
१५ माघ, विराटनगर । पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिलाई थुनामुक्त गर्न भन्दै अदालतले दिएको छुटुवा पूर्जी कानुन व्यवसायीले लगेपछि अदालतले नयाँ पत्र बनाएको छ ।
जिल्ला अदालत मोरङले बिहीबार जबरजस्ती करणी मुद्दाका प्रतिवादी विराटनगर १२ का १९ वर्षीय रुपेश ऋषिदेव भनिने रुपेशकुमार मुसहरलाई सफाइ दिएको थियो ।
सफाइलगत्तै पूर्पक्षका लागि मोरङ कारागारमा रहेका उनलाई थुनामुक्त गर्न अदालतले कारागार कार्यालयलाई पत्र लेखेको थियो । अदालतले लेखेको पत्र उनको कानुन व्यवसायी सञ्जु साहले बुझेकी थिइन् । तर सो पत्र कारागार पुगेन् । कानुन व्यावसायीले बुझेको पत्र कारागार नपुगेपछि जिल्ला अदालत मोरङले शुक्रबार छुट्टै पत्र पठाएपछि मात्रै ऋषिदेव कारागारबाट छुटेका थिए ।
अदालतले ऋषिदेवलाई थुनामुक्त गर्न भन्दै विहीबार चलानी नम्बर १०२०६ को छुटुवा पूर्जी (थुनामुक्त गर्नका लागि लेखिएको पत्र) दिएको थियो । तर सो पत्र नपुगेपछि शुक्रबार चलानी नम्बर १०२६४ नम्बरको पत्र पठाएको हो । दोस्रो पत्रका आधारमा ऋषिदेव शुक्रबार कारागार मुक्त भएको कारागार कार्यालयले जनाएको छ ।
बिहीबार कानुन व्यावसायीले बुझेर लगेको छुटुवा पूर्जी कारागार नपुगेपछि शुक्रबार अर्काे पूर्जी काटिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘कानुन व्यावसायीेले बुझेर लगेकोपत्र नपुगेपछि कारागारलाई शुक्रबार अर्काे पत्र पठाइयो,’ उनले भने । उनका अनुसार बिहीबार बेलुका कानुन व्यावसायीले बुझेको पत्र कारागार नपुगेपछि शुक्रबार अर्काे पत्र पठाइएको हो ।
अदालतले कानुन व्यावसायीले बुझेर लगेको पत्र कारागारमा नबुझाई राखेको गुनासो आएपछि जिल्ला बारलाई जानकारी दिएको छ ।
जिल्ला बार मोरङका अध्यक्ष कल्याण केसीले कानुन व्यवसायीले छुटुवा पूर्जी कारागारमा नबुझाएको विषयमा आफूलाई पनि जानकारी आएको बताए । जानकारी पाएपछि अदालतलाई अर्काे पत्र पठाउन भनिएको उनले बताए ।
‘बारमा उजुरी परेको होइन, पक्षका कोही मान्छले यस्तो भयो भन्ने खालको कुरा गर्नुभयो’, उनले भने, ‘अदालतबाट सफाइ पाएको मान्छेलाई वकिलले च्याप्ने कुरा हुँदैन ।’ उनले लिखित उजुरी परे बारले प्रक्रिया अघि बढाउने बताए ।
बिहीबार बेलुका कानुन व्यावसायीले पत्र बुझेपछि शुक्रबार विहान ऋषिदेवलाई लिन आफन्त कारागार पुगेका थिए । तर कानुन व्यावसायीले पत्र नदिएपछि अदालत पुगेका थिए । कानुन व्यावसायी सञ्जु साहले भने आफूले पत्र बुझाएको बताइन् । आरोपीको मुद्दा आफूले निशुल्क हेरिदिएको बताउँदै उनले सोही पपत्रका आधारमा आरोपी छुटेको बताइन् ।
विराटनगर महानगरपालिका–१२ खबरीका १९ वर्षीय ऋषिदेव २०७७ मंसिर २१ गते जवरजस्ती करणी आरोपमा पक्राउ परेका थिए । जिल्ला अदालत मोरङले २०७७ पुस २८ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । बिहीबार जिल्ला न्यायाधीश रोम अधिकारीको इजलासले उनलाई सफाइ दिएको थियो ।
प्रतिक्रिया 4