+
+
अन्तर्वार्ता  :

‘टाँस्सिएर होइन, आफ्नो हैसियतले सरकारमा आएका छौं’

‘सत्तामा रहँदासम्म १० पुसको साझेदारीबाट बाहिर जाँदैनौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते २०:१७

१६ माघ, काठमाडौं । सत्तालाई प्राथमिकता नदिने भनेर भोट मागेको राप्रपा सरकारमा गयो, त्यो पनि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री छन् ।

लिङ्देन भने अहिले पनि आफूहरूको प्राथमिकता सरकार नभएको बताउँछन् । दलहरू मिलेर काम गर्नुपर्छ भन्ने जनताको म्यान्डेट रहेको बताउँदै उनले भने, ‘अहिले हामी टाँस्सिएर सरकारमा आएका छैनौं, हाम्रो हैसियतले सरकारमा आएका छौं ।’

सरकारमा सहभागितालाई अग्निपरीक्षाको संज्ञा दिएका उनले यसमा खरो उत्रने दाबी गरे । ‘हिजो सडकमा भएको बेला भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह मानेर काम गर्छौं, अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भन्यौं’ उनले भने, ‘अहिले हामी अग्निपरीक्षामा सामेल भएका छौं । हामी भ्रष्टाचार गर्दैनौं र अरूलाई पनि गर्न दिंदैनौं भन्ने प्रमाणित गरेर फर्कन्छौं ।’

राप्रपा अध्यक्ष लिङ्देनसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

अघिल्लो संसदको अन्तिम सम्बोधनमा अर्को पटक साथीहरू लिएर आउँछु भन्नुभएको थियो, सानोतिनो हूल नै ल्याउनुभयो । अहिले सत्तामा जानुपर्ने कारणबारे जनतालाई के भन्नुहुन्छ ?

संसदमा हाम्रो अपेक्षा अनुसार भएन । योभन्दा बलियो ढंगले प्रस्तुत हुन्छौं भन्ने थियो । यद्यपि अहिलेको संसदमा कुनै पनि राजनीतिक दलको बहुमत भएन । जनताले कुनै पनि एउटा दलमाथि एकल विश्वास गर्न सकेको अवस्था रहेन । जनादेश नै कुनै पनि राजनीतिक दल/विचारलाई निषेध गरेर जान नमिल्ने, फरक–फरक राजनीतिक दृष्टिकोण भए पनि मिलेर काम गर्नुपर्ने प्राप्त भयो ।

अपेक्षाकृत मत पाएनौं भन्नुभयो । तर २०७४ मा थ्रेसहोल्ड नै पार गर्न सक्नुभएको थिएन, तपाईं एक्लो सांसद हुनुहुन्थ्यो । यसपटक कति जित्छौं भन्ने सपना थियो ?

केलाई ठूलोे, केलाई सानो सपना मान्ने ! तर हाम्रो अपेक्षा र विश्लेषण अहिलेको भन्दा धेरै सिट आउँछ भन्ने थियो । जसरी हामीले पार्टी नेतृत्व परिवर्तन गर्‍यौं, त्यसपछि जुन मार्गचित्र बनाएर अगाडि बढ्यौं र जुन ढंगबाट जनताको रेस्पोन्स थियो त्यो सबैलाई आकलन गर्दा अहिलेको भन्दा राम्रो मत आउँछ भन्ने थियो, आएन । तर तपाईंले भन्नुभयो नि यो पनि कम्ती हो र राप्रपाका लागि ! एक सिट भएकाले १४ सिट पायो । हिजो थ्रेसहोल्ड कटाउन नसकेकाले आज थ्रेसहोल्डलाई चाहिने भन्दा दुगुणा माथि मत ल्यायो भन्ने पक्षमा पनि छ । त्यसैले हामीले जुन मत प्राप्त गरेका छौं, त्यसमा दुःखी हुनुपर्ने, नकारात्मक रूपमा लिनुपर्ने भन्ने छैन ।

यसले जनताको अपेक्षा र विश्वास हामीप्रति बढ्दै गएको छ भन्ने प्रमाणित गर्न बल पुग्यो । अघिल्लो संसदमा भएका सबै दलहरू हामी बाहेक पछाडि परेका छन् । सबैको लोकप्रियता घटेको छ । अस्तित्वमा रहेका दलहरूमध्ये राप्रपा मात्रै यस्तो पार्टी हो, जसले प्रगति गरेको छ । त्यसैले दुःखी हुनुपर्ने कारण छैन । तर हामीले जुन मुद्दाहरू उठाएका थियौं, त्यो अनुसारको मत चाहिं आएन ।

तर, सरकारमा जाँदैनौं भनेर मत माग्नुभएको थियो नि ?

