+

कसरी हुन्छ अल्सर, के छ उपचार ?

२०७९ माघ  १९ गते ११:२६ २०७९ माघ १९ गते ११:२६
कसरी हुन्छ अल्सर, के छ उपचार ?

ग्यास्ट्राइटिसको कारण आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रामा हुने घाउलाई अल्सर भनिन्छ । यसमा देखिने लक्षण र कारण दुवै ग्यास्ट्राइटिसको जस्तै हो ।

अल्सरमध्ये पनि सबैभन्दा बढी देखिने सानो आन्द्रामा हुने अल्सर हुने हो । आमाशयमा हुने अल्सरले क्यान्सरसमेत गराउने जोखिम हुन्छ । त्यसैले ग्यास्ट्राइटिसकै कारण अल्सर हुने हुँदा ग्यास्ट्राइटिस हुन नदिनु उचित हो ।

अल्सर हुने कारण

ग्यास्ट्राइटिसकै कारण अल्सर हुन्छन् । हेलिकोब्याक्टर पाइलोरी नामक जीवाणु एच पाइलालोरी इन्फेक्सन (दूषित पानी र अस्वस्थ खानपिनबाट सर्ने संक्रमण)का कारण हुन्छ । उक्त जीवाणु संक्रमणका लक्षण सुरुमा धेरै हल्का हुन्छन्, जसले गर्दा अल्सर पहिचान सजिलै सुरुवातमै हुन सक्दैन ।

दुखाइ कम गर्ने एन्टीबायोटिक औषधिको लगातार प्रयोग, अत्यधिक धुम्रपान र मदिरापान गर्ने, चिल्लोपन भएको खानेकुरा धेरै खाने र खाली धेरै समयसम्म बस्ने बानीले सुरुमा ग्यास्ट्रिकको समस्या देखिन्छ । त्यसलाई बेवास्ता गर्दै गएमा पछि आन्द्रामा घाउ भएर अल्सर हुने सम्भावना हुन्छन् । पछिल्लो समय बढ्दो मानसिक तनावका कारण धेरै मानिस अल्सरबाट ग्रसित छन् । धेरैले पेट दुख्ने बित्तिकै चिकित्सकको सल्लाहविना नै आफैं औषधि खाइरहेका हुन्छन् । यसले ग्यास्ट्रिकको उपचारमा ढिलाइ हुन्छ ।

अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति र लिभर सिरोसिस भएकालाई पनि अल्सर हुने सम्भावना बढी हुन्छ ।

डा. अखिलेश कश्यप

लक्षण

अल्सरमा हुने लक्षण र ग्यास्ट्राइटिसमा देखिने लक्षण लगभग उस्तै हुन्छन् । सुरुमा पेटको माथिल्लो भाग दुख्छ । त्यसपछि खानामा अरुचि हुने, बान्ता हुने, खाली पेटमा वा खाना खाएको केही बेरमा पेट दुख्ने,  ग्यास र अपच हुने, पेट भारी हुने, तौल घट्नु र अल्सर बढ्दै गयो भने मुखबाट रगत आउने र दिसा कालो हुने अल्सरका लक्षण हुन् ।

पहिचान

ग्यास्ट्राइटिस इन्डोस्कोपीमार्फत हेरेर अल्सर भए नभएको पत्ता लाग्छ । आन्द्रामा रातो देखिएमा इराइडोमा भएको भनिन्छ । त्यसको उपचार भएन र बेवास्ता गरिरहेमा इरोजन (आन्द्रामा हुने घाउ) बन्छ । पाँच एमएमभन्दा कम भएको आन्द्राको घाउलाई इरोजन भनिन्छ र घाउ बढ्दै गएपछि अल्सर हुन्छ ।

अल्सर गम्भीर भएर बढ्दै गएमा विभिन्न किसिमका जटिलताहरु आउँछन् । आन्तरिक रक्तस्राव, बान्तामा रगत देखिने, दिसामा रगत देखिने र क्यान्सरसमेत हुने जोखिम हुन्छ । त्यस्तै, सानो आन्द्रामा अल्सर भएको छ र बेवास्ता गरिएको छ भने आन्द्रा फुट्न सक्छ । त्यस्तो अवस्थामा तत्काल उपचारमा जानुपर्छ ।

उपचार

अल्सरको गम्भीरता र बिरामीको अवस्थाको आधारमा अल्सरलाई विभिन्न तरिकाले उपचार गर्न सकिन्छ । साधारण ग्यास्ट्रिक मात्र छ भने खानपान र स्वस्थ जीवनशैलीमा परिवर्तन ल्याएर पनि रोकथाम गर्न सकिन्छ । तर एचपाइलोरी इन्फेक्सनकै कारण ग्यास्ट्रिक वा अल्सर भएको छ भने एन्टीबायोटिक औषधि १४ दिनसम्म खानुपर्छ । अल्सर भइसकेका बिरामीको भने अल्सरलाई शल्यक्रियामार्फत निकालेर फाल्नुपर्छ । अल्सरका सबै उपचार सम्भव छन् । तर जति छिटो पहिचान त्यति छिटो उपचार र निदान हुने भएकाले सकेसम्म ग्यास्ट्रिक हुँदैमा ख्याल गर्नुपर्छ । कसैमा रेडियोथेरापी र किमोथेरापी पनि गर्नुपर्छ ।

छातीमा दुखाइ ग्यास्ट्रिककै कारण मात्र हुँदैन

ग्यास्ट्राइटिसमा साझा समस्या भनेको माथिल्लो भागको पेट दुखाइ हो । नाइटोभन्दा माथि छातीमा दुखाइ हुन्छ । छातीको बीचमा दुखेको छ भने मुटु वा ग्यास्ट्रिक वा अल्सरकै कारण पनि हुन्छ । हिंडडुल वा कुनै शारीरिक क्रियाकलापपछि छातीको बीच भागमा दुखाइ छ भने ग्यास्ट्रिक भनेर चुप लागेर बस्नु हुँदैन । कतिपय अवस्थामा ग्यास्ट्रिक भनेर उपचारमा ढिलाइ गर्दा मुटुको समस्या पनि हुनसक्छ । उपचारमा ढिलाइले गर्दा ज्यानै जोखिममा हुने भएकाले छातीमा दुख्दा मुटुका चिकित्सकलाई पनि परीक्षण गराउनु उपयुक्त हुन्छ ।

रोकथाम

सन्तुलित र स्वस्थ आहार खाने, खुर्सानी–मसला र तेलको सेवन कम गर्ने, सफा पानी पिउने, धुम्रपान र रक्सी नपिउने, लामो समय भोको नबस्ने वा प्रशोधित र प्याकेटबन्द खानेकुरा नियन्त्रण गर्नुपर्छ । खानामा फलफूल, सलाद, फाइबरयुक्त सागसब्जी सामेल गर्नुपर्छ ।

साथै दिनचर्या सक्रिय हुन नियमित व्यायाम गर्ने, सक्रिय रहने, सकारात्मक रहने अभ्यासमा जोड दिनु जरुरी छ।

(डा. अखिलेश कश्यपले भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी, एम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजीमा फेलोसिप र न्याम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजी डीएम गरेका छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

अल्सर ग्यास्ट्राइटिस
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय