट्टाछुट्टै कार्यकक्षको व्यवस्था गरेका थिए ।

२०५७ सालमा भएको १० औं महाधिवेशनमा सभापतिमा गिरीजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रतिस्पर्धा गरे । पराजित देउवालाई गिरीजाले केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गरे । सभापतिमा पराजितलाई कार्यकक्ष प्रयोग गर्न दिने औपचारिक प्रक्रिया त्यसै महाधिवेशनबाट सुरु भयो ।

सभापतिमा पराजित नेतालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गर्ने निरन्तरता १४ औं महाधिवेशन अघिसम्म कायमै थियो ।

१३औं महाधिवेशनमा सभापतिमा पराजित भएका रामचन्द्र पौडेलले वरिष्ठ नेताका रुपमा कार्यकक्ष पाए । यद्यपि, विधान अनुसार वरिष्ठ नेताको पद भने छैन । दोस्रोपटक सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि विगतको परम्परामा अल्पविराम लाग्यो । १४ औं महाधिवेशनमा देउवाले सभापतिमा नेता डा शेखर कोइरालालाई हराए ।

त्यसो त, समानुपातिक सूचीमा एकतर्फी गरिएको भन्दै शेखर पक्षले संस्थापनविरुद्ध खबरदारी सभा पनि गरेको थियो । मोरङ ६ को टिकट लिएर निर्वाचन क्षेत्रमा पुगेपछि उनले कार्यकर्तालाई देउवासँग कटुता नरहेको सुनाएका थिए । ‘देउवा जी र म मिलिसक्यौं । तपाईहरु यहाँ किन झगडा गर्नुहुन्छ,’ शेखरले त्यसबेला भनेका थिए ।

नेता खतिवडाका अनुसार संसदीय दलको नेतामा शेखरले देखाएको परिपक्वताले पनि भेटघाट बढ्ने कारण बनेको हो । सभापतिसँग संसदीय दलमा प्रतिस्पर्धा गर्न शेखर उम्मेदवार बनेनन् । शेखर प्रतिस्पर्धामा नहुँदा देउवा पक्षमा थप मत बढेको संस्थापन पक्षको बुझाइ छ । ‘उहाँ उठेपनि जित्ने अवस्था त थिएन । तर, उदार मनका साथ नयाँ पुस्ताबाट गगन थापालाई अघि बढाएर अनुकरणीय उदाहरण दिनुभयो,’ खतिवडा भन्छन्,’त्यसले सभापति प्रभावित हुनुभयो होला ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतमा पनि दुबैको मन मिल्यो । पाँच सांसदले विश्वासको मत दिन हुँदैन भनि अडान राख्दा शेखर देउवाकै लाइनमा उभिए ।

आफू पक्षीय नेताहरुको बैठकमा विश्वासको मत दिनु गलत रहेको बताएपनि पार्टी सभापति सहितको छलफलमा सोही बोली नदोहोर्‍याउने नेताहरु बताउँछन् ।

सोमबार बसेको शीर्ष नेताको बैठकमा आफूले बोल्दै नबोलेको विषय मिडियामा आएको उनले बताएका थिए । सभापतिप्रति उनको भरोसा बढ्दै गएको नेताहरु बताउँछन् ।

देउवा-शेखर पछिल्लो सम्बन्धलाई संस्थापन पक्षका नेताहरु स्वभाविक र शंकाको दृष्टिले हेर्दछन् । सभापतिसँग दूरी बढाउनु भन्दा आपसी सहकार्यको पक्षमा शेखर रहेको कतिपयको बुझाई छ । भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ । साथै, विभाग गठन गर्नुपर्ने माग पनि उठिरहेको छ । भ्रातृ संस्था र विभागमा आफू निकटका नेता कार्यकर्ताको व्यवस्थापन गर्ने मनसायले पनि शेखर देउवासँग नजिकिएको आकलन गर्नेहरु छन् ।

बुधबार बिहान मात्रै भ्रातृ संस्थाका विषयमा देउवासँग कुरा गर्न पूर्व विद्यार्थी नेतालाई शेखरले पठाएका थिए । नेता शेखरले सभापतिसँग कुरा गर्न पठाएकाले आफूहरु देउवाकहाँ पुगेको नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए । भ्रातृ संस्थाको आकार बढाउने र प्रदेश समिति पनि गठन गर्ने आफूहरुको प्रस्तावलाई सभापतिले कार्यान्वयनमा लैजाने बचन दिएको कर्णले सुुनाए।

