
२८ साउन, टेक्सास। संयुक्त राज्य अमेरिकामा सर्वोच्च शिखर सगरमाथाको तस्वीर भएको एटीएम कार्ड प्रचलनमा आएको छ । अमेरिकामा रहेको एक मात्र नेपाली वित्तीय संस्था एभरेष्ट फेडरल क्रेडिट युनियन (ईएफसीयू) ले ९ अगस्टदेखि यो एटीएम कार्ड प्रयोगमा ल्याएको हो ।
मास्टर कार्डसँग आवद्ध यो एटीएम कार्ड संसारभरि प्रयोग गर्न सकिनेछ । ईएफसीयूको सदस्यता लिएका सबैले यो कार्ड प्राप्त गर्नसक्ने ईएफसीयूका प्रमुख कार्यकारी अधिकृत सुमन तिम्सिनाले बताए ।
अमेरिकामा कुनै पनि वित्तीय संस्था सञ्चालन गर्न न्यास्नल क्रेडिट युनियन एडमिनिस्टेसन एडमिनिस्ट्रेसन (एनसीयूए) मा दर्ता हुनुपर्छ । सन् २०१५ मा दर्ता प्रक्रियामा प्रवेश गरेको ईएफसीयूले तीन वर्षसम्म वित्तीय क्षेत्रमा काम गरेको हुनुपर्ने प्रावधानअनुरूप सन् २०१८ मा (एनसीयूए) मा दर्ता पाएको हो ।
त्यो वर्ष अमेरिकाभरिमा यही एउटा मात्र नेपाली वित्तीय संस्था उक्त सरकारी निकायमा दर्ता भएको हो । यसमा सुरुमा २५ डलरले खाता खोल्न र २५० डलरमा सदस्य बन्न सकिन्छ।
यस वित्तीय संस्थाले नेपाली विद्यार्थीलाई लक्षित गरी ३ हजार डलरसम्म ऋण प्रवाह गर्ने गरेको छ । यसलाई छिटो ऋण भनिएको छ । यसबाट अमेरिकामा पढ्न पुगेका नेपाली विद्यार्थी बढी लाभान्वित भएका छन् । यसका लागि पढ्न थालेको कम्तीमा एक वर्ष पूरा भएको र पहिलो वर्षको नतिजामा ३ जीपीए ल्याएको हुनुपर्ने प्रावधान छ ।
त्यस्तै १५ हजार डलरसम्मको अर्को उपभोक्त ऋण पनि प्रदान गर्ने गरिएको छ । यस संस्थाले गएको जुनदेखि घर खरिद र व्यवसायको लागि एक लाख डलरसम्म ऋण दिने गरेको छ ।
अमेरिकामा वैधानिक बसाइको प्रमाण भएकाहरूले मात्र खाता खोल्न सक्ने प्रावधान रहेको यस वित्तीय संस्थाका अमेरिकाभरि दुई हजार १०० सदस्य छन् ।
प्रतिक्रिया 4