सत्तामा नजाने होइन, जसरी पनि सत्तामा जाने भन्ने हाम्रो प्राथमिकता होइन भनेका हौं । आज पनि सत्ता हाम्रो प्राथमिकताको विषय होइन । तर अहिले हामी टाँस्सिएर सरकारमा आएका छैनौं, हाम्रो हैसियतले सरकारमा आएका छौं । यो हाम्रो परिकल्पनामा अहिलेको सरकार निर्माण भएको हो र सहकार्यको अवधारणा बनाउने, संयोजन गर्ने काममा समेत हामी सहभागी भएका छौं ।

जनताको म्यान्डेट नै दलहरू मिलेर काम गर्नुपर्छ भन्ने भएकाले अरू दलहरूसँग सहकार्य गर्नु हाम्रो जिम्मेवारी, कर्तव्य र जनादेश हो । त्यसैले सहकार्यको बाटो खोल्यौं । सरकारमा जाने वा नजाने भन्नेमा लामो छलफल गरेपछि राजनीतिक एजेण्डाभन्दा पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको हिसाबले सबै राजनीतिक दलहरू मिलेर काम गर्नु उपयुक्त हुन्छ र अघि मैले भनेजस्तो सरकारमै गएर काम गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो निष्कर्ष हो ।

हिजो सडकमा भएको बेला भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह मानेर काम गर्छौं, अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भन्यौं । यसोभन्दा कतिपयले यसले पाएकै छैन कहाँबाट खान्छ ? पनि भने । अहिले हामी अग्निपरीक्षामा सामेल भएका छौं । विगतभन्दा फरक काम गर्ने संकल्प छ । हामी भ्रष्टाचार गर्दैनौं र अरूलाई पनि गर्न दिंदैनौं भन्ने प्रमाणित गरेर फर्कन्छौं ।

भ्रष्टाचारविरुद्ध जसरी उत्कर्षमा पुगेर बोल्नुहुन्थ्यो, त्यही कार्यान्वयन गर्नुहुन्छ ?

भन्नका लागि मात्रै भनेको होइन, आफूले पाउँदा त्यसरी नै गर्ने रहेछन् भन्ने प्रमाणित गर्ने मौका हो । नभए प्रश्न सधैं खडा भइरहने भयो, नपाएर ठूल्ठूलो कुरा गर्छ, पाएपछि खाइहाल्छ नि भन्ने रहने भयो । अहिले ऊर्जा मन्त्रालय, शहरी विकास जस्तो मन्त्रालय जिम्मेवारीमा लिएका छौं, यसैबाट खरो उत्रन्छौं ।

सरकारमा सहभागी भएको छोटो समय मात्रै भएको छ, तर तपाईं आफैंले भनेको अग्निपरीक्षा पास हुन कति सजिलो होला भन्ने त संकेत पाइसक्नुभयो होला नि ?

यो सजिलो काम होइन, तर निष्ठा र इमानदारीपूर्वक लाग्दा असंभव काम होइन । त्यति चाहिं अहिले नै भन्छु, राप्रपा त्यसमा खरो उत्रिएर फर्कन्छ ।

हाम्रो उद्देश्य त अरू भन्दा अलग र धेरै राम्रो काम गरेर जान्छौं भन्ने नै छ । गर्न सकेनौं भने पनि नराम्रो काम गर्दैनौं । फेरि पनि भन्छौं, एक रुपैयाँ पनि भ्रष्टाचार नगरी आएका छौं भनेर जुनसुकै मन्दिरमा जान सक्ने तागत राखेर फर्कन्छौं ।

मन्त्रालयबाट गर्नुपर्ने काम छँदैछ, समग्र सरकारको दृष्टिकोणले पनि सुशासन, विकास, सेवा प्रवाह र राष्ट्रियताको पक्षमा गर्नुपर्ने कामहरू गर्छौं ।

तर यो सरकार बनिरहँदा नै तपाईंलाई प्रधानमन्त्रीको प्रस्ताव आएको सुनियो । भोलि पनि आउने सम्भावना होला, स्थिरता कसरी भयो त ?

अहिले त्यो (प्रधानमन्त्री) प्राथमिकताको विषय छैन । हाम्रो प्राथमिकता अहिलेकै साझेदारीलाई अगाडि बढाउने भन्नेमा छ । त्यस्ता कुरा छिटफुट रूपमा नआएका पनि होइनन्, भोलि पनि आउन सक्छन् । तर त्यसतर्फ ध्यान दिएको छैन, र दिनुहुन्न भन्ने लाग्छ ।

कांग्रेसको प्रस्ताव मसला मात्र ..

अहिले त्यही रूपमा राख्नुपर्छ । जे सुन्नुभयो, त्यसलाई त्यही रूपमा राख्नुपर्छ (हाँसो) ।

तर राष्ट्रपतिको चुनावमै अहिलेको गठबन्धन भत्कने आशंका पनि छ नि ?

अहिले त्यस्तो कुनै संभावना छैन । विश्वासको मत थप दिने दलहरूले फिर्ता लिने वा कायम राख्ने अलग कुरा हो । त्यो उहाँहरूको सोचमा भर पर्छ । तर यो सहकार्य प्रारम्भ गर्दा जुनजुन राजनीतिक दलहरू सामेल भएका थियौं, ती दलहरूबीचको समर्थन फिर्ता हुने अथवा सहकार्य टुट्ने कुनै संभावना छैन ।

तपाईंहरूबीच जुटेको सहमति अनुसार, एमालेले उठाउने व्यक्तिले राष्ट्रपतिमा जित्नुहुन्छ ?

त्यसमा कुनै शंका छ र ?

तर सरकारको नेतृत्व गरेको दल, माओवादी केन्द्रले राष्ट्रपतिमा सहमति खोज्ने निर्णय गर्‍यो नि त ?

प्रधानमन्त्री त देशकै हो नि ! सबै मिलेर जाऔं, सबैको सहमति बनाऔं भन्नु त प्रधानमन्त्रीको कर्तव्य हो । प्रयास गर्नेवित्तिकै अन्यथा सम्झनुपर्ने के कुरा छ र !

कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गर्दै राष्ट्रिय सहमति भनेको छ नि त ?

यो कुन ठूलो अचम्मको कुरा भयो र ! देशको सबभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले सत्ता बाहिर छ । उसले कुनै प्रयत्नबाट आफ्नो मान्छे राष्ट्रपति बनाउन सकिन्छ कि भनेर पहल गर्ने निर्णय गर्नु, सत्तारुढ दल र प्रधानमन्त्रीसँग कुरा गर्नु, हामीले भनेको मान्छेलाई राष्ट्रपति छोडिदिनुहोस् भन्नुलाई अचम्म मान्नुपर्छ भन्ने लाग्दैन ।

तर राष्ट्रपति भनेको त संविधान बमोजिम संसदको बहुमतबाट निर्वाचित हुने र निर्वाचित भएपछि संविधानको रक्षामा उभिने होइन र ?

कांग्रेसले पनि बहुमत प्राप्त गर्न अरू दलहरूसँग कुरा गर्नुपर्‍यो नि ! आफ्नो उम्मेदवार जिताउन पहल गर्दा के अचम्म मान्नु !

प्रयत्न पनि प्रधानमन्त्रीसँगै भयो नि त ?

गठबन्धनको मुख्य नेता प्रधानमन्त्री नै हो नि त ! कांग्रेसले यति चाहिं छोडिदिनुहोस् भन्नु अचम्म र प्रलयको कुरा भयो र ! (हाँसो) … पक्कै पनि विपक्षबाट गठबन्धन टुटाउने प्रयास हुन्छ, अनेक प्रयत्न हुन्छ । त्यसले केही फरक पार्दैन ।

गठबन्धन तोड्ने प्रयास चाहिं कांग्रेसले राष्ट्रपतिको चुनावबाटै गर्नेमा देखियो ?

तोड्नलाई कांग्रेस लागेको छ जस्तो लाग्दैन, सत्तारुढबाटै समर्थन माग्ने प्रयास देखिएको छ । अहिले स्वतन्त्र व्यक्तिको पनि कुराहरू आइरहेको छ । यस्तो अनेक प्रयास भइहाल्छ नि !