शेखर पक्षकै कतिपय नेताहरुले भने दुईको सम्बन्धलाई आशंकाका रुपमा हेरेका छन् । सभापति देउवाले १५औं महाधिवेशनलाई केन्द्रमा राखेर नयाँ रणनीति प्रयोग गरेको आशंका शेखर पक्षकै एक नेता बताउँछन् । विधानतः देउवा पुनः सभापतिमा उठ्न पाउने छैनन् । समूह बलियो बनाउने उद्धेश्यले देउवाले उनलाई तान्न खोजेको आशंका उनकै समूहका नेताले गरेका छन् । ‘१५ औंमा हाम्रो समूहबाट सभापतिका लागि योग्य को छ र? यतैबाट सभापति उठ्नुुस्, भन्न सक्छन्’ शेखर पक्षका एक नेता भन्छन्,’त्यस्तो खेल देउवा पहिले पनि अरु नेतामा पनि खेल्दै आएका हुन् ।’

४० प्रतिशतको शक्ति -शेखर पक्ष)लाई वेवास्ता गर्दै आएको त्यसअघि सभापति देउवा माथि आरोप लाग्दै आएको थियो । शीर्ष तहका अन्य नेताहरुलाई देउवाले ‘भाउ दिँदा’ शेखर बालुवाटारका बैठकमा छुट्ने गर्थे ।

गठबन्धनका अन्य नेतासँगको संवादमा देउवाले महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतलाई अघि सार्थे । देउवाले शेखरलाई महत्व नदिएको विषय संस्थापनइतरले पटक पटक उठाइरहको थियो । त्यसबेला देउवाले इतर पक्षको असन्तुष्टिलाई सुनेको सुनन्यै गरिदिए ।

देउवाको विगतको प्रवृत्तिको हाल भने क्रम भंग भएको छ । देउवाले शेखरलाई वेवास्ता गरेर बोली आजकल सुनिन छोडिएको छ । देउवा निकट एक नेताका देउवाले शीर्ष तहमा हुने बैठकमा शेखरलाई छुटाउँदैनन् । विधान र पद्धति अनुसार सभापतिको कार्यशैली नभएको विगतका बोली शेखर दोहोर्‍याउँदैनन् ।

महाधिवेशनमा तटस्थ बसेका नेता पौडेललाई २०७८ कार्तिकमा देउवाले सत्तागठबन्धनको समन्वय समितिको संयोजक नै बनाए । महाधिवेशनमा सघाएका अर्का नेता सिटौलालाई तत्कालीन सत्ता गठबन्धनको टिकट बाँडफाँट कार्यदलको संयोजक बने । अन्य नेताको अस्तित्व स्विकार्ने तर ४० प्रतिशतको शक्तिलाई पूर्ण वेवास्ता गरेको संस्थापनइतरले बैठकबाट गत साउनमा निचोड निकालेको थियो ।

केन्द्रीय समितिको वरियतामा शेखर २६ औं स्थानमा छन् । वर्तमान र पूर्व पदाधिकारी पछि मात्रै शेखरलाई राखिएको छ । सार्वजनिक रुपमा उनले त्यसप्रति कुनै गुनासो गरेनन् । महाधिवेशन प्रतिनिधिहरुले आफूलाई दिएको मत नै आफ्नो वास्तविक वरियता भएको शेखरले तत्कालीन समयमा प्रतिक्रिया दिएका थिए ।

संशोधित विधानले सभापतिमा पराजित व्यक्ति स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरेको छ । विधानको उक्त व्यवस्था नभएको भए देउवाले शेखरलाई केन्द्रीय समितिमा मनोनित समेत नगर्ने चर्चा महाधिवशेन ताका हुने गथ्र्यो ।

सम्बन्ध सुधारिँदै गएका बेला देउवाले सम्भवतः आफ्नो पुरानो निर्णयमा पनि पुनर्विचार गर्लान् कि ? पार्टीभित्र चासो सुरु भएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?