+
+

बाइकको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्न गृहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते २२:३६

१७ माघ, काठमाडौं । सरकारले मोटरसाइलसहित दुई पांग्रे सवारीसाधनको पछाडि बस्नेहरुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न छलफल थालेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा भएके बैठमा यस्तो नियम लागू गर्नेबारे छलफल भएको हो ।

सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १३० को उपदफा २ मा लेखिएको छ, ‘दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’

मोटरसाइकल र स्कुटरमा पछाडि बस्ने यात्रु र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना पर्दा ठूलो समस्या भोग्ने गरेका छन् । कतिको त ज्यान नै जाने गरेको छ ।

जोखिमलाई न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यसबारे चासो राख्ने विभिन्न सरकारी र सामाजिक निकाय तथा ब्यक्तित्वहरूको उपस्थिति थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयम्ले हेल्मेटले दिने सुरक्षाको महत्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताए ।

‘जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो । नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने दिशामा हामी छौं,’ उनले भने ।

छलफलमा सहभागी एमाले नेता, सांसद एवम् ‘रोड सेफ्टी एलायन्स’का कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पांग्रे साधन नै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनुपरिरहेको बताए ।

‘रोड सेफ्टी काउन्सिल’ निर्माण गर्न समेत अनिवार्य भइसकेको भन्दै उनले अन्तराष्ट्रिय रुपमै हेल्मेट बाध्यकारी हुँदै गएको र यसका लागि आम जनचेतना जगाउनुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. समीर अधिकारीले कुल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुई पांग्रे साधनको हुने गरेको एक अनुसन्धान तथ्यांक सुनाउदै हेल्मेट अनिवार्य बनाउने कुरा हुँदा गलत अर्थ लगाइने गरेको बताए ।

झण्डै २५ बर्ष अगाडि प्रहरीले हेल्मेट अनिवार्य गर्ने नियम ल्याउँदा त्यसलाई विवाद भएपछि बीचमै रोकिएको थियो । प्रहरी नायब महानिर्देशक (डीआईजी) मीरा चौधरीले आफ्नो सुरक्षा स्वयम् जनता आफैंले नै नलिएसम्म नियमहरू लागू गर्न सहज नहुने बताइन् ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले ‘डबल हेल्मेट’को प्रचलन अन्तराष्ट्रिय रुपमै अनिवार्य भइसकेको र हेल्मेट गुणस्तर पनि हेर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?