+
+
गण्डकीमा सीताको छलाङ :

मौकाले प्रदेश सांसद, अर्थमन्त्री हुँदै राजनीतिमा फड्को

सीता प्रत्यक्ष चुनाव जित्ने देशभरकै एक्ली दलित महिला सांसद हुन् । संघमा ८ जना र प्रदेशहरुमा १४ जना महिला चुनिँदा दलित महिला उनी एक्ली छन् । देशभरमै दलित महिलालाई दलहरुले उम्मेदवारको हुनबाटै बञ्चित गर्दै आएका छन् । एमालेले पनि अर्काले इन्कार गरिसकेपछि मात्र सीतालाई उम्मेदवारका रुपमा उभ्याएको हो ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ माघ १२ गते २१:१३

१२ माघ, पोखरा । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन २०७९ मा नेकपा एमालेले प्रतिनिधिसभामा नारायण मरासिनी र स्याङ्जा– १ (१) मा मीनप्रसाद गुरुङलाई उमेदवार बनाउने भयो ।

यसअघि नै प्रतिनिधिसभा सदस्य बनिसकेका गुरुङले त्यो प्रस्ताव नमानेपछि पार्टीले स्याङ्जा– १ (१) मा सीताकुमारी सुन्दासलाई उठाउने भयो ।

‘समानुपातिकतर्फबाट प्रतिनिधिसभाका लागि दलित महिलाको एक नम्बरमा मेरो नाम थियो’, सुन्दास भन्छिन्, ‘मनोनयन दर्ता गर्नुभन्दा केही दिनअघि मात्र नयाँ परिस्थिती सिर्जना भएपछि प्रत्यक्ष भनेको प्रत्यक्ष नै हो भनेर मञ्जुर भएँ ।’

त्यसरी प्रदेशमा बसेकी उनै सुन्दास गण्डकी प्रदेशको अर्थमन्त्री नै बनेकी छन् । पहिलो प्रत्यक्ष चुनाव विजयसंगै उनले राजनीतिक पदीय फड्को पनि मारेकी छन् । नेकपा (माओवादी केन्द्र) कि अमृता थापामगरलाई १ हजार ४२४ मतले हराएर प्रदेश सभा प्रवेश गर्नासाथ उनी २५ पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भइन् । मुख्यमन्त्री खगराज अधिकारीले उनलाई सरकारको प्रवक्तासमेत बनाएका छन् ।

सुरुमा रोशन गाहामगरलाई अर्थ मन्त्रालयमा ल्याउने भनिएकोमा अधिकारी आफैंले राजनीतिमा हुर्काउँदै ल्याएका सुन्दासलाई अर्थमन्त्री बनाए । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमै अर्थमन्त्री हुने भनिएका गाहा एमालेबाट दोस्रो पटक गण्डकी प्रदेश सभा सदश्यमा जित्ने एकमात्र नेता हुन् । अर्थ उनैलाई दिनुपर्ने दबाब अधिकारीमाथि थियो, तर अन्तितमा उनले सुन्दासलाई अर्थ गाहालाई आन्तरिक मामिलामन्त्री बनाए ।

अर्को पार्टीको वा भनेअनुसार नगर्ने अर्थमन्त्री हुँदा मुख्यमन्त्रीलाई अप्ठेरो परेको उदाहरण यसअघि गण्डकीमै देखिएको थियो । यो कारण पनि अधिकारीले आफूनो कुरा नकाट्ने अर्थमन्त्री रोजेको एमालेका सांसदहरु बताउँछन् ।

सीता सुन्दास प्रदेश सभा चुनाव जित्ने देशभरकै एक्ली दलित महिला सांसद हुन् । संघमा ८ र प्रदेशहरुमा १४ जना महिला चुनिँदा दलित महिला उनी एक्ली छन् ।

दलहरुले देशभरमै दलित महिलालाई उम्मेदवार हुनबाटै बञ्चित गर्दै आएका छन् । एमालेले पनि अर्काले इन्कार गरेपछि मात्र सुन्दासलाई उम्मेदवार बनाएको थियो ।
स्याङजा जिल्ला समन्वय समितिको प्रमुख र जिला समन्वय समिति महासंघ अध्यक्ष बनेकी सीता सुन्दास र प्रत्यक्ष टिकटको कुरा उठ्दा एमालेकै कार्यकर्ताहरु भन्थे, ‘कुनै हालतमा पाउँदिनन् ।’ उनको नाम पनि समानुपातिकतर्फ नै थियो ।

तर, परिस्थितिवश सीता सुन्दासले प्रत्यक्ष चुनावकै टिकट पाइन्, जितिन् र अर्थमन्त्री पनि भइन् । झलनाथ खनाल अध्यक्ष हुँदा स्याङ्जा जिल्ला कमिटी सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा मनोनित उनी त्यसयता लगातार प्रगतिको उकालोमा छिन् ।

पार्टीको नवौं महाधिवेशनमा उनी वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । दशौं महाधिवेशनबाट ओलीले केन्द्रीय सदस्य बनाए । राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओली परिवारदेखि गण्डकीमा खगराज अधिकारीसम्मको निकटता पाएकी उनी हेर्दाहेर्दै महत्वपूर्ण मन्त्रालयको कुर्चीमा पुगेको एमालका नेता–कार्यकर्ता बताउँछन् ।

हालसम्म बनेका गण्डकीका ३ वटा सरकारले १–१ जना महिलालाई मन्त्री बनाएको छ । त्यसमा एक सुन्दास भइन् । समाजशास्त्रमा स्नातकोत्तर उनी एमालेको स्याङ्जा जिल्ला इन्चार्ज पनि हुन् ।

महत्वपूर्ण मन्त्रालय पाएकी सुन्दासका सामुन्ने चुनौतीको पहाडै छ । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा अर्थमन्त्री किरण गुरुङले आर्थिक अनुशासन कायम गर्न कहिलेकाहीँ मुख्यमन्त्रीकै निर्णय पनि रोक्ने सामथ्र्य राख्थे । त्यस्तो ल्याकत देखाउन सके सुन्दासको भावी राजनीति चम्किने, मुख्यमन्त्रीको रबरस्टाम्प मात्र बने खिइने एमालेका नेता–कार्यकर्ता बताउँछन् ।

यसअघि मनपरी कर बढाएको भन्दै गण्डकी प्रदेश सरकार धेरै आलोचित भएको थियो । आर्थिक अनुशासन कायम राख्दै प्रदेशको स्रोत बढाउने पहिलो चुनौती सीता सुन्दासलाई छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?