+
+

दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न माग

माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १७:१३

१३ माघ, काठमाडौं । दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न काठमाडौं महानगरपालिकासँग दरबारमार्ग विकास बोर्डले माग गरेको छ । माग सम्बोधन नभए महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी बोर्डले दिएको छ ।

शुक्रबार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा हटाएको पार्किङ तत्काल कायम नगरे महानगरविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । बोर्डले विगत लोमा समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको र एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएको बताएको छ । बोर्डसँग छलफल र सम्वाद नगरी पार्किङ हटाउने निर्णय बोर्डले नमान्ने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बोर्डका पूर्वअध्यक्ष गोपाल कक्षपतिले स्मार्ट पार्किङ राखेर व्यवस्थित रूपमा पार्किङ भइरहेको बेलामा महानगरपालिकाले एक्कासी बन्द गरेको बताए । महानगरले बोर्डसँग छलफल गरेर पार्किङको व्यवस्था तत्काल गर्नुपर्ने उनको भनाइ थियो । उनले महानगरले एक्कासी पार्किङ हटाउँदा दरबारमार्गको रौनकता र आगन्तुकहरुप्रति पर्ने असुविधा र व्यापारमा पर्ने प्रभावको विषयमा नसोचेको आरोप लगाए ।

महानगरले दरबारमार्गको रौनक, पर्यटकहरुलाई उचित सुविधा र विश्वसनीयता कायम राख्न तत्काल पार्किङ स्थललाई यथावत राख्नु पर्ने उनको भनाइ थियो । महानगरले बोर्डको मागलाई सम्बोधन नगरे चरणवद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने उनले बताए ।

उनले महानगरले दरबारमार्ग क्षेत्रका पार्किङ हटाउँदा त्यस क्षेत्रको व्यापार ५० प्रतिशतले खुम्चिएको बताए । उनले पार्किङ नहटाउँदा दरबारमार्गमा मात्र दैनिक १० देखि १२ करोडको व्यापार हुने गरेको बताउँदै अहिले ४/५ करोडमा सीमित हुन पुगेको बताए । पार्किङको व्यवस्था नहुँदा ग्राहक पनि आधा बढीले घटेको बताउँदै उनले व्यवसायीको व्यापार मात्र नभई सरकारले राजश्वमा समेत कमी आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?