+
+

सम्झनामा ग्रेटा राणा

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७९ माघ १५ गते १३:०४

ग्रेटा राणाको निधनको खबर पढ्ने बित्तिकै मेरो मानसपटलमा उनको छवि नाच्न थाल्यो । पिल्ग्रिम्स बुक हाउसमा उनको अंग्रेजी कविता संग्रह विमोचनको बेला म पनि पुगेको थिएँ । उनलाई पुष्प वर्षा गरेर स्वागत गरिएको थियो । फूलले अभिषेक भएको उनको त्यतिबेलाको फोटो मेरो काठमाडौंको निजी पुस्तकालयमा सुरक्षित एल्बममा अझै छ ।

खासमा उनीसँग मेरो साहित्यिक निकटता कहिल्यै भएन । त्यसो त नितान्त अपरिचित पनि थिइनन् । भेटघाट भएको हो । संक्षिप्त कुराकानी पनि भएका हुन् तर निकट हुने त्यस्तो कुनै अवसर नै जुरेन । एउटा कारण थियो, भाषा । उनी अंग्रेजीभाषी लेखिका थिइन् । अतः नेपाली लेखक कविहरुको जमातमा उनलाई भेटिने कुरै थिएन । अर्को उनी सम्भ्रान्त राणा खानदानकी बुहारी । यो अर्को छेकवार थियो ।

तर साहित्यमा रुचि, साहित्यिक गतिविधिमा रुचिका कारणले उनका सार्वजनिक साहित्यिक गतिविधि र लेखनका विषयमा भने सामान्य जानकार त अवश्य नै थिएँ ।

सन् १९४३ मा बेलायतको योर्कशायरमा जन्मेकी उनको लेखनीको सुरुवात बेलायत छँदै भएको थियो । यी बेलायती चेली नेपालकी बुहारी भएर भित्रिएपछि नेपालसँग र नेपाली साहित्यसँग उनको नाता जोडिएको हो । खासमा नेपाली साहित्यसँग भन्दा पनि नेपालमा बसेर लेख्ने अंग्रेजीभाषी लेखिकाका रुपा उनको परिचय स्थापित भयो । तर नेपालका ख्यातिप्राप्त ऐतिहासिक उपन्यासकार डायमण्ड शमशेरको ‘सेतो बाघ’लाई अंग्रेजीमा अनुवाद गरेपछि नेपाली साहित्यसँग परोक्ष रुपमा उनको नाता गाँसिएको हो । उनले ‘सेतो बाघ’लाई ‘वेक अफ त ह्वाइट टाइगर’ शीर्षकमा अनुवाद गरिन् र प्रकाशन भयो ।

खासमा सेतो बाघ उपन्यासको अंग्रेजी अनुवादले डायमण्ड शमशेरको यो कृति विभिन्न भाषामा अनुवाद भएर विश्व बजारमा जान बाटो खुल्यो । हिन्दीबाहेक अन्य भाषामा जान ग्रेटा राणाले गरेको अंग्रेजी अनुवाद नै आधार वन्यो । यसबाट डायमण्ड शमशेर राणाले मात्र होइन, उनको कृतिमार्फत विश्व वजारमा नेपाली साहित्यले प्रवेश पायो । यसको सबै श्रेय ग्रेटा राणालाई जान्छ ।

कहिलेकाहीं उनी नेपाली लेखकहरुबाट टाढा भएको महसुस गर्थिन् । मलाई ‘कुइरिनी’ भन्छन् भनेर दुःखेसो पनि पोख्ने गर्थिन् । तर त्यसको कुनै उपचार वा विकल्प थिएन ।

उनले विलियम सेक्सपियरको नाटक ‘अ मिडसमर नाइट्स ड्रिम’ पनि नेपालीमा अनुवाद गरेकी थिइन्, जुन २०७३ कात्तिकमा काठमाडौंमा मञ्चन भएको थियो । ग्रेटा २० असार २०२८ मा नेपाल आएकी थिइन्, मधुकर शमशेर राणाकी पत्नीका रुपमा । उनी दिल्लीबाट पुरानो नेपाली डकोटा विमान चढेर त्रिभुवन विमानस्थल झरेकी थिइन् । उनले सो विमानको शौचालयमा प्वाल परेको देखिन्, तैपनि विमान काठमाडौंमा सकुशल अवतरण भएको सम्झना उनको मनमा सदा जीवन्त रहिरह्यो ।