राष्ट्रपतिबारे राप्रपाको धारणा पुस १० मै छ कि बाहिर आएजस्तो स्वतन्त्र खोजौं भन्ने हो ?

राष्ट्रपति र उपराष्ट्रपतिको कुरामा राप्रपाले आधारभूत रूपमा खासै चासो छैन, रहँदैन । विशेष पहल रहँदैन । तर अहिले हामी जुन सत्ता सहकार्यमा छौं, त्यहाँ जे समझदारी छ, यो सत्तामा रहँदासम्म त्यसभन्दा बाहिर जानुहुँदैन भन्नेमा राप्रपा स्पष्ट छ ।

फेरि राप्रपाकै कुरा गरौं; साथीहरूसहित संसदमा आउनुभयो, तर सरकारमा गएपछि साथीहरू छुट्ने गरेका नजीर विगतमा देखिन्छ । त्यो भयबारे के भन्नुहुन्छ ?

स्वाभाविक रूपले सरकारमा सहभागी हुने भएपछि आकांक्षीहरूको संख्या बढ्नु, सांसद भइसकेको मान्छेले मन्त्रीका लागि योग्य देख्नु अस्वाभाविक होइन । तर हाम्रोमा त्यसप्रकारको कुनै समस्या छैन । अहिले नै मैले पाउनुपथ्र्यो, किन छुटें भन्ने कसै–कसैले कुरा गर्न सक्छन् । कुरा राख्न सक्छन् । तर पार्टी एकतामा असर पर्ने गरी राप्रपा हिजोको बाटो जान्छ कि भन्ने छैन ।

किनभने राप्रपाले विगतका सबै घटनाबाट निर्मम शिक्षा लिएको छ । र कसैले त्यस्तो दुस्प्रयत्न गर्‍यो भने पनि राप्रपाका कार्यकर्ताले स्वीकार्ने छैनन् । त्यसकारणले धरातलीय यथार्थ सबै नेताले बुझेको हुनाले कसैबाट त्यस्तो हुँदैन ।

तर तपार्इं सहभागी सरकारका प्रधानमन्त्रीले राप्रपाका एजेण्डामाथि बोल्न समेत कारबाहीको विषय हुने चेतावनी दिनुभएको छ नि, हैन ?

अहिले कसैलाई कुनै प्रकारका कुरा बोल्न प्रतिबन्ध छैन । र त्यसलाई प्रतिबन्धका रूपमा लिन हुन्न । स्वाभाविक रूपले सरकारमा सामेल भएको प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूसँग निश्चित सीमाहरू हुन्छन् । त्यो सीमा र मर्यादा बाहिर सरकारमा सहभागी भएकाहरूले बोल्नुहुँदैन । सांसद मात्रै हुनु र मन्त्री हुनुमा फरक हुन्छ । त्यो सन्दर्भमा प्रधानमन्त्रीले कहीं केही कुरा भन्नुभयो भने त्यसलाई अन्यथा मान्नुपर्ने कुनै कारण छैन । र संसदमा उठेजस्तो त्यसप्रकारका क्रियाकलाप कुनै मन्त्रीले गरेको मलाई थाहा छैन ।

तर हामी सरकारमा सहभागी भयौं, त्यसकारण हामीले एजेण्डा नै छोड्यौं अथवा सरकारमा सहभागी भएका अरूले हाम्रो कुरा माने भन्ने पनि होइन । अरू दलले पनि हाम्रो एजेण्डा मानेको होइन, हामीले पनि अरू दलको एजेण्डा मानेको होइन ।

अहिलेको जनादेश नै सबै मिलेर जानुपर्छ भन्ने हो । त्यसकारणले राष्ट्रियता, सुशासन, विकास र सेवा प्रवाहमा केन्द्रित हुने साझा कुरा हो ।

राजनीतिक विचारमा सिंहदरबारभित्र सत्ता साझेदार एक, बाहिर अलग ?

दलहरूसँग आ–आफ्नो विचार छँदैछ नि ! राजेन्द्र लिङदेनले के कुराको प्रतिनिधित्व गर्छ भन्ने सबैलाई थाहा छ । हामीले किन पृथ्वी जयन्ती मनाउनुपर्छ भनेर भन्यौं ? सत्ता साझेदारहरूले पनि ठीकै छ भनेर किन भन्नुभयो ? त्यो प्रष्टै छ ।

अरू दलका नेताहरूले पृथ्वीनारायण शाहलाई श्रद्धा गर्न थालेका छन् । तपाईंले आफ्नो (उपप्रधानमन्त्रीको) कार्यकक्षमा उहाँको तस्वीर राख्न लगाउनुभएको छ । राष्ट्रिय राजनीतिमा निरन्तर आयतन बढ्दैछ, होइन ?

अहिले यसलाई नापजोख गर्ने बेला भएको छैन । नापजोख इतिहासले, भविष्यले गर्छ । तर स्वाभाविक रूपले राप्रपाले जे विचार उठाइरहेको छ, त्यसलाई पनि निषेध गरेर जान मिल्दैन भन्ने त जनादेश नै भयो नि !

तर अहिले १४ सिट ल्याएर राजसंस्था ल्याइहाल्छौं, हिन्दु राष्ट्र ल्याइहाल्छौं भनेर फुर्ती लगाउने बेला पनि भएको छैन भन्ने हामीले पनि बुझ्नु पर्‍यो । अरूले पनि राप्रपालाई निषेध गरेर जानुहुँदैन भन्ने कुरा पनि बुझ्नुपर्‍यो ।

पाँच वर्ष यसरी नै जान्छ ?

जानुपर्ने हो ।

तपाईं त पार्टीको अध्यक्ष र सरकारको उपप्रधानमन्त्री । दोहोरो भूमिका त अप्ठ्यारो होला नि ?

अहिलेको संविधान हामीले परिवर्तन गर्न सक्दैनौं, संविधानको परिधिभित्र रहेर काम गर्नुपर्‍यो । यो त सार्वजनिक कुरा हो, यसमा पूर्वाग्रह वा उत्तेजनामा आएर गर्नुपर्ने कुरै होइन ।

२०७० को दोस्रो संविधानसभामा २५ सिट भएपछि कमल थापा नेतृत्वको राप्रपा नेपाल सरकारमा जानु गल्ती थियो भनेर तपाईंसहितकै बैठकले मानेको थियो । अहिले एकबाट १४ हुनासाथ फेरि दौडिएर सरकारमा जाँदा प्रश्न पनि उठेको छ नि ?

अर्काले के भन्यो भन्नेसँग म टिप्पणी नै गर्न चाहन्न । अझ कमल थापाले के भन्नुहुन्छ भन्नेतिर लागेको भए त राप्रपा यो ठाउँमा आउने नै थिएन । उहाँको सल्लाह, उपदेश मानेर, उहाँको कुरामा प्रतिक्रिया व्यक्त गरेर हिंडेको भए यहाँ आइपुग्ने नै थिएनौं । त्यसैले अहिले त्यतातिर जान चाहन्नँ ।

त्यसबेला पनि राप्रपा सरकारमा जानु गल्ती भयो भन्ने होइन । जति बेला पायो त्यतिबेला, जोसँग पायो त्यहीसँग जानु गल्ती भयो भनेर हामीले सामूहिक रूपमा (इन्क्लुडिङ कमल थापा) निकालेको राप्रपाको निष्कर्ष हो । त्यो निष्कर्षमा अहिले पनि कायमै छ ।

अघि अनेक (प्रधानमन्त्री बन्ने) अफर बजारमा आयो भन्नुभयो, हामीले त्यो विगतको चरितार्थतर्फ कुदेनौं । अहिले कसैसँग टाँसिने भन्दा पनि एउटा परिस्थितिले राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्‍यो र सरकारमा साझेदार शक्तिका रूपमा छौं । हामी निश्चित उद्देश्य र संकल्पका साथ सरकारमा सहभागी भएका छौं । यो सरकारले के–के काम गर्ने भन्ने टुंग्याएपछि मात्रै सरकारमा सहभागी भएका छौं । फेरि पनि दोहोर्‍याएर भन्छु, यो सरकार सुशासन, विकास, सेवा प्रवाह र राष्ट्रिय एकता जस्ता विषय (नेपालको निर्णय नेपालीकै हातमा छ भन्ने प्रमाणित गर्ने) मा उभिन्छ ।

भोलि कसैले प्रधानमन्त्री देला अथवा हाम्रो १४ जनालाई नै मन्त्रीको प्रस्ताव लिएर आउला, त्यो हाम्रो प्राथमिकता होइन ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?