+
+

राष्ट्र बैंकले खोस्यो निःशुल्क अन्तरबैंक एटीएम सुविधा, मारमा सेवाग्राही

विजय पराजुली विजय पराजुली
२०७९ माघ १९ गते १३:३७

१८ माघ, काठमाडौं । मंगलबारसम्म बैंकका उपभोक्ताले आफूले सेवा लिइरहेको भन्दा फरक बैंकको एटीएमबाट महिनाको २ पटकसम्म पैसा निकाल्दा शुल्क तिर्न पर्दैन थियो । तर, मंगलबार नेपाल राष्ट्र बैंकले यो व्यवस्था हटाउँदै बैंकका सेवाग्राहीहरुले पाउँदै आएको सुविधा खोसिदियो ।

नेपाल राष्ट्र बैंकले कोभिडको बेलामा दिएको अन्तरबैंक एटीएम प्रयोग गर्दा २ वटा कारोबारसम्म शुल्क नलाग्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम प्रयोग गर्दा २ पटकसम्म शुल्क नलाग्ने व्यवस्था हटाएपछि बैंकका सेवाग्राहीहरुले राष्ट्र बैंकको आलोचना गरेका छन् ।

बैंकहरुले अन्तर बैंक एटीएम प्रयोग गर्दा प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिने गरेकोमा अब १५ रुपैयाँ मात्रै लाग्ने व्यवस्था गरेको छ । ग्राहकले २ वटा कारोबार निःशुल्क पाउने व्यवस्था हटाएर ग्राहकले पाएको सेवा कटौती गर्दै बैंकहरुलाई आम्दानी बढाउन राष्ट्र बैंक नै लागेको आरोप बैंकिङ सेवाका प्रयोगकर्ताले लगाइरहेरहका छन् ।

विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको केन्द्रीय बैंकले अन्तर बैंक एटीएममा २ वटासम्म कारोबार शुल्क नलाग्ने नीति नै हटाउनु गलत भएको भन्दै विभिन्न माध्यमबाट त्यसको आलोचना भइरहेको छ ।

उपभोक्ता अधिकरकर्मी माधव तिमल्सिना उपभोक्तालाई  संविधानले दिएको उपभोक्ताको मौलिक अधिकारमाथि कुण्ठित गर्ने गरी राष्ट्र बैंकले बैंकहरुको पक्षमा रहेर यस्तो निर्णय लिने गरेको बताउँछन् । डिजिटल कारोबार र सरल भुक्तानीको कुरा गरिरहँदा अन्तर बैंक एटीएम सेवामा उपभोत्तालाई दिइँदै आएको सुविधा समेत कटौती गरेर उपभोक्ताको अधिकार खोस्ने काम गरिएको उनको आरोप छ  ।

‘आफ्नो खाता रहेको बैंकको एटीएम नभएको ठाउँमा अर्को बैंकको एटीएम प्रयो गर्न पाउनुपर्छ,’ उनले भने,’राष्ट्र बैंकले  एउटा सीमा तोकेकौ थियो, त्यो समेत हटाउनु गलत छ ।’ यसले प्रतिस्पर्धात्मक मूल्यमा वस्तु तथा सेवाको छनोट गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने उनको भनाइ छ ।

बैंक तथा  वित्तीय संस्थाको नियमन गर्ने नेपाल राष्ट्र  बैंकको कमजोरीले  बैंकहरुले सेवा शुल्क लिन नपाउने विषयमा पनि विभिन्न नाममा शुल्क असुलिरहेको उनको भनाइ छ ।

‘महिनामा २ वटा कारोबारमा शुल्क नगाग्ने व्यवस्था हटाउने कुरा कानुनमाथि बोलिएको धावा हो,’ उनी भन्छन्,’ यसैपनि एटीएमहरु ‘आउट अफ सर्भिस’ राखेर नचल्ने समस्या उस्तै छ, त्यतातिर राष्ट्र बैंकले कहिल्यै हेरेन ।’

के भन्छ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल भने कार्डबाट पैसा निकाल्नु डिजिटल बैंकिङ नभएको बताउँछ ।

‘सर्वसाधारणले सुविधा पाएको सुविधा कटौती भयो भन्ने गुनासो हो । तर, अन्तर बैंक एटीएम प्रयोग गर्दा विदेशी मुद्रा खर्च हुने र त्यसको लागत बैंकहरुले बहन गरेर  ग्राहकलाई निःशुल्क गर्दा नगद प्रयोगलाई नै प्रोत्साहन भएको देखियो,’ उनले भने,’जुनसुकै एटीएमबाट पनि दुईवटा कारोबार निःशुल्क हुने भएपछि नगदको प्रयोग झनै बढ्ने अवस्था देखिएपछि यो निर्णय लिएका हौं ।’

अन्तर बैंक एटीएमको व्यवस्थापछि एटीएमको कारोबार संख्या बढेको उनले बताए । ‘निःशुल्क एटीएम प्रयोग गर्न पाइन्छ भन्ने भएपछि रकम झिक्दा पनि आवश्यकताअनुसार भन्दा पनि निःशुल्क निकाल्न पाइन्छ भन्ने हिसाबले न्युन मात्रै निकाल्ने र धेरै कारोबार गर्ने अवस्था बन्यो,’ उनले भने ।

अन्तरबैंक एटीएम प्रयोग गर्दा हरेक कारोबारमा कार्डको स्विच सञ्चालन गर्नेलाई विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने हुँदा यसले विदेशी मुद्राको समेत खर्च बढाएको पौडेको तर्क छ ।

‘बैंकले एटीएम कार्ड जारी गर्ने मात्रै हो । उक्त कार्ड भिसा, मास्टर लगायत अन्तर्राष्ट्रिय स्विचमार्फत सञ्चालन भइरहेको हुन्छ,’ उनले भने,’ उनले भने, ‘एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा कार्ड सञ्चालन गर्ने स्विचलाई रकम भुक्तानी गर्नुपर्छ, यस्तो खर्च बढ्न भएकाले पनि निर्णय लिएका हौं ।’

ग्राहकले उक्त छुट पाए पनि बैंकले हरेक कारोबारमा स्विचलाई परिवत्र्य विदेशी मुद्रामा रकम भुक्तानी गर्नुपर्ने उनले बताए । यो व्यवस्थाले विदेशी मुद्रा समिति जासगने उनको दाबी छ ।

डिजिटल भुक्तानीको विकल्प हुँदा हुँदै एटीएमबाट नगद झिकेर नगद कारोबार नै गर्ने हुँदा त्यसलाई निरुत्सान गर्न पनि उक्त व्यवस्था गरेको उनले बताए । सोही बैंकको एटीएम प्रयोग गर्दा भने शुल्क नलाग्ने उनले बताए ।

अन्तर बैंक एटीएमम प्रयोग गर्दा २ वटा कारोबार निःशुल्क गर्नसक्ने व्यवस्था हटाए पनि राष्ट्र बैंकले उक्त कारोबारमा लाग्ने शुल्क भने घटाएको बताए ।

‘बैंकहरुले त्यसबाट नाफा कमाउने अवस्था छैन । स्विच सञ्चालक कम्पनीको भुक्तानी र उक्त सेवावापतको सञ्चालन लागत पनि धान्ने सक्दैन,’ उनले भने, ‘बैंकहरुले पहिले पनि घाटामा उक्त सेवा दिएका थिए । अहिले यताको घाटा कम गराएर डिजिटल बैंकिङ सेवा कम लागतमा प्रदान गर्नुपर्छ भन्ने राष्ट्र बैंकको उद्देश्य हो ।’

डिजिटल भुक्तानीमा प्रतिकारोबार १० रुपैयाँ शुल्क

राष्ट्र बैंकले अन्तर बैंक विद्युतीय कारोबारमा लाग्ग्ने शुल्क अधिमतम १० रुपैयाँ लाग्ने व्यवस्था गरेको छ । अन्तर बैंक विद्युतीय कारोबार नेपाली कम्पनीले नै ल्याएको स्विचको माध्यमबाट हुने गरेको छ ।

राष्ट्र बैंकले कारोबार रकमको आधारमा १०, २० र ३० रुपैयाँसम्म लिनसक्ने व्यवस्था गरेको भएपनि अधिकांश बैंकले १० रुपैयाँसम्म मात्रै लिदै अँएका थिए । राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशनमा अब अधिकतम १० रुपैयाँसम्म मात्रै लिनेसक्ने व्यवस्था गरेको छ ।

तर, बैंकहरुको लागत नै न्युन भएको र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने राज्यको नीतिमा पनि अन्तर बैंक भुक्तानी गर्दा भने १० रुपैयाँसमम शुल्क पनि महँागो भएको उपभोक्ताको गुनासो छ ।

अन्तर बैंक भुक्तानीमा एउटामा रकम प्राप्त हुने र अर्कोमा भुक्तानी हुने सिस्टममा थोरै शुल्क लाग्ने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए । त्यसमा बैंक मात्रै नभई उक्त स्विच सञ्चालन गरिरहेको संस्था पनि आवद्ध रहेको र प्रविधिको प्रयोग हुँदा केही लागत लाग्ने उनले बताए ।

तर, त्यसलाई पनि घटाउन राष्ट्र बैंक प्रतिवद्ध रहेको उनले बताए  । सेवा प्रदायकलाई प्रोत्साहन गर्न पनि केही नाफा गर्नुपर्ने उनको तर्क छ । तर, राष्ट्र बैंकले डिजिटल फण्ड ट्रान्सफरको शुल्क पनि घटाउँदै लैजाने उनले बताए ।

‘अन्तर बैंक भुक्तानीमा ३० रुपैयाँसम्म शुल्क लिनसक्ने व्यवस्थालाई घटाएर अधिकतम १० रुपैयाँभन्दा बढी लिने नसक्ने व्यवस्था गरिसकेका छौं,’ उनले भने, ‘नेपाल क्लियरिङ हाउसले अहिले पनि कनेक्ट आईपीएसमा अधिकतम ८ रुपैयाँ मात्रै लिने गरेकेा छ । प्रतिस्पर्धाले पनि त्यसको  लागत घट्छ ।’

अहिले पनि मर्चेन्टको सामान खरिद गरेर क्यूआर स्यान गरी भुक्तानी गर्दा अथवा कार्डबाट भुक्तानी गर्दा शुल्क नलाग्ने र अन्तर बैंक फण्ड ट्रान्सफरको लागत पनि घटाउँदै लगेको उनले बताए ।

कतिसम्म छ विद्युतीय कारोबारको सीमा ?  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायकले पनि विद्युतीय कार्ड जारी गर्नसक्ने व्यवस्था गरेको छ । त्यस्तो संस्थाले पि्रपेड कार्ड जारी गर्नसक्ने र  उक्त कार्डबाट  प्रतिदिन ५ हजार र प्रतिमहिना २५ हजारसम्म कारोबार गर्न सकिन्छ ।

त्यस्तै बैंकले जारी गर्ने पि्रपेड कार्डबाट प्रतिकारोबार १० हजार प्रतिदिन २० हजार र प्रतिमहिना २ लाखसम्मको कारोबार गर्न सकिन्छ । डेबिट कार्डबाट प्रतिकारोबार २५ लाख, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । यस्तै क्रेडिट कार्डबाट स्वीकृत सिमाको १० प्रतिशतसम्म कारोबार गर्नसक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

मोबाइल बैंकिङको माध्यमबाट -क्यूआर कोड समेत)  दैनिक ३ लाख र इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा २० लाख रहेको छ । यसअघि मोबाइल बैंकिङको दैनिक कारोबार सीमा २ लाख मात्रै थियो ।

यस्तै विद्युतीय वालेटको माध्यमबाट गरिने कारोबारमा बैंक खाताबाट वालेटमा दैनिक २ लाख र मासिक १० लाखसम्मको कारोबार गर्न सकिने भएको छ । यसअघि दैनिक सीमा  १ लाख र प्रतिकारोबार ५० हजारसम्म थियो ।

तर, अब एउटै कारोबारमा दैनिक २ लाखसम्मको कारोबार गर्न सकिनेछ । वालेटबाट अन्य बैंक खातामा पठाउन पनि दैनिक कारोबार सीमा २ लाख र मासिक १० लाख पुगेको छ । यसअघि प्रतिकारोबार ५० हजार, दैनीक सीमा १ लाख र मासिक १० लाख रुपैयाँसम्मको सीमा रहेको थियो ।

एक वालेटबाट अर्को वलेटमा पठाउने दैनिक सीमा भने १ लाखबाट ५० हजारमा झरेको छ । यस्तै प्रतिकारोबार २५ हजारको सीमा हटेर ५० हजारसम्म नै गर्न सकिने भएको छ । मासिक सीमा ५ लाख नै रहेको छ ।

विद्युतीय कारोबारमा कति शुल्क लाग्छ ? 

नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले ५ हजारसम्मको कारोबारमा ५ रुपैयाँ, ५ देखि १० हजारसम्मको कारोबारमा ८ रुपैयाँ र १० हजारभन्दा माथिको कारोबारमा १० रुपैयाँ सेवा शुल्क लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि ३ हजारसम्म ५ रुपैयाँ १० हजारसमम १० रुपैयाँ र १० हजारभन्दा माथिको कारोबारमा २० रुपैयाँ लाग्ने शुल्क घटेको हो । यस्तै मोबाइल तथा इन्टरनेट बैंकिङका माध्यमबाट विद्युतीय भुक्तानी (रकमान्तर) गर्दा लाग्ने शुल्क पनि अधिकतम १० रुपैयाँमा कायम भएको छ ।

एजेन्टमार्फत वालेटमा रकम लोड गर्दा ६ हजारसम्म ५ रुपैयाँ १५ हजारसम्म १५ रुपैयाँ, २५ हजारसम्म २५ रुपैयाँ र वालेटबाट बैंकमा रकमान्तर गर्दा १० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेकेा छ । अन्तर बैंक एटीएम कारोबारमा अधिकतम १५ रुपैयाँ लाग्छ भने कुनै बस्तु तथा सेवा खरिद गरी कार्ड अथवा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा सेवा शुल्क लाग्दैन । कार्ड जारी गर्ने बैंकको एटीएम प्रयोग गर्दा पनि शुल्क लाग्दैन ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?