त्यतिबेलाको काठमाडौंलाई उनले ‘न्युरोड : ५० वर्षमा जे हरायो’ शीर्षकको निबन्धमा यसरी सम्झना गरेकी छन्, ‘काठमाडौं त्यतिबेला शान्त–सुन्दर सहर थियो । मुख्य सडक त्यतिबेला न्युरोड थियो, अहिले मुख्य सडक दरबारमार्ग भएको छ । १९९० सालको भूकम्पपछि निर्माण भएको न्युरोड, जुद्ध सडक मलाई निकै मन पथ्र्यो । अहिले पनि त्यहाँको जुद्धको शालिक आकर्षक लाग्छ । स्थानीयले उतिबेला त्यसलाई भत्काएर ‘राणाकालीन शालिकहरूको चिहान’ मा मिल्काउन दिएनन् । जबकि धेरै शालिकको अस्तित्व त्यहाँ मेटियो ।

न्युरोडको बायाँ कुनामा निकै चर्चित र लोकप्रिय पुस्टकारी पसल थियो । बच्चाहरूका लागि त्यो सबैभन्दा प्रिय स्थान थियो । उक्त पसलले आफ्नो मालिकलाई करोडपति नै बनायो होला । त्यसको छेउमा नेपाल घरेलु उद्योग थियो, जुन अहिले दरबारमार्गमा सरेको छ । उनीहरू तत्कालीन रानी रत्नको आभूषण बनाउँथे । त्यसैले पनि उनीहरू काठमाडौंका एलिटमाझ परिचित थिए ।

दायाँतर्फको सडकबाट अगाडि बढेपछि विश्वज्योति सिनेमा हल पुगिन्थ्यो र त्यसको कुनामा नेपाल कफी हाउस थियो, जुन अहिले छैन । कफी हाउस लेखक तथा कलाकारको झमघट हुने स्थान थियो, जहाँको समोसा र डोसा निकै मीठो हुन्थ्यो । हाम्रो परिवारकै लागि त्यो मनपर्ने लोकेसन थियो ।

काठमाडौंमा पाँच दशकअघि कुनै नेवारको घरअघि आँगनमा उभिएर हेर्दा लहलह धानका खेत देखिन्थे । अब त ती सम्झना–कथा बनिसके ।’

ग्रेटा सुरुमा कविता विधामा मात्र कलम चलाउँथिन् । तर उनलाई नेपालको पृष्ठभूमिमा आधारित तीनवटा लघु उपन्यास लेख्ने योजना प्राप्त भयो । उनले त्यस योजनाका लागि ‘नथिङ ग्रिनर’, ‘डिस्ट्याण्ट हिल्स’ र ‘राइट एज इट इज’ लघु उपन्यासहरु लेखिन् । यी उपन्यासहरुमा गाउँको परम्परागत वैवाहिक परम्परा, जातीय विभेद, अन्धविश्वास आदि चित्रण गरिएको छ ।

ग्रेटाले गद्यमा हात चलाएपछि त्यसमै उनको लेखनी चलायमान भयो । त्यसपछि उनले थप उपन्यास लेखिन् । उनका गेस्टस् इन दिस कण्ट्री, प्लेस वेनेथ त पीपल ट्री, हिडन वुमन, होस्टेज र घोस्टस् इन द बाम्बूू उपन्यास प्रकाशित भए । यीमध्ये हिडन वुमन र होस्टेज भारतबाट प्रकाशित भएका हुन् ।

हिडन वुमनमा जंगबहादुर राणाका श्रीमतीहरु र भित्रियाहरुको विषयवस्तु बनाइएको छ । घोस्टस् इन द बाम्बूू विमोचन समारोहमा उनले भनेकी थिइन्, ‘मेरो उमेर र अनुभवका आधारमा आत्मसंस्मरण लेख्नुपर्ने हो । तर यहाँ धेरैको चित्त दुख्छ भनेर मैले आफ्नो जीवनलाई आख्यानीकरण गरें ।’ उनले यस उपन्यासलाई आत्मकथात्मक उपन्यास भएको यथार्थलाई लक्षित गरेकी थिइन् । साथै यो उपन्यासलाई गेस्टस् इन दिस कण्ट्रीको दोस्रो भाग भएको भनिएको थियो ।

ग्रेटाको द हिल शीर्षकको कथाले सन् १९९१ मा आर्नसबर्गर इन्टरनेसनलले कुर्सप्रोसा पुरस्कार जितेको थियो । विविध साहित्यिक सिर्जनशीलतामा निरन्तर भए पनि नेपाली साहित्यकारहरुसँग उनको खासै उठबसको सिलसिला सुरु हुन सन् १९८७ सम्म कुर्नु परेको थियो ।

सन् १९२१ मा बेलायतमा स्थापना भएको पेन इन्टरनेसनल संस्थाको नेपाल शाखा ६६ वर्षपछि खुल्यो, ग्रेटा राणाको पहलमा । अनि नेपालका थुप्रै युवा प्रतिभाले पेनको विश्वमञ्च देख्न पाए, आफूलाई उभ्याउन पाए, प्रस्तुत गर्न पाए । सबभन्दा महत्वपूर्ण कुरा विश्व साहित्यिक रंगमञ्चमा नेपाली लेखक लेखिकाहरुले निःशुल्क जाने मौका पाए । त्यसको बन्दोबस्त मिलाउने काम ग्रेटाले गरेकी थिइन् । उनको विश्व समुदायका लेखक लेखिकासँगको सम्बन्ध र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा भएको पहुँचले गर्दा यो सम्भव भएको थियो ।

मैले थाहा पाएसम्म डा. ध्रुवचन्द्र गौतम, अशेष मल्ल, नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, विनोद दीक्षितलगायत साहित्यकारहरुले पेन कंगेशको अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर पाए । यो बेग्लै कुरा हो, कतिले त्यो अन्तर्राष्ट्रिय रंगमञ्चको उपयोग गर्न सके । त्यसबाट लाभ लिए । वा फगत निःशुल्क विदेश भ्रमण मात्र भयो, त्यो बेग्लै कुरा हो । महत्वपूर्ण कुरा चाहिं के हो भने नेपाली लेखकलाई लेखकहरुको अन्तर्राष्ट्रिय मञ्च प्राप्त भयो ।

ग्रेटा राणा सन् १९९४ देखि १९९६ सम्म इन्टरनेसनल पेनको वुमन राइटर्स कमिटीको अध्यक्ष भइन् । त्यस्तो गरिमामय पदमा पुगेर उनले आफ्नो व्यक्तित्वको परिचय र कर्म विश्व लेखक समुदायमा प्रस्तुत गरेकी थिइन् । महिलाकै सन्दर्भमा सन् १९९५ मा चीनको बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा महिला लेखकको रुपमा प्रतिनिधित्व गरेकी थिइन् । खासमा इन्टरनेसनल पेनमा उनको पूर्व आबद्धताकै कारण नेपाल च्याप्टरको स्थापना सम्भव भएको थियो ।

कहिलेकाहीं उनी नेपाली लेखकहरुबाट टाढा भएको महसुस गर्थिन् । मलाई ‘कुइरिनी’ भन्छन् भनेर दुःखेसो पनि पोख्ने गर्थिन् । तर त्यसको कुनै उपचार वा विकल्प थिएन ।तर उनले नेपाली साहित्यिक जगतका प्रतिभाहरुसँग व्यापक रुपमा निकट नभए पनि नेपाली साहित्य जगतले बिर्सनै नसक्ने योगदान गरिन् अनुवादको माध्यमबाट । लेखन अंग्रेजी भाषामा भए पनि नेपाली विषयवस्तु पृष्ठभूमिको उपयोगका कारणले । अन्तर्राष्ट्रिय पेनको नेपाल च्याप्टरको स्थापनाका कारणले ।

नेपाली साहित्यको इतिहासले यी कर्म र गुनका कारणले युगौं सम्झिरहनेछ बेलायतकी चेली, नेपाली बुहारी ग्रेटा राणालाई ।

८० वर्षको उमेरमा राणाको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको उपचारको क्रममा देहावसान भएको हो ।

फल्स चर्च, भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?