+
+

‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन स्पिन-अफ ‘भष्मे डन’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १६:३३

काठमाडौं । ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको अवसर पारेर निर्माताले फिल्मको स्पिन-अफ ‘भष्मे डन’ निर्माणको घोषणा गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको छायांकन फागुन १२ गतेदेखि हुने जानकारी गराइयो ।

तर यो फिल्म पशुपतिप्रसादको दोस्रो सिक्वेल चाहिं होइन । फिल्मको प्रमुखमध्येको एक पात्र भष्मे डनको चरित्रमाथि फिल्म निर्माण हुन लागेको हो । चर्चित फिल्मको कुनै एक मात्र पात्रमाथि आधारित रहेर बनाइने फिल्मलाई स्पिन-अफ र समग्र फिल्मको पहिलेकै कथावस्तुलाई निरन्तरता दिने गरि बनाइने ‘क्राफ्ट’लाई सिक्वेल भनिन्छ ।

निर्देशक दीपेन्द्र के खनालले ‘पशुपतिप्रसाद २’ चाहिं तत्काल नबन्ने बताए । ‘अहिलेलाई स्पिन-अफ बनाउने योजनासहित भष्मे डन बन्नेछ । दोस्रो सिक्वेल बनाउनेबारे तत्काल सोचिएको छैन,’ खनालले अनलाइनखबरसँग भने, ‘यसले भष्मे डन चरित्रको जीवनलाई मात्र चित्रण गर्छ ।’

पत्रकार सम्मेलनको ब्यानरमा निर्माताले ‘पशुपतिप्रसाद २’ भनेर लेखे पनि त्यो दर्शकलाई आकर्षित गर्ने उद्देश्यले मात्र गरेको देखिन्छ । त्यसो गर्दा ब्रान्डिङ गर्न सजिलो हुने र दर्शकलाई हलसम्म तान्न सकिने आशा निर्माताको छ, तर यो फिल्म भष्मे डनको कथा हो, पशुपतिप्रसादको होइन । पशुपतिप्रसाद (खगेन्द्र लामिछाने)को चरित्र पहिलो श्रृंखलाबाटै आउट भइसकेको छ ।

भष्मे डनको निर्माणमा निर्देशक समेत रहेका खनाल र पटकथा लेखक लामिछानेले सहकार्य गर्नेछन् । फिल्ममा विपिन कार्की भष्मे डनको चरित्रमा हुनेछन् । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभु पौडेल, प्रकाश दाहालजस्ता सहायक कलाकार समेत छन् ।

फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?