+
+
ब्लग :

इटहरीको अव्यवस्थित पार्किङ समस्या र समाधान

धनबहादुर पुरी धनबहादुर पुरी
२०७९ माघ १७ गते १७:००

बढ्दो सहरीकरणसँगै सुनसरीको इटहरीमा सडक सञ्जाल र यातायातका साधनमा पनि वृद्धि हुँदै गइरहेको छ । चौरास्ता सहर इटहरीमा जनसंख्याको वृद्धिदर पनि उच्च छ । पछिल्लो जनगणनाअनुसार इटहरी उपमहानगरपालिकामा दुई लाखभन्दा बढीको बसोबास छ ।

सहर बढेसँगै यातायातका साधनमा वृद्धि हुनु स्वभाविक नै हो । इटहरीका मुख्य-मुख्य चोक र बजारमा सडक नै अवरुद्ध हुने गरी सवारीसाधनको घुइँचो देखिन्छ । सवारी आवागमन अस्तव्यस्त बन्दा दुर्घटनाको जोखिम त बढिरहेको छ नै सहरलाई नै कुरुप बनाइरहेको छ ।

बैंक, वित्तीय संस्था होस् वा व्यापारिक केन्द्र सबैको अगाडि सवारीसाधनले बाटो छेकेको देखिन्छ । सडकमा यातायातका साधन निर्वाध चल्न पाउँदैनन् भने पैदलयात्री पनि दुर्घटनाको जोखिमबाट डराइडराइ हिंड्नुपर्ने अवस्था छ । त्यसमा पनि सडकपेटीबाट मात्रै हिंड्नुपर्छ भन्ने बानी पैदलयात्रीमा पनि बसिसकेको छैन ।

सडक मिचेर यातायातका साधन तेस्र्याउने र व्यापारीले पेटीमा सामान सजाउने गरेकोमा केही दिनयता उपमहानगरपालिकाले त्यस्ता सामान हटाउने काम सुरु गरेको छ, जुन सराहनीय छ ।

अब सडकमा तेस्र्याइएका सवारी साधनको व्यवस्थापन गर्ने काम पनि अघि बढाउन आवश्यक भइसकेको छ । यहाँका वित्तीय संस्था तथा व्यापारीहरुको निजी पार्किङ छैन । त्यसो हुँदा कर्मचारीले आफ्ना संस्था अगाडि र व्यवसायीले आफ्नो पसल अगाडि सडकमा आफ्ना सवारीसाधन राख्ने गरेका छन् । सर्वसाधारणलाई पनि आफ्नो सवारीसाधन कहाँ लगेर राख्ने र लक्षित काममा लाग्ने भन्ने पिरलो छ ।

घरबाट सवारीसाधन लिएर बाहिर निस्केपछि इटहरीमा सधैं कहाँ पार्किङ गर्ने होला भन्ने तनाव झेल्नुपर्छ सर्वसाधारणले । सडकमा पार्किङ गर्न पाइँदैन, अन्यत्र पार्किङ गर्ने ठाउँ छैन, अनि कहाँ पार्किङ गर्ने ?

इटहरी उपमहानगरपालिकाले केही हदसम्म पार्किङको समस्यालाई सुधार गर्ने कोसिस गरेको देखिन्छ । मुख्य बजार क्षेत्रबाट पार्किङ हटाइँदा स्थानीय व्यवसायीहरुले विरोध गरेका छन् । तर यसो भन्दैमा सडकमै पार्किङ गर्न दिनु समस्याको समाधान हुन सक्दैन ।

फेरि पार्किङको व्यवस्थापनमा घरवालाहरुले भने खास चासो राखेको देखिंदैन । ठूला-ठूला भवन बनाएर भाडा मात्र खाने अनि पार्किङ व्यवस्थापनको कुरामा स्थानीय सरकारलाई देखाएर पन्छिनु कति जायज होला ?

धनबहादुर पुरी

व्यावसायिक पार्किङको खाँचो

इटहरीमा भएको मनपरी पार्किङ नियन्त्रण गर्न उपमहानगरपालिकाले पनि सहरी क्षेत्रभित्र खाली जग्गा, ऐलानी, सिंचाई बन्द भएका कुलो र फराकिलो सडकका किनार खोजी गरी साना सवारी साधनको पार्किङ व्यवस्थापन गर्न सक्छ । त्यो सम्भव नभएका ठाउँमा निजी जग्गा भाडामा लिएर पनि पनि पार्किङका लागि ठेक्का दिनुपर्छ । यो अभियान इटहरी उपमहानगरपालिकाले कार्यपालिका बैठकबाट नै गर्ने निर्णय समेत गरिसकेको छ । इटहरीको मुख्य चोक आसपासमा हुने पार्किङलाई संगीत चोक, आइतबारे लाइन र पूर्व लाइनमा भएका खाली जमिनमा निजी पार्किङको अवधारणा राख्ने हो भने इटहरी चोकको पार्किङ व्यवस्था केही समयको लागि हल हुन्छ ।

इटहरीमा सबभन्दा जल्दोबल्दो समस्या मोटरसाइकल पार्किङको देखिएको छ भने कार, भ्यान जस्ता सवारीसाधनको व्यवस्थापन चुनौती बनिरहेको छ । त्यसका लागि पार्किङको व्यवस्था निजी रुपबाट पनि गर्न सकिन्छ । बजार क्षेत्रमा रहेका खाली जग्गामा जग्गाधनी स्वयंले पनि हलुका चारपांग्रे सवारीसाधन सशुल्क पार्किङको व्यवस्था गर्न सक्छन् । निजीस्तरबाट पार्किङ व्यवस्थापनका लागि लगानी गर्न चाहनेहरुका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गर्नुपर्छ ।

सवारी पार्किङ कहाँ गर्ने ?

ट्राफिक प्रहरीले दैनिकजसो नै इटहरी चोक र मुख्य बजार क्षेत्रमा पार्किङ गर्ने सवारीसाधनलाई कारवाही गर्ने गरेको छ । तर पनि सडकमा पार्किङ गर्न नहुने संस्कार बसाउन सकिएको छैन । अब जति पनि व्यावसायिक फर्म, सपिङ मल वा भीडभाड हुने कार्यालय, बैंक, अस्पताल खुल्छन्, ती सबैलाई पार्किङस्थल बनाउन अनिवार्य गर्नुपर्छ । अब बन्ने हरेक घरको नक्सामै पार्किङस्थल अनिवार्य गरे मात्र ट्राफिक व्यवस्थापन सुधार होला कि ?

अहिले इटहरी चोक आसपासमा ट्राफिक प्रहरीले गाडी फुटपाथमा पार्किङ गरेको भेटेपछि कारबाही गर्ने गरेको छ । जसका कारण इटहरीमा पछिल्लो समय दुर्घटनाको दर घट्दै गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । पछिल्लो चार महिना यता ट्राफिक व्यवस्थापन गरेसँगै कुनै दुर्घटना नै नभएपछि अझै ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनलाई अझै मजबुत बनाउने तयारीमा छ । यद्यपि घरबाट गाडी लिएर बाहिर निस्केपछि सधैं कहाँ पार्किङ गर्ने होला भन्ने तनाव झेल्नुपर्ने सर्वसाधारणले सडकमा पार्किङ गर्न पाइँदैन, अन्यत्र पार्किङ गर्ने ठाउँ छैन, अनि कहाँ पार्किङ गर्ने ?

स्मार्ट पार्किङ प्रचारमा सीमित

इटहरीको धरान रोड, विराटनगर लाइन, पूर्व-पश्चिम लाइनका सडकका दुवैतर्फका भाग र विभिन्न बैंक, सपिङ मल भएका स्थानका सडक पनि पार्किङस्थलका रुपमा प्रयोग हुँदै आएका छन् । ६ लेन सडकमा एउटा लेन पार्किङका लागि प्रयोग गरिंदा सवारी आवागमन प्रभावित हुने गरेको छ । अव्यवस्थित पार्किङले सवारी जाम बढाएको त छ नै, दुर्घटनाको जोखिम पनि उत्तिकै छ । साइकल, सिटी सफारी, अटो टेम्पो, मोटरसाइकल, अन्य निजी तथा सरकारी सवारीसाधन र ढुवानीका साधन सडकमै पार्किङ गर्ने गरिएको छ ।

कोशी राजमार्गअन्तर्गत रानी-विराटनगर-इटहरी-धरान ६ लेन सडकखण्ड विस्तारको क्रममा इटहरीको सडक फराकिलो भएसँगै इटहरीवासी खुसी भए । तर पार्किङको समस्या भने कम हुनुको सट्टा बढ्दै जाँदा निराशा थपियो ।

दुई कठ्ठा जग्गामा ६ तल्लाको स्मार्ट पार्किङ भवन बनाउने भनेर दुई वर्षअघि नै इटहरी उपमहानगरपालिकाले घोषणा गरेको थियो । सवारी धनीले त्यहाँ पार्क गराउन ल्याएपछि डिजिटल प्रविधिले एक क्लिकमा एक मिनेटमै खाली भएको ठाउँमा पठाउने र पछि एक मिनेटमा नै पहिला भएको ठाउँमा ल्याइदिने प्रचार भयो, तर काम अहिलेसम्म भएन ।

त्यसैले इटहरीलाई व्यवस्थित र सुविधासम्पन्न सहरको रुपमा विकास गर्ने हो भने भद्रगोल पार्किङको उचित व्यवस्थापन गर्नैपर्छ । यसमा इटहरी उपमहानगरपालिकाले पहलकदमी लिन ढिला गर्नुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?