+
+

बोर्डले सार्वजनिक गर्‍यो दुबई फिल्म फेस्टिभलको कार्यसूची, ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ देखाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १७:१६
फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डले यूएईमा माघ २९ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । जसमा यस वर्ष ओस्कार अवार्डमा सिफारिस भएको र बुसान फेस्टिभलमा आधिकारिक छनोट भएको फिल्म ‘ऐना झ्यालको पुतली’ र धेरै कमाउने नेपाली फिल्म ‘कबड्डी ४’ प्रदर्शनसम्म छन् ।

दुबईमा हुने पाँच दिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’को उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विदेशी बजार विस्तार गर्नु रहेको जनाइएको छ । ‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ उद्देश्य राखिएको कार्यक्रममा नेपालबाट ४० भन्दा बढी चलचित्रकर्मीले सहभागिता जनाउनेछन् ।

आगामी माघ २९ गते दुबईमा पत्रकार सम्मेलन गरिने भएको छ । साथै सोही दिन ‘कबड्डी ४’ प्रदर्शन र त्यसपछि निर्माता, निर्देशक र दर्शकबीच अन्तरक्रिया चलाइने भएको छ । फागुन १ गते सहभागीले दुबईमा रहेका छायांकन गन्तव्यहरुको अध्ययन अवलोकन भ्रमण गर्नेछन् । सोही दिन फेस्टको मुख्य कार्यक्रम आयोजना हुनेछ । साथै सांस्कृतिक, सांगीतिक प्रस्तुति दिने कार्यक्रम पनि तय गरिएको छ ।

फागुन २ गते नेपाली चलचित्रको बजार विस्तार र अहिलेको वर्तमान अवस्थाको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम हुनेछ । सोही दिन फिल्म सिटी टुरसहित भेटघाट र छलफल कार्यक्रम पनि हुनेछ । फागुन ३ मा दुबईस्थित स्वदेशी तथा विदेशी चलचित्रकर्मी, लगानीकर्ता, व्यवसायी, गैरआवासीय नेपाली, नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीच नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सम्बन्धी बृहत अन्तरक्रिया हुनेछ ।

सोही दिन बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायांकन गन्तव्यसम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिनेछ । श्रव्यदृश्यसहित अन्य प्रचार सामाग्री पनि वितरण हुनेछ । जसले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको रुपमा परिचित गराउन मद्दत गर्ने विश्वास लिइएको छ । सोही दिनमा अरबी भाषामा सबटाइटल गरिएको नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’को प्रदर्शनी र त्यसपछि फिल्ममाथि छलफल समेत हुनेछ ।

कार्यक्रमको व्यवस्थापकीय जिम्मा सूर्य कर्पोरेसन प्रालिले लिएको छ । यो कार्यक्रम आयोजना गर्न बोर्डले कर्पोरेसनसँग सहकार्य गरेको नभई उसलाई व्यवस्थापकीय जिम्मेवारी मात्र प्रदान गरेको बोर्डले उल्लेख गरेको छ । यसका लागि बोर्ड र कर्पोरेसनबीच एमओयू सम्झौतामा हस्ताक्षर समेत भइसकेको छ । कर्पोरेसनले प्रस्तुत खर्च बाहेकका अन्य व्यवस्थापकीय जिम्मेवारी लिने भएको छ । यूएईमा यो कार्यक्रम सम्पन्न गर्न बोर्डले त्यहाँस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, अन्य संस्थाहरु तथा व्यक्तिगतरुपमा पनि समन्वय र सहजीकरण समेत गर्ने भएको छ ।

फेस्टिभल गर्नको लागि संचार मन्त्रालयले यसअघि नै ३० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । बोर्ड अध्यक्ष भुवन केसीले पहिलोपटक यसरी गर्न लागिएको फेस्टिभलले नेपाली फिल्मको बजार विस्तार र नेपाललाई अन्तर्राष्ट्रिय छायांकन थलोको रुपमा स्थापित गर्ने आशा